कला


शुक्रबार ठमेलमा ‘काठमाडौँ कलिङ कन्दरा’ आयोजना गरिँदै

शुक्रबार ठमेलमा ‘काठमाडौँ कलिङ कन्दरा’ आयोजना गरिँदै

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ९:५३, काठमाडौँ

लोकप्रिय सांगीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ विशेष संगीत कार्यक्रम घोषणा गरेको छ।

कार्यक्रमअन्तर्गत ब्यान्डले यही कात्तिक २८ गते शुक्रबार) ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिनेछ।

स्थापनाको ३२ वर्षमा ब्यान्ड दोस्रोपटक काठमाडौँमा गुञ्जिन लागेको हो।

ब्यान्डले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बिसिस्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्ने भएको हो। 

ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठले ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत यो कन्सर्ट हुन लागेको बताए। उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको बताए।

‘मुलुक परिवर्तनको संघारमा छ। संगीतमार्फत हामीले मुलुकको परिवर्तनमा हातेमालो गर्न खोजेको हो’, गायक श्रेष्ठले भने, ‘यो कन्सर्ट हाम्रो आवाज हो। एक्सोमा हुन लागेको कन्सर्ट हाम्रो थिमअन्तर्गतको पहिलो कन्सर्ट हुनेछ।’

श्रेष्ठले क्लबमा गर्नुको उद्देश्य मनोरञ्जन गर्नु मात्र नभएर युवापुस्तासँग जोडिने प्रयास पनि बताए।

‘क्लब नाच्ने र गाउने ठाउँ मात्र होइन। अहिलेको युवापुस्ताको माग हो’, उनले भने।

ब्यान्डले गत वर्ष पहिलोपटक काठमाडौँ कन्सर्ट ठमेलस्थित एलओडीमा गरेको थियो।

‘हामी रिदम अफ चेन्जलाई सामाजिक र आर्थिक परिवर्तनसँग जोड्न चाहन्छौँ’, उनले भने, ‘संगीतमा पनि यो परिवर्तन लागु हुन्छ। हामीले फ्रन्टम्यानलाई पनि चिन्यौँ। पर्दा पछाडिकालाई चिनेनौँ।’

अबको १ महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुलुकमा ‘रिदम अफ चेन्ज’ टुर हुने विवेकले बताए। उनका अनुसार ब्यान्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टुरको तयारी गरेको छ।

एक्सओ क्लबमा हुने कन्सर्टमा ब्यान्डले आफ्ना हिट गीत गुञ्जाउनेछ। त्यससँगै बीचमा ‘रिदम अफ चेन्ज’का सन्देश पनि सुनाइनेछ।

ब्यान्डले यो कन्सर्टलाई युवापुस्तासँग जोडिने अवसरका रूपमा लिएको छ।

पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका सहिदको सम्झनामा मैनबत्ती बालेर मौन धारण गरियो।

साथै गायक श्रेष्ठले आगामी नयाँ सुमधुर गीतको टुक्का गाएर समारोहलाई मन्त्रमुग्ध तुल्याए। अबदेखि कन्दरा मनोरञ्जन मात्र नभएर, सामाजिक प्रभाव पार्ने मनोरञ्जनमा पनि सक्रिय हुने उनले बताए।

‘हामी अब सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट गर्दै छौँ’, उनले भने, ‘अब ब्यान्डलाई त्यसरी अघि बढाउने तयारीमा छौँ।’

सो अवसरमा एक्सओ क्लबका तर्फबाट नीरा जोशी, मन्छिन शाक्य, भ्वाइस अफ नेपाल रियालिटी शोका होस्ट सुशील नेपाललगायतले ‘कन्दरा’को कन्सर्टबारे शुभकामना दिए। 

३२ वर्षअघि पोखरामा जन्मिएको ब्यान्ड अहिले पनि दर्शकमाझ चर्चित छ। चञ्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया ब्यान्डका सुप्रसिद्ध गीत हुन्।

ब्यान्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, मादलमा अविनाश गायक, बासिस्टमा पंकज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा छन्।

पत्रकार सम्मेलनमा ब्यान्डले आउँदो एल्बमका रूपमा ‘कविसँग कन्दरा’ आउन लागेको जानकारी दिइयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad