ad ad

कला


‘स्टेज क्वीन’ मञ्जुको नाममा ती प्रेमपत्र

‘स्टेज क्वीन’ मञ्जुको नाममा ती प्रेमपत्र

नेपालखबर
जेठ २०, २०७६ सोमबार ११:५९,

उनी ‘स्टेज कार्यक्रम’ सकेर घर फर्कंदा प्राय छोरी स्नेहाका लागि एउटा कोसेली बोकेर आउँथिन्। आमाले ल्याइदिएको कोसेली न खान मिल्थ्यो, न लगाउन। त्यै पनि स्नेहालाई असाध्यै मन पथ्र्यो।

किनकी त्यहाँ प्रेमका कुरा, माया र स्नेहका लवज, प्रेरणा र शुभकामनाका गुच्छाहरु हुन्थे। अर्थात, ती कोसेली प्रेमपत्रहरु हुन्थे। र, ती पत्र उनका फ्यानहरुले गायिका मञ्जु पौडेलका नाममा कोरेका हुन्थे।

‘मलाई फ्यानले माया गरेर थुप्रै पत्रहरु दिनुहुन्छ’, मञ्जु भन्छिन्, ‘र, म ती पत्रलाई माया गरेर जतनका साथ राख्छु।’

मान्छेअनुसार पत्रको आसय पनि फरक–फरक हुन्थ्यो। कतिपय पत्रमा मञ्जुको कला र गलाको तारिफ गरिएको हुन्थ्यो भने कतिमा सुन्दरताको। त्यतिमात्र कहाँ हो र? प्रेम र बिहेको प्रस्ताव राखेर लेखिएका पत्र पनि उत्तिकै हुन्थे।

मञ्जुको गायकीसँगै प्रस्तुति शैली पनि लोभलाग्दो छ। स्टेजमा हुने उनको प्रस्तुतिमा दर्शक तथा स्रोताहरु सहजै लठ्ठिन्छन्। त्यसै कारण पनि होला, उनी स्टेजमा प्रस्तुत भइरहँदा उनको नाममा केही लेखेर डल्लो पारी फ्याँकिएका कागजका टुक्राहरु स्टेजभरि छरिन्थे।

कतिपयले भने कागजका पानामा आफ्ना भावना व्यक्त गरेर हातमै थमाइदिन्थे। आफैले दिन सम्भव नभए सुरक्षाकर्मीलाई दिएर ‘मञ्जुलाई दिनुहोला है’ भन्थे।

पत्रमा प्रेम दर्शाउन कविता र भावनाहरु पनि कोरिएका हुन्थे। कतिपय पत्र पढ्दा मञ्जुलाई असाध्यै आनन्द आउँथ्यो।

माया गरेर स्वच्छ मनले सामिप्यता बढाउन चाहने फ्यानका पत्रले मञ्जुलाई आफ्नो क्षेत्रमा अझ राम्रो काम गर्ने ऊर्जा मिल्छ।

उनी आफ्नो नाममा कोरिएका पत्रमा कलाप्रतिको सम्मान अनुभूत गर्छिन्, पत्र पढेर छोरी रोमाञ्चित हुँदा मिल्ने खुसी त छँदै छ।

मञ्जु पौडेल

मञ्जु पौडेल

पहिलो पत्र
२०६८ सालमा एक सांगीतिक कार्यक्रमको शिलशिलामा मञ्जु गुल्मीको रिडी पुगेकी थिइन्। कार्यक्रमकै बीच करिब ३५ वर्षका एक पुरुषले उनको हातमा एउटा पत्र थमाइदिए।

मञ्जुले पत्र सम्हालेर राखिन्। के लेखिएको रहेछ भन्ने जिज्ञाशा थियो। कार्यक्रम सकिएर घर पुगेपछि पत्र खोलिन्।

‘पत्र निकै भावनात्मक थियो, त्यहाँ लेखिएका शब्दहरु निकै प्रिय थिए’, मञ्जु ७ वर्षअघि फर्कन्छिन्, ‘पत्रमा मेरो व्यक्तिगत र मेरो कलाकारिताको वर्णन गरिएको थियो।’

पत्रमा लेखिएका केही कुरा आज पनि मञ्जुलाई याद छः

‘मञ्जुजी, म तपाईंको प्रस्तुतिबाट निकै प्रभावित भएँ। तपाईं भविष्यमा एउटा ‘स्टेज क्वीन’ का रुपमा आउनुहुनेछ। तपाईं आफूलाई अगाडि लैजाँदै गर्नुहोस्। हामी तपाईंका शुभचिन्तकहरु तपाईंसँगै छौँ।’

यी शब्दसँगै ती व्यक्तिले पत्रमा प्रेमका कुरा पनि मिसाएका थिए। त्यो पहिलो पत्र पढ्दा मञ्जु थप उत्साहित भएकी थिइन्। उनले पत्र आफूले मात्र कहाँ पढिन् र, आफ्नो परिवारका सदस्यलाई पनि पढ्न दिइन्। सबै खुसी भए।

त्यो पत्र मञ्जुको कलाकारिताबाट प्रभावित भएर लेखिएको थियो। जुन उनको सफलताको एक प्रतिबिम्ब थियो।

त्यो प्रेम पत्र
२०६९ साल। मञ्जु कार्यक्रमकै सिलसिलामा धनगढी पुगेकी थिइन्। एक व्यक्तिले उनलाई प्रेम पत्र थमाइदिए।

मञ्जुले पत्र खोलिन्। जति पढ्दै गयो, उति पढुँ–पढुँ लाग्ने खालको पत्र थियो त्यो, जहाँ प्रेमका शब्द गुच्छालाई कलात्मक ढंगले प्रस्तुत गरिएको थियो। मन नै तरंगित पारिदिने खालको लेखनी थियो।

ती व्यक्तिले मञ्जुको हातमा पत्रमात्र थमाएनन्, जवाफका लागि १५ मिनेटको समय पनि दिएका थिए। त्यसमा उनले बिहेको प्रस्तावसमेत राखेका थिए।

‘म एउटा होटलमा बसेकी थिएँ, उहाँ होटलको काउन्टरमा बसेर पत्रको जवाफ कुरिरहनुभएको थियो’, मञ्जु भन्छिन्, ‘मलाई उहाँलाई सम्झाउन निकै गाह्रो पर्यो।’

मञ्जुले आफ्नो बिहे भइसकेको र एउटी छोरी रहेको कुरा ती व्यक्तिलाई बताइन्। तर, उनी छोरीसमेत स्वीकार्न तयार भए। आफूले अथाह प्रेम गर्ने भन्दै अनेक बिन्ती बिसाउँदै बिहेको भिख मागिरहे।

मञ्जुलाई अवस्था सम्हाल्न निकै गाह्रो भएको थियो। भन्छिन्, ‘निकै लामो प्रयासपछि जसोतसो ती व्यक्तिलाई सम्झाएर पठाएँ।’

मञ्जु पौडेल

मञ्जु पौडेल

गहिराइमा डुबाउने पत्र 
दर्शक तथा स्रोताले माया गरेर पठाएका सबै पत्र मञ्जुलाई उत्तिकै प्रिय लाग्छन्। तर, त्यसमध्ये केही पत्र यस्ता पनि हुन्छन्, जसले मन–मस्तिष्क नै हल्लाइदिन्छन्।

धेरैजसो पत्र एकपटक पढेपछि कहिल्यै याद आउँदैनन्। तर, कतिपय पत्र भने कहिल्यै बिर्सन नसक्ने खालका हुन्छन्।

मञ्जुलाई पनि यस्ता केही पत्र आएका छन्। केही कविता र सायरी लेखिएका, केही प्रेमका कुरा लेखिएका पत्रहरुले उनलाई भावुक बनाएका छन्।

मञ्जुको जीवनमा पनि दुई–तीन वटा यस्ता प्रेम पत्र आए, ती पत्र पढेर उनी एकछिन बहकिएकी छन्, कल्पनामा हराएकी छन्, शब्दको गहिराईमा डुबेकी छन्। अनि, डगमगाएकी पनि छन्।

‘मानिसको मन हो कहिलेकाहीँ बहकिन्छ तर, आफूलाई सम्हाल्न सक्नुपर्छ’, उनी भन्छिन्।

मञ्जुले भनेजस्तै, उनले पनि आफूलाई सम्हालिन्। अर्थात्, दर्शक तथा स्रोताको माया सम्झिएर पत्र त स्वीकारिन् तर, व्यक्ति स्वीकार्न सकिनन्।

‘आफू कतिसम्म गहिराइमा गइन्छ भन्ने कुराले फरक पार्ने हो’, मञ्जु भन्छिन्, ‘सार्वजनिक व्यक्ति (सेलिब्रेटी) भइसकेपछि यस्ता कुरालाई फ्यानको माया सम्झिएर सकारात्मक रुपमा लिन सक्नुपर्छ।’

प्रेम पत्रको पुस्तक निकाल्ने चाहना
मञ्जुले कुनै समय ‘स्टेज क्वीन’ को उपमासँगै सयौँ प्रेम पत्रहरु पाइन्। जसलाई अहिलेसम्म दराजको एक कुनामा जतनका साथ सम्हालेर राखेकी छन्।

दराजमा सुरक्षितमध्ये अधिकांश पत्रमा प्रेम प्रस्ताव राखिएका छन्।

पत्रमार्फत् कतिले ‘तपाईं पहिला जन्मनुभयो, हामी अलि पछि जन्मिएछौँ’ भन्दै पश्चाताप गरेका छन्।

एक छोरीकी आमा मञ्जुलाई कतिले ‘प्रेममा सबै जायज हुन्छ, केही कुरा असम्भव हुँदैन’ भन्दै भड्काउन पनि खोजेका छन्।

‘उमेरको दायराले फरक पार्दैन’ प्रेम र बिहेको प्रस्ताव राख्नेहरु उनी भन्दा कम उमेरका ‘दिवाना प्रेमी’ हरु पनि छन्।

केहीले चाहिँ दिदी–बहिनी वा आफ्नो आदर्श सम्झिएर सफलताको कामना मात्र पनि गरेका छन्।

यसरी पत्र पठाउनेहरु अहिले कहाँ, के गर्दैछन्, मञ्जुलाई थाहा छैन। तर, उनीसँग सुरक्षित सयभन्दा बढी पत्रले उनलाई आनन्दित तुल्याउँछन्।

त्यसैले, उनी ती पत्रलाई पुस्तकको रुप दिने योजनामा छिन्।

‘मैले पाएका प्रेम पत्रहरु’ भनेर पुस्तक नै निकाल्ने सोच पनि बनाएकी छु’, लामो हाँसो हाँस्दै मञ्जु भन्छिन्, ‘पछिल्लो समय प्रविधिको विकासका कारण पत्रहरु त्यति आउन छाडे, दुई–चार वटा थपिए निकाली पो हाल्छु कि।’

मञ्जु पौडेल

मञ्जु पौडेल

अहिले फेसबुकमै प्रस्ताव 
आजभोलि फोन र फेसबुकले गर्दा मञ्जुलाई चिठी–पत्र कम आउँछन्। फ्यानले फोन गरेर वा फेसबुकमा म्यासेज गरेर आफ्ना मनका कुरा खोल्छन्।

कतिपयले उनको सुन्दरता, प्रस्तुति र गायनको तारिफ गर्छन् भने कतिले प्रेम र बिहेको प्रस्तावसमेत राख्छन्।

छोरीलाई प्रेम र बिहेको प्रस्ताव आउने समयमा आफूलाई यस्ता प्रस्ताव आउँदा आजभोलि उनलाई झन् रमाइलो लाग्छ।

‘च्याट बक्स’ मा आएका यस्ता प्रस्ताव उनले छोरीलाई देखाउँछिन्। म्यासेज पढेर दुबै रमाइलो मान्छन्।

तर, कहिलेकाहीँ गलत आसय बोकेका म्यासेज पनि आइदिन्छन्। त्यस्ता, म्यासेज पठाउने व्यक्तिलाई भने उनी सामाजिक सञ्जालबाट ‘ब्लक’ गरिदिन्छिन्। आदर, सम्मान गर्ने र माया, स्नेश साट्नेहरुसँग उनी भ्याएसम्म सहजै बोलिदिन्छिन्।

एउटा दुःखान्त घटना
मञ्जुको केटामात्र होइन, केटी फ्यानहरु पनि उत्तिकै छन्। उनलाई केटी फ्यानबाट पनि उत्तिकै पत्र आउँछन्।

केटा होस् या केटी, फ्यानबाट आएका पत्रप्रति मञ्जुको कुनै गुनासो छैन। उनी पत्रलाई आफूप्रतिको माया र सम्मानका रुपमा लिन्छिन्।

तर, एउटा घटनाले भने उनलाई निकै दुःखी बनाएको छ। घटना सांगीतिक कार्यक्रमका क्रममा सुदुरपश्चिमको कैलाली जाँदाको हो।

एक युवतीले हातमा एउटा पत्र थमाइदिइन्। मञ्जुले पत्र खोलिन्। त्यसमा लेखिएको थियो, ‘मञ्जुदी आई लभ यू। आई एम योर विग फ्यान।’

लेखिएको कुरा त ठीकै थियो तर, ती युवतीले सो कुरा लेख्न मसीको नभएर आफ्नै रगतको प्रयोग गरेकी थिइन्।

रगतले लेखेको भन्ने थाहा पाएपछि मञ्जुले उनलाई गाली गरिन्। सम्झाइन् पनि।

‘सायद उनले यसो गर्दा म उनीप्रति आकर्षित, उनीसँग बढी नजिक हुन्छु कि भन्ने सोचेकी थिइन् होला’, मञ्जु भन्छिन्, ‘तर, नकारात्मक सन्देश जाने र स्वास्थ्यलाई समेत असर गर्न सक्ने खालको उनको कार्य मलाई त्यति उचित लागेन।’

माया दर्शाउन रगत भन्दा भावना नै बढी महत्वपूर्ण हुने मञ्जुको बुझाई छ।

‘किनकी भावनात्मक सम्बन्ध अमर रहन्छ’, उनी भन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .