हिट फिल्म ‘घर ज्वाइँ’ का निर्देशक हुन् अनिल बुढा मगर। मगर समुदायको संस्कार र संस्कृतिभित्र सुटुक्क प्रेम कथा मिसाएर अनिलले सुन्दर सिनेमा बनाएर ६ करोड रुपैयाँ घरेलु बक्सअफिसबाटै कलेक्सन गरेका थिए ।
उनै निर्देशक अनिल फेरि ‘मितज्यू’ ल्याएर दर्शकमाझ आउँदैछन्। अनिलको सिनेमाको ग्राफ हेर्दा उनी ग्रामीण भेगका कथालाई टपक्क टिपेर त्यसको सिनेमाको फ्रेममा सुटुक्क उनेर दर्शकमाझ ल्याउने निर्देशक हुन्।
यो सिनेमाको कथा ट्रेलरमा हेर्दा ग्रामीण परिवेशको कथालाई उठान गरेका छन्। मित लगाउने चलन नेपालमा नौलो होइन। सबैतिर मित लगाउने चलन छ ।
यसै नेपाली कल्चरलाई उनले टपक्क टिपेर, यसलाई सिनेमाको रुप दिएका छन्। मित लगाउँने संस्कार, मित लगाएपछि निभाउनु पर्ने औपचारिकता र व्यवहारले उक्त परम्पराभित्र बस्न नसकेपछिको द्वन्द्व यस फिल्मले देखिने ट्रेलरले संकेत गरेको छ।
एउटी युवतीमाथि परेको नजर र त्यसले दुई मितबीचको सम्बन्धमा ल्याउने फाटो र त्यसको चरम रुपको वरपर सिनेमा ‘मितज्यू’को कथा रहेको ट्रेलरले समेटेको छ।
डेब्यु सिनेमा नै हिट दिएका निर्देशक अनिलले दोस्रो चलचित्र कस्तो दिने हुन् भन्नेमा धेरैलाई चासो र प्रतिक्षा छ। यस पटक पनि उनले मितको कथालाई रोचक बनाउन सुटुक्क प्रेम मिसाएको ट्रेलरमा देखिन्छ, जुन सिनेमाको सेलिङ पोइन्ट रहेको निर्माता जनक घर्ती मगरले बताए।
‘चलचित्रमा कथासँगै मनोरञ्जन पनि हुनुपर्छ भन्ने हाम्रो टिमको मान्यता छ। हामी कथासँगै हाम्रो सिनेमामा प्रेम र द्वन्द्वको पनि कुरा गछौैं। जसले चलचित्रलाई दर्शकले मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ। हामी हाम्रो सिनेमा कसरी दर्शकले मन पराउने गरी आफ्नै कथा लिएर आउँदै छौँ,’उनले भने।
यस फिल्ममा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन्। खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ। यो फिल्म जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया