कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानीमा बन्न लागेको फिल्म ‘आइएम जितबहादुर’मा अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउत को शीर्ष भूमिकाका लागि अनुबन्ध भएका छन्। दुवै अभिनेत्रीले सहमतिमा साइन गरेको जानकारी जितु स्वयंले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
‘आइएम जितबहादुरमा आबद्ध हुनुभएकोमा वर्षा राउतज्यू र प्रियंका कार्कीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। व्यस्त समयका बाबजुद पनि मेरो अनुरोधलाई सहर्ष स्वीकार गरी सहयोग गर्नु भएकोमा मनदेखि नै आभारी छु। छक्कापञ्जापछि फेरि सँगै काम गर्ने अवसर प्राप्त भएकोमा म अत्यन्त उत्साहित र हर्षित छु’, उनले लेखेका छन्।
यसअघि जितुले प्रियंका र वर्षासँग ‘छक्कापञ्जा’का शृंखलामा काम गरेका थिए।
आगामी फिल्म हिन्दी र बंगाली भाषाका फिल्म निर्देशक शेभेन्दु घोषणले निर्देशन गर्नेछन्। यो फिल्म एक नेपाली कलाकारको संघर्ष र सफलताको कथामा आधारित हुनेछ।
घोषकै कथा रहेको फिल्ममा जितु नै मुख्य भूमिकामा देखिनेछन्। यो फिल्मको आंशिक भाग जितुको आफ्नै जीवन संघर्ष देखाइने बताइएको छ।
माघ पहिलो साता छायांकन थालिने फिल्म काठमाडौँ र मकवानपुरको चित्लाङ क्षेत्रमा सुटिङ गरिनेछ। प्रदर्शन मिति भने सुटिङपछि नै तोकिने जितुले बताएका छन्।
जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माता थिए।
३२ वर्षको कलाकारितापछि अहिले उनले एकल लगानीमा फिल्म बनाउन लागेका हुन्।
Shares

प्रतिक्रिया