‘नेसनल म्युजिक अवार्ड २०८१’ मा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान गरिएको छ।
शनिबार ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अवार्ड समारोहमा बासकोटालाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको हो।
रेडियो कान्तिपुरले आयोजना गरेको कार्यक्रममा विभिन्न गायकगायिकाको प्रस्तुतिसँगै विभिन्न १४ विधामा अवार्ड प्रदान गरियो। जहाँ उत्कृष्ट लोकगायिकाको अवार्ड शान्तिश्री परियारले प्राप्त गरिन्।

त्यस्तै लोकगायक विधामा प्रकाश दूतराज उत्कृष्ट गायक घोषित भए। उत्कृष्ट नवगायकको अवार्ड आरसी रिमालले प्राप्त गरे।
उत्कृष्ट रचनाकारको अवार्ड भुषण खरेलले जित्दा आधुनिक गायिकाको अवार्ड टीका प्रसाईंले हात पारिन्। उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले उचाले।
पार्श्व गायक विधामा एसडी योगी र पार्श्वगायिका विधामा समीक्षा अधिकारी उत्कृष्ट घोषित भए। उत्कृष्ट संगीत निर्देशकको अवार्ड भने सञ्जीव बराइलीले प्राप्त गरे।

त्यस्तै, उत्कृष्ट ब्याण्डको अवार्ड ‘कुमः सागर एण्ड द ख्वपः’ ब्यान्डले हात पारेको छ।
हिपहप एण्ड आर एण्ड बी विधाको अवार्ड भने ब्रिजेश श्रेष्ठले प्राप्त गरे। त्रिशला गुरुङ उत्कृष्ट पप गायिका घोषित हुँदा अवार्ड सुशान्त केसीले उत्कृष्ट पपगायक र पिपुल्स च्वाइसको अवार्ड पाए।
अहिलेका चर्चित गायक दुर्गेश थापालाई ‘इनर्जेटिक अवार्ड’ प्रदान गरियो।
Shares

प्रतिक्रिया