कला


बोर्डमा ‘चलचित्रमा काली–कर्णाली’ विषयमा छलफल

बोर्डमा ‘चलचित्रमा काली–कर्णाली’ विषयमा छलफल

नेपालखबर
चैत २४, २०८२ मंगलबार १३:२९, काठमाडौँ

मौलिक कथाको बहस हुँदै गर्दा काठमाडौँमा ‘चलचित्रमा काली–कर्णाली’ विषयमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ।

सोमबार चलचित्र विकास बोर्डको हलमा दुइ चरणमा काली-कर्णालीमा फिल्म निर्माणको समस्या र सम्भावनाबारे छलफल गरिएको हो।  

एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन बोर्डका अध्यक्ष दिनेशी डिसीले गरेका थिए।

सुरुवातमा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले नेपाली चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुबारे आ–आफ्ना धारणा राखेका थिए।

सो क्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, राजबहादुर साने, सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्रकर्मी चक्रबहादुर चन्द लगायतले आफ्नो विचार व्यक्त गरेका थिए।

पहिलो चरणमा ‘चलचित्रमा काली कर्णाली: कति समेटियो, कति छुट्यो?’ शीर्षकमा अन्तर्कियात्मक बहस गरिएको थियो। पत्रकार लक्ष्मी बलायर सहजकर्ता रहेको बहसमा निर्देशक लक्ष्मण सुनार, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र चलचित्रकर्मी तथा उद्धमी देवेन्द्र बजगाईं वक्ताको रुपमा सहभागी थिए। कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा लगायतका विषयमा विस्तृत छलफल गरेका थिए।

काली/कर्णालीमा कथाहरु धेरै भएपनि लगानी अभावका कारण फिल्म बनाउनुअघि धेरै सोच्नुपर्ने निर्देशक सुनारले बताए। ‘काली/कर्णालीका विषयमा वा त्यस ठाउँमा पुगेर सुटिङ गर्न निकै गाह्रो छ। लगानीको अभावबीच होटल, यातायात र शौचालयको असुविधा छ। प्रशासनिक समस्या पनि त्यतिकै छन्। फिल्म बनायो अन्तिममा दर्शकहरुले नै भाषा बुझ्दैनन्,’उनले भने।

उनले ३ वर्षअघि कर्णालीकै जारी प्रथाको कथामा ‘बुलाकी’ बनाएका थिए। जुन फिल्मले बक्सअफिसमा खासै व्यापार गर्न सकेन। जसकारण अब त्यहाँकै भाषामा फिल्म नबनाउने उनको भनाइ छ।

यद्धपी, लगानी पाएको खण्डमा त्यहाँका कथावस्तु र छायांकन स्थललाई पनि व्यवसायिक रुपमा जोड्न सकिने उनको तर्क छ। मोहन निरौलाले पनि काली-कर्णालीमा छायांकनक्षेत्रदेखि कथाका हिसाबले निकै सम्भावना रहेको बताए।

प्रायजसो चलचित्रमा काली-कर्णालीका कथा देखाउँदा कि राराको सुन्दरता देखाइन्छ किन गरिबी र भोकमरी बेचिन्छ। सामान्य तथा आधुनसक कथाहरु भने आउन सकिरहेको अवस्था छैन। निर्देशकले भावना भन्दा व्यवसायिक हिसाबले चलचित्र बनाउने हुँदा जोखिम लिन डराएको निर्देशक पराजुलीले स्विकारे। उनले पनि लगानी धेरै खर्च हुँदा धेरै निर्देशकले त्यहाँको कथामा काम गर्न गाह्रो परिरहेको सुनाए।  उद्धमी बजगाईंले काली-कर्णालीको कथामा बन्ने फिल्मको लागि आफूले लगानी जुटाउन पहल गर्ने दाबी गरे।

दोस्रो चरणको प्यानल डिस्कसन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसी, माननीय ज्ञानेन्द्र शाही, माननीय ऐन महर, माननीय वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए। जुन कार्यक्रमलाई सञ्चारकर्मी डीबी खड्काले सहजीकरण गरेका थिए। जहाँ चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली–कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे छलफल भएको थियो।

त्यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य वीरेन्द्र भट्ट, सन्तोषबाबु लोहोनी, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ कलाकार उत्तम के.सी, उपेन्द्र तिमल्सिना, गीता अधिकारी, गोपाल ढकाल ‘छन्दे’, गीता नेपाल, धर्मेन्द्र आचार्य, राज टाइगर, इन्द्रबहादुर दोङ ‘खम्बे’, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाई, भीम बिसी, गायिका इब्सल सन्ज्याल लगायतको उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्देशक माधवराज खरेल थिए। कार्यक्रमका संयोजक एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत रहेका थिए भने सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad