कला


चिनियाँ निर्देशक हङ याङ भन्छिन् : ठमेलका गल्लीमा हिँड्दा धेरै कुरा परिचित पाएँ (भिडिओ)


अनिल यादव
चैत २२ , काठमाडौँ

काठमाडौँमा नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ। यस पटक महोत्सवमा रहेको सिजाङ प्यानोरमा खण्डमा चिनियाँ निर्देशक हङ याङ सुनिएकी थिइन्। चाइना ग्लोबल टेलिभिजन नेटवर्कमा आबद्ध हङ आफ्नो वृत्तचित्र शृंखला ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शनका लागि पहिलो पटक नेपाल आएकी हुन्। 

उनले काठमाडौँ र ल्हासाबीचको सांस्कृतिक समानता, ४,८०० मिटरको उचाइमा छायांकन गर्दाका शारीरिक चुनौती र भौगोलिक सीमाभन्दा माथि उठेर एउटा एकीकृत हिमाली भाष्य निर्माण गर्ने आफ्नो दृष्टिकोणबारे चर्चा गरेकी छन्। प्रस्तुत छ, उनीसँग नेपालखबरका लागि अनिल यादवले गरेको कुराकानी : 

तपाईंको चलचित्रले सिजाङ (तिब्बत)को एउटा छुट्टै पाटो पर्दामा ल्याएको छ। यस कथाको मुख्य प्रेरणा के थियो र उस्तै हिमाली संस्कृति बोकेका नेपाली दर्शकले यसबाट कस्तो सन्देश वा अनुभूति पाउने अपेक्षा गर्नुभएको छ?
हाम्रो वृत्तचित्र शृंखला ‘सनराइज ओभर द प्लेटो’ मा हामीले विगत एक दशकमा सिजाङमा भएका गहिरा परिवर्तन र रूपान्तरणलाई समेटेका छौँ। छायांकनका क्रममा भेटिएका पात्रहरूबाट हामीले पाएको मुख्य प्रेरणा नै रूपान्तरण हो। म र हाम्रो पूरै निर्देशन टोलीले नेपाली र अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन चाहेको मुख्य सन्देश पनि यही हो– आफ्नो मौलिकतालाई जोगाउँदै जीवन कसरी विकास भइरहेको छ भन्ने कुरा हामी देखाउन चाहन्छौँ।

नेपाल र तिब्बतको भौगोलिक, आध्यात्मिक र सांस्कृतिक जरा एउटै छ। काठमाडौँ आएदेखि तपाईंले यहाँका मानिस वा वातावरण र आफ्नो चलचित्रमा देखाइएको परिवेशबीच के–कस्ता समानता पाउनुभयो?
साँच्चै भन्नुपर्दा, मैले यहाँ धेरै समानताहरू फेला पारेकी छु। मेरो यो पहिलो नेपाल भ्रमण हो र यहाँको परिवेश देख्दा म निकै अचम्मित भएँ। उदाहरणका लागि, यहाँका ऊनका कपडाहरू, लुगा बनाउने परम्परागत शैली, अनि ढोका र पसलहरूमा कुँदिएका बुट्टाहरू- सबै कुरा एकदमै परिचित लागे। यहाँको एउटा छुट्टै आत्मीय शैली रहेछ, जुन मैले सिजाङमा पनि पाएकी थिएँ।

हाम्रो वृत्तचित्रमा एक जना ऊनको कपडा बनाउने महिला पात्रलाई समेटेका छौँ। उनी परम्परागत हस्तकलालाई नयाँ स्वरूप दिने र संरक्षण गर्ने काममा सक्रिय छिन्। मलाई लाग्छ, नेपालका शिल्पकारहरूले पनि ठ्याक्कै यही काम गरिरहेका छन्। ठमेलका गल्लीहरूमा हिँड्दा मैले ऊनका निकै राम्रा टोपी र सामग्रीहरू देखेँ, जसले मलाई सिजाङसँग जोडिएको अनुभव गरायो। यसले मलाई के महसुस गरायो भने, सिंगो हिमाली क्षेत्रका मानिसहरू संस्कृति, जीवनशैली र विश्वासका माध्यमबाट एकअर्कासँग निकै गहिरोसँग जोडिएका छन्।

