ad ad

कला


यस वर्षको साहित्य महोत्सव जनकपुर र पोखरामा

यस वर्षको साहित्य महोत्सव जनकपुर र पोखरामा

नेपालखबर
साउन २६, २०७६ आइतबार ११:५२,

‘आईएमई नेपाल साहित्य महोत्सव’ यस वर्ष जनकपुर र पोखरामा हुने भएको छ। महोत्सव कात्तिक १७ र १८ गते जनकपुर र मंसिर २६ देखि ३० गतेसम्म पोखरामा हुनेछ।

महोत्सवबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजक बुकवर्म फाउन्डेसनका निर्देशक अजित बरालले धार्मिक र सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएको सहर जनकपुरमा साहित्य महोत्सवको सह–आयोजना हुन लागेको बताए।

‘सन् २०११ देखि हुँदै आइरहेको साहित्य महोत्सवले ज्ञानको भोकलाई जगाउने र मेटाउने काम गरेको छ’ उनले भने, ‘काठमाडौंबाट सुरु भएको महोत्सव पोखरा हुँदै अब जनकपुरसम्म पनि पुगेको छ।’
आगामी दिनमा सो महोत्सवलाई दक्षिण एसियाली साहित्य महोत्सवको रुपमा विकास गर्ने योजनासमेत उनले सुनाए।

जनकपुरमा गंगा सागरको किनारमा साहित्य मन्थन, राजनीति र अर्थशास्त्रसम्बन्धी मन्थन रेल्वे स्टेशन प्लेट फर्मममा तथा संगीतसँग सम्बन्धित मन्थन गोपाल धर्मशालामा हुने जानकारी मनिष झाले दिए। उनी नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ का पर्यटन प्रवद्धन समति संयोजक हुन्। जनकपुर धर्म, संस्कार, इतिहास र अध्यात्मको मिश्रण भएको र ती सबै कुरा साहित्यसँग जोडिने हुँदा साहित्य महोत्सवका लागि जनकपुर उत्कृष्ट स्थान रहेको झाले बताए।

महोत्वसको मुख्य प्रायोजक रेमिटान्स कम्पनी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कला, साहित्यजस्तो महत्वपूर्ण विधाका लागि सहयोग गर्न पाउनु ठूलो उपलब्धि रहेको बताए। महोत्सवले नेपालको पर्यटकीय विकासका लागि समेत सहयोग गर्न लागेकाले आफू उत्साही रहेको उनले बताए।

यो पटक नेपाल साहित्य महोत्सवमा ‘नेपाल पर्यटन बोर्ड’ र ‘नेपाल भ्रमण वर्ष २०२०’ को पनि साथ रहनेछ। महोत्सवको लक्ष्य पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोग गर्नु रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

‘नेपाल भ्रमण वर्ष २०२०’का संयोजक सुरज वैद्यले कला, साहित्यको क्षेत्रमार्फत नेपालमा पर्यटन प्रवर्धदन सम्भावना प्रवल रहेको बताए। त्यसका लागि साहित्य महोत्सव एउटा आयाम हुने उनको भनाइ थियो।

महोत्सवका अघिल्ला संस्करणझैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने आयोजकले जनाएको छ। यस वर्ष पोखरामा हुने महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय लेखक डा. शशि थरुर, भारतीय प्रसिद्ध गीतकार एवम् कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगातयको उपस्थिति रहने बताइएको छ।

महोत्सवमा यो पटक दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डीएससी पुरस्कार समेत प्रदान गरिनेछ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि प्रदान गर्दै आएको छ।

नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डीएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘पोखराको सुन्दर सहरमा सम्पन्न हुने आईएमई नेपाल लिटरेचर फेस्टिभल २०१९ मा हामी यसपटक डीएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ। पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ।’

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट सुरु भएको महोत्सवको आठौँ संस्करण यो पटक पोखरास्थित नेपाल ट्रस्टको प्रांगणमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .