काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सुरु भएको छ।
महोत्सवको सुरुवात त्रिवेणी राईद्वारा निर्देशित तथा अन्तर्राष्ट्रिय रूपमा प्रशंसित फिचर फिल्म ‘सेप अफ मम’ को प्रिमियरसँगै गरिएको हो। उद्घाटन समारोहमा बोल्दै निर्देशक राईले ‘सेप अफ मम’ जस्तो नितान्त व्यक्तिगत कथालाई पर्दामा उतार्न ठूलो साहस लागेको बताइन्।
साथै किम्फजस्ता महोत्सव ठूलो प्लेटफर्म हुने बताउँदै राईले भनिन्, ‘हामीजस्ता फिल्मकर्मीका लागि किम्फजस्ता प्लेटफर्महरू यात्राको महत्त्वपूर्ण सुरुआती बिन्दु बन्न सक्छन्।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले औपचारिक रूपमा घण्टी बजाएर महोत्सवको उद्घाटन गरेका थिए। उद्घाटन समाराेहमा बाेल्दै मन्त्री पौडेलले चलचित्रका माध्यमबाट गरिने कथावाचनको महत्त्व र हाम्रो संस्कृतिको अभिन्न अंगका रूपमा रहेका मौलिक कथाहरूको उत्सव मनाउनु पर्ने कुरामा जोड दिए।
यस वर्ष किम्फमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै छन्। जसमा कथा, वृत्तचित्र, छोटो चलचित्र र साहसिक चलचित्रको जीवन्त मिश्रण रहेको छ। विश्वव्यापी कथासँगै नेपाल पानोरामा खण्डले स्थानीय आवाजलाई प्रकाश पार्छ, जसले गर्दा उदीयमान र स्थापित दुवै नेपाली चलचित्र निर्माताको कामलाई स्थान दिएको छ।
‘यस वर्षका चलचित्रहरूले मानिसहरू, संस्कृति र द्रुत गतिमा परिवर्तन भइरहेको संसारबारे विविध कथाहरू प्रस्तुत गर्दछन्। हामी फिल्म समुदायहरूमा रचनात्मकता जगाउने र महत्त्वपूर्ण कथाहरूप्रति संवेदनशीलता जगाउने आशा राख्छौं’, महोत्सवकी निर्देशक रम्यता लिम्बूले स्वागत भाषणमा भनिन्।
‘एलिफन्ट्स इन द फग’ का निर्देशक अविनाश विक्रम शाह पनि उद्घाटन समारोहमा उपस्थित थिए। उनले दशकौं अघि किम्फमा आफ्नो यात्रा कसरी सुरु भएको थियो भन्नेबारे अनुभव सुनाए।
किम्फ ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा जेठ १७ सम्म चल्नेछ। जहाँ सिनेमा, गम्भीर विमर्श र कथावाचनका विभिन्न पाटाहरूमा छलफल हुनेछ।
Shares

प्रतिक्रिया