प्रायः ‘विश्वको छत’ भनिने उच्च हिमाली क्षेत्रमा छायांकन गर्नु शारीरिक र प्राविधिक दुवै हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ। यो फिल्म निर्माणका क्रममा तपाईंले भोगेको कुनै एउटा मुख्य चुनौतीबारे बताइदिनुस् न।
हो, यो वास्तवमै निकै कठिन काम हो। ‘सनराइज ओभर द प्लेटो’को छायांकनका लागि म पहिलो पटक पठारमा पुगेकी थिएँ। व्यक्तिगत रूपमा मेरा लागि यो एउटा जीवन बदल्ने अनुभव रह्यो। मलाई ४,८०० मिटरको उचाइमा बिताएको त्यो भयानक रातको अझै सम्झना छ। म पटक–पटक आफ्नो रगतमा अक्सिजनको मात्रा जाँच गरिरहेकी थिएँ र मिटर लगातार घटिरहेको थियो। म निकै डराएकी थिएँ। त्यस अनुभवले मलाई एक चलचित्रकर्मीको रूपमा ठूलो पाठ सिकायो। एउटा फिल्मकर्मी सधैँ आवश्यकताभन्दा बढी तयार हुनुपर्छ भन्ने महसुस गरायो। अबका दिनमा फेरि त्यस्ता उच्च क्षेत्रमा छायांकन गर्न जानुअघि म यो आवश्यकता स्मरण गर्नेछु।

अचम्मका हिमाली र स्थानीय कथाहरूमा विश्वव्यापी चासो बढ्दो छ। अन्तर्राष्ट्रिय स्तरमा हिमाली भाष्य प्रवद्र्धन गर्न चीन र नेपालका चलचित्रकर्मीले कसरी सहकार्य गर्न सक्छन् जस्तो लाग्छ?
मलाई के लाग्छ भने, विश्वभरका फरक–फरक राष्ट्र र जातजातिका मानिसहरूको एउटै चाहना हुन्छ– आफ्नो परम्पराको जगेर्ना गर्ने र आफ्ना मौलिक कथाहरू सुनाउने। नेपाल र चीन दुवैका चलचित्रकर्मीका लागि हामीले जे भोगिरहेका छौँ, त्यही देखाउनेु कुरा नै मुख्य हो। हाम्रो आफ्नै अनुभव र गहिरो संस्कृतिमा अडिग रह्यौँ भने मात्र हामीले विश्वलाई सबैभन्दा शक्तिशाली कथा सुनाउन सक्छौँ। सहकार्यको सुरुवात नै मौलिकताप्रतिको साझा सम्मानबाट हुन्छ।

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सिजाङ प्यानोरमाको सहभागीका रूपमा चीन र नेपालका चलचित्र उद्योगबीचको सम्बन्ध र कलात्मक आदानप्रदानलाई बलियो बनाउन यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको भूमिकालाई कसरी हेर्नुहुन्छ?
हामी खासमा एउटा सञ्चार संस्था हौँ, त्यसैले महोत्सवका लागि वृत्तचित्र निर्माणको संसारमा प्रवेश गर्नु हाम्रा लागि एउटा नयाँ यात्रा हो। मलाई गैर–काल्पनिक चलचित्रहरू निकै मन पर्छ, किनकि यिनमा मानिसहरूलाई जोड्ने एउटा अद्भुत शक्ति हुन्छ। निफमा आएर यति राम्रा मानिसहरूलाई भेट्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेकी छु। यहाँ हाम्रो विचार निकै राम्ररी आदानप्रदान भयो। दुई देशका फिल्मकर्मीहरूबीच सम्बन्ध प्रगाढ बनाउन यस्ता मञ्चहरू अनिवार्य छन्। नेपालमा यति व्यवस्थित महोत्सव भइरहेको देख्दा म निकै खुसी छु। मलाई विश्वास छ, विश्वभरका थुप्रै चलचित्रकर्मीहरू आगामी वर्षहरूमा पनि यहाँ आइरहनेछन्।

नेपालको सुन्दरता र यहाँको आतिथ्य अनुभव गरिसकेपछि, के तपाईं भविष्यमा चिनियाँ र नेपाली कलाकार, प्राविधिक वा स्थानहरूलाई समेटेर कुनै संयुक्त परियोजना वा सह–निर्माणको सम्भावना देख्नुहुन्छ?
पक्कै पनि देख्छु। यस महोत्सवका क्रममा विभिन्न मानिसहरूसँग कुरा गर्दा मैले के थाहा पाएँ भने हाम्रा दुई देशबीच पहिलेदेखि नै धेरै सहकार्यहरू भइरहेका रहेछन्। यहाँको सम्भावना देख्दा म ढुक्क छु कि यो प्रगाढ सम्बन्ध र कलात्मक सह–निर्माणका कार्यहरू भविष्यमा झन् बढ्दै र विस्तार हुँदै जानेछन्। मलाई निमन्त्रणा गर्नुभएकोमा धेरै–धेरै धन्यवाद।
 

चैत २२, २०८२ आइतबार २०:२०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad