ad ad

कला


जसले मानिसहरुलाई सिकाउँछन् जीवन जिउने कला

जसले मानिसहरुलाई सिकाउँछन् जीवन जिउने कला

कृष्ण आचार्य
जेठ ३०, २०७६ बिहिबार ९:२०,

रोहित मल्ल बाल्यकालमा एकदमै कम बोल्थे। अरुसँग बोल्न डराउँथे। गीत सुन्न, कथा, कविता लेख्नमा उनको रुची थियो। चित्रहरु पनि कोर्थे।

उनका चित्र हेर्नेहरु भन्थे, ‘भविष्यमा यो राम्रो चित्रकार बन्छ।’

कविता सुन्नेहरु भन्थे, ‘होइन, यो कवि बन्छ।’

तर, रोहित आफैलाई थाहा थिएन, उनी के बन्न चाहन्छन् भन्ने!

सानै उमेरमा बुबा गुमाएका रोहितको जीवन त्यति सहज थिएन। आमाको जागिरले उनका हरेक आवश्यकताहरु पुरा हुन सक्दैनथे। तर, ‘जे पर्छ, त्यही टर्छ’ भनेझैँ उनले आवश्यकताहरुसँग सम्झौता गरे।

तर, उनले एक चीजसँग कहिल्यै सहमति गरेनन्। त्यो हो– पढाई। त्यसैले त उनी माध्यमिक तहसम्म कक्षा कोठामा कहिल्यै चौँथो भएनन्।

उनले भैरहवाको सनसाईन उच्च माविबाट २०६६ मा एसएलसी दिए। ८९ प्रतिशत अंकका साथ पास भए।

एलएलसीपछि उनी लितोत्तमा क्याम्पसमा साइन्स पढ्न थाले। राम्रो अंक आएका कारण छात्रबृत्तिसमेत पाए।

पारिवारको आर्थिक अवस्था कमजोर थियो। त्यसैले काम गर्दै पढ्नुपर्ने बाध्यता थियो। यही कारण पढाईमा धेरै राम्रो गर्न सकेनन्। तैपनि ‘डिक्टिन्सन’ भने ल्याई छाडे।

अब रोहितलाई डाक्टर बन्नु थियो। कसैले भनेको सुनेका थिए, ‘छात्रबृत्तिमा नाम निकाल्यो भने ४० लाख छुट हुन्छ रे।’

उनलाई लाग्यो– यो त गज्जब रहेछ।

त्यसपछि रोहित डाक्टर बन्ने सपना बुनेर काठमाडौँ आए। ‘नेम’ इस्टिच्यूटमा एमबीबीएसको तयारी कक्षा लिन थाले। कोठामा गए निद्रा लाग्छ भनेर रातभर ‘नेम’ मै बसेर पढ्थे, लामखुट्टेसँग युद्ध गर्दै।

भात खायो भने निद्रा लाग्छ भनेर उनले चाउमिन–चाउचाउमात्र खाएरसमेत रात बिताउँथे। ‘मैले नाम निकाल्न निकै मेहनत गरेँ’ रोहित भन्छन्, ‘तर, निस्किएन।’

३ वर्षको मेहनत ‘बालुवामा पानी’ भइदियो।

०००
डाक्टरमा नाम निकाल्न नसकेपछि ‘नेम’ मा पढ्ने रोहितका एक जना साथीले आत्महत्या गरे। रोहितभन्दा उनी कति हो कति धेरै ट्यालेन्ट थिए। यस कुराले रोहितको मनमा ठूलै भूकम्प ल्यायो। तर, आत्महत्याको बाटो भने रोज्न सकेनन्।

रोचक कुरा त के छ भने, रोहितले ज–जससँग कोठा सेयर गरे, उनीहरु सबैले एमबीबीएसमा नाम निकाले। साथीहरुको हातबाट लड्डु खाए। कतिले त नाम निक्लनुको पछाडि रोहितकै हात रहेको बताउँदै धन्यवादसमेत दिए।

साथीहरु उनलाई ‘तँ अरुलाई कन्भिन्स गर्नमा माहिर छस्’ भन्थे। कहिलेकाहीँ रोहितलाई होजस्तो पनि लाग्थ्यो।

उनले सोचे, ‘मैले आफूले पढेर नाम निकाल्न नसके पनि साथीहरुलाई सम्झाउन भने मज्जैले सक्दोरहेछु। अब मानिसहरुमा उत्प्रेरणा (मोटिभेसन) जगाउनतर्फ लागौँ कि क्या हो!’

त्यतिबेला उनलाई मोटिभेसन भनेको एउटा प्रोफेसन हो भन्ने थाहा थिएन। त्यसैले मनको कुरा मनमै दबाएर राखे।

उनीसँगका साथीहरुले ब्याचलर भ्याइसकेका थिए। रोहितको भने ३ वर्ष त्यत्तिकै खेर गयो। उनलाई लाग्यो– अब मैले केही गर्नुपर्छ। त्यसपछि उनले ‘नेम’ छाडे।

०००

त्यसको केही समयपछि (आजभन्दा ३ वर्षअघि) उनी नेपाल यातायातको बस चढेर बानेश्वरबाट पुतलीसडक जाँदै थिए। थापागाउँमा जाममा परे। पिसाबले च्यापिरहेको थियो। यसो हेरे, ‘प्रेसिडेन्टल बिजनेश स्कूल’ को भवन देखे। गाडीबाट ओर्लिएर पिसाब फेर्न त्यतै लागे।

भित्र जानखोज्दा उनीसँग ‘केका लागि होला?’ भनेर सोधियो। रोहितले एडमिसनका लागि भनिदिए। त्यहाँ नयाँ भर्ना पनि चलिरहेको रहेछ। उनलाई जसरी हुन्छ पिसाब फेर्नु थियो। बहाना त बनाउनै पर्यो।

रोहितबारे खोजिनीति हुन थाल्यो, ‘कुन विषय पढ्नुभएको हो, के हो ?’ रोहितले आफूले एमबीबीएसका लागि तयारी गरेको र ८९ प्रतिशत अंक आएको बताए। अर्थात्, नाम निस्कन आवस्यक भन्दा जम्मा २ नम्बर कम।

कुरा हुँदै जाँदा त्यहाँ पढे उनले छात्रबृत्ति पाउने भए। कुरा ठीकै लाग्यो।

त्यसपछि सोधे, ‘ड्रेस हुन्छ कि हुँदैन ?’ किनकी उनलाई ड्रेसमा बाँधिन मन पर्दैनथ्यो। ‘हुँदैन’ भन्ने थाहा पाएपछि पिसाब फेर्न गएका रोहित जिन्दगीमा आफूले सबैभन्दा घृणा गर्ने संकाय बीबीएमा भर्ना भएर फर्किए।

०००
बीबीए पढ्न थालेपछि रोहितले जीवनको अर्को पाटो देखे। ‘नेम’ मा एमबीबीएस पढ्दाको घमण्ड टुट्यो। आफूले सिंगो संसार देख्न पाएको महसुस गरे।

रोहित दोस्रो ‘ट्राइमेस्टर’ मा थिए। एकदिन क्लासमा कलेजले एउटा कार्यक्रम (टक शो) आयोजना गर्न लागेको र त्यसका लागि सबैभन्दा धेरै टिकट बेच्नेलाई उत्कृष्ट भोलेन्टियर घोषणा गर्ने सूचना आयो। एउटा टिकटको मूल्य १ सय ५० रुपैयाँ थियो। वक्ता थिए, डा. पुकार मल्ल।

रोहितले ३ वटा टिकट ल्याएका थिए। एउटा साथीले सबैभन्दा धेरै ९ वटा टिकट बेचेछन्। रोहित अचम्म परे, ९ वटा कसरी बेच्न सकेको होला!

२–३ दिनपछि त २४ वटा टिकट बेच्ने मान्छे फेला पारे उनले। त्यसपछि ‘उसले सक्छ भने मैले किन सक्दिन’ँ भन्ने लाग्यो उनलाई। फेसबुकमा रहेका हरेक साथीलाई मेसेज गरे, ‘तिमीले यो टिकट किन्यौ भने म उत्कृष्ट भोलेन्टियर बन्छु र सायद त्यसवापत केही रकम पाउँछु। त्यसपछि तिम्रो पैसा फिर्ता गरिदिन्छु।’

रोहितले १ सय ५० वटा टिकट बेचे।

कार्यक्रमको दिन पनि आयो। अन्तिममा उत्कृष्ट भोलेन्टियर घोषणा गर्ने पालो आयो। माइकबाट ‘रोहित मल्ल’ को नाम उद्घोष गरियो। ‘परर्र’ ताली बज्यो। उनको मुटु ढुकढुक हुन थाल्योे।

नहोस् पनि कसरी! जीवनमा पहिलोपटक त्यत्रो मानिसका अगाडि उनको नाममा ताली गुन्जिएको थियो।

उनी स्टेज चढे, पुरस्कार लिए। त्यो फोटो १ हप्तासम्म पोस्ट गरिरहे। साथीहरुले पनि फुरुक्क हुने गरी ‘कमेन्ट’ गरे।

रोहितलाई आफू हिरो नै भएको भान हुन थाल्यो। अनि, आफैसँग भने, ‘अब म केही गर्छु ।’ किनकी उनलाई यसैगरी अझ धेरै ताली खानु थियो ।

०००
पुकार मल्लको प्रवचन सुनेपछि रोहितको आत्मविश्वास बढेको थियो। उनलाई लाग्यो, यत्तिको त म पनि गर्न सक्छु यार! साथै, रोहितले ‘मोटिभेसनल स्पीकिङ’ त प्रोफेसनल रहेछ, पेशा नै पो रहेछ भन्ने पनि बुझे।

एकदिन साथीहरुमाझ आफू ‘मोटिभेसनल स्पीकर’ बन्ने कुरा सुनाए पनि। तर, रोहितको कुरा साथीहरुले हाँसेर उडाइदिए। उनीहरुको हाँसोलाई रोहितले चुनौतिका रुपमा लिए।

नभन्दै पुरानो बानेश्वरमा ‘मोटिभेसनल सेमिनार’ आयोजना गरे– आफै आयोजक, आफै स्पीकर बनेर। पोस्टरहरु बनाएर बाँड्न थाले। ३ सय जनाका लागि सिट तयार पारे।

तर, बिडम्बना! कार्यक्रमको दिन जम्मा २७ जनाको उपस्थिति भयो। ती पनि आफू निकटमात्र थिए।

तैपनि रोहित बोलिरहे। उनलाई सुन्न आएकाहरु कोही मोबाइलमा झुम्मिए, कोही भित्र–बाहिर गरिरहे। पहिलो कार्यक्रम यस्तै भयो।

तर, भइदियो के भने कार्यक्रममा रोहितको प्रवचन फेसबुकमा राखिएको रहेछ, जुन डेढ लाखले हेरिसकेका थिए।

यसको पनि कारण छ। रोहितले बोलेको एक लाइन डायलग हिन्दीमा थियो। भिडियो हेर्नेहरुले हिन्दी बोलेको भन्दै आलोचना गरेका थिए। आलोचनाका कारण भिडियो हिट हुन पुग्यो ।

त्यसको झन्डै ६ महिनापछि रोहितलाई अर्को कार्यक्रम गर्न मन लाग्यो। त्यो कार्यक्रम नाचघरमा गर्ने आँट कसे। यसबीचमा उनको धेरैसँग चिनजान भइसकेको थियो। केहीसँग सुमधुर सम्बन्ध स्थापित भइसकेको थियो। ५ महिना लगाएर तयारी पनि राम्रै गरे।

नाचघरमा ८ सय मानिस अट्ने सिट थियो। रोहितलाई ६०–७० जना आउँछन् होला भन्ने लागेको थियो। तर, भइदियो अचम्म! हल भरिएर खचाखच। मानिसहरुको अझै लर्को छ। रोहित हेरेको हेर्यै भए।

केही समयपछि कार्यक्रम सुरु भयो। उनले पहिलो डायलग बोले– ‘धन्यवाद! यदि तपाईंहरु आज रोहित मल्लले आफ्नो जीवनको संघर्षबारे भन्ला, यसले भनेका कुराले मेरो जीवन नै परिवर्तन होला भन्ने सोचेर आउनुभएको छ भने ढोका त्यहाँ छ, अहिले नै जान सक्नुहुन्छ। म २३ वर्षको फुच्चेले तपाईंहरुजस्तो दिग्गज व्यक्तिलाई पाठ सिकाउने हैसियत राख्दिनँ। तर, मैले आफ्नो जीवनमा यस्ता मानिसहरु भेटेको छु, जसको कथा यहाँ तपाईंहरु समक्ष राख्नेछु।’

यति भनेपछि रोहित ढुक्क भए। अर्थात्, उनले प्रवचनअघि नै आफूलाई ‘सेफ ल्यान्ड’ गरे। त्यसपछि २ घण्टासमम बोलिरहे। खुसीको कुरा के भने उनी बोलिरहँदा उपस्थितहरु पिसाव फेर्नसमेत निस्किएनन्।

‘जब स्पीकर बोल्न थाल्छ, उसका कुरा सुन्न मानिसहरु पिसावले च्याप्दासमेत ट्वाइलेट नगई सुनेर बस्छन् भने उसमा केही खुबी रहेछ भन्ने पुष्टि हुन्छ’ रोहित भन्छन्, ‘२ घण्टासम्म मानिसहरुको धैर्यता र उत्सुकता देखेर म दंग परेँ।’

त्यतिबेला एउटा टिकटको मूल्य १ सय ५० रुपैयाँ राखिएको थियो। तर, रोहितले एक पैसा लिएनन्। पैसा नपाएर के भयो त? समर्थक कमाए– फ्यान, फलोअर्स अनि नाम। त्यसपछि रोहितको जीवनले ‘यू टर्न’ मार्यो।

अहिले उनी ‘पब्लिक स्पीकर’ का रुपमा देशका विभिन्न स्थानमा पुग्छन्। मानिसहरुलाई ज्ञान बाँड्छन्, जिउन सिकाउँछन्, आत्मबल बढाउँछन्– विशेषगरी युवाहरुको। युवामात्र होइन, जनप्रतिनिधिहरुलाई समेत क्षमता अभिबृद्धि तालिम दिन्छन्।

मोबाइल र इन्टरनेटमा झुन्डिएर बस्ने युवा पुस्तालाई एकछिन भए पनि प्रेरणादायी कुरा सुनाउन पाउँदा उनलाई मज्जा लाग्छ। पैसा पनि कमाइरहेका छन्। तर, आफ्नो कलालाई गरिखाने भाँडो बनाउन भने चाहँदैनन्। स्थानीय क्लबहरुको आयोजनामा हुने कार्यक्रममा थोरै रकम लिन्छन्, धेरै ज्ञान बाँड्छन्।

यो दौडमा उनलाई सुरज गिरी र कविता यादवले साथ दिइरहेका छन् ।

०००
रोहित काठमाडौँका प्रत्येक गल्लीबाट केही न केही शिक्षा लिन्छन्। मानिसहरुलाई पढ्छन्। जिल्लाबाहिर जाँदा त्यहाँको अवस्था बुझ्छन्। बाटोमा मकै पोल्नेदेखि जुत्ता पोलिस गर्नेहरुको जीवनको कथा सुन्छन्।

ती कथा कार्यक्रमहरुमा मानिसलाई सुनाउँछन्। जीवनबाट उनले आफै पनि धेरै सिकेका छन्।

सानै उमेरमा आफ्नो बुबा गुमाउनुको पीडा, अनि आमाको संघर्षको कथा उनीसँग छ। त्यसैले, उनी मानिसहरुलाई जीवन जिउन सिकाइरहेका छन्। आफूसँग, आफ्नो जीवनसँग रमाइरहेका छन्।

अर्थात्, रोहित अहिले धेरैको मनको डाक्टर बनेका छन्। आखिर डाक्टर त डाक्टर नै हो नि! 

एमबीबीएस डाक्टरले कसैको मुटुको चिरफार गर्ला, रोहितले मन र मस्तिष्कको गरिदिन्छन् । डाक्टरले मर्न लागेकालाई बचाउँछन्, रोहितले बाँच्ने प्रेरणा दिन्छन् ।

उनी भन्छन्, ‘त्यतिबेला एमबीबीएस परीक्षामा २ नम्बर कम आएर ठीकै भएछ।’

नत्र रोहित साथीहरुलाई मेसेज लेखिरहेका हुन्थे, ‘यार म डाक्टर त भएँ। तर, मलाई तेरो जिन्दगी देखेर डाहा लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .