कला


२०८१ मा फिल्म : स्टार हारेको, कथाले जितेको वर्ष

पौने २ अर्ब पुग्यो नेपाली फिल्मको वर्षभरिको कमाइ
२०८१ मा फिल्म : स्टार हारेको, कथाले जितेको वर्ष

लक्ष्मी बलायर
चैत २५, २०८१ सोमबार २०:०, काठमाडौँ

विसं २०८१ नेपाली चलचित्र क्षेत्रको लागि ऐतिहासिक वर्ष साबित भएको छ। किनकि यस वर्ष प्रदर्शन भएका फिल्मले नयाँ रेकर्ड मात्रै बनाएनन्, धेरैजसो फिल्महरुलै राम्रै पैसा छापे।

गत वैशाखयता हलमा जम्मा ६० नेपाली फिल्महरु रिलिज भइसकेका छन्। वर्षको अन्त्यमा चैत २९ गतेबाट ‘कर्मा’ र ‘पीताम्बर’ रिलिज हुँदैछन्। यसर्थ यो वर्ष रिलिज हुने फिल्मको संख्या ६२ पुग्नेछ।

गतवर्ष औसत रहेको बक्सअफिस यसवर्ष भने निकै चलायमान रह्यो। चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार नेपाली फिल्महरूको जम्मा कमाइ पौने २ अर्ब पुगेको छ।

जसमा कीर्तिमानी कमाइ गर्ने ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोडभन्दा बढीको व्यापार गरेको छ। त्यसैगरी, दोस्रो अत्यधिक कमाइ गर्ने फिल्मको सूचीमा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ छ। यस फिल्मले नेपालभरि २० करोड कलेक्सन गरेको छ। चर्चित हिट शृंखला ‘छक्का पञ्जा ५’ ले १५ करोड बढी कमाउँदा केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले पनि १० करोड बढी व्यापार गरेको देखिन्छ।

छायामा स्टारडम
रोचक त के छ भने यो वर्ष स्टारभन्दा पनि कथाहरुले दर्शकहरु तान्न सफल भए। स्टारका फिल्ममा राख्दा लगानी सुरक्षित हुन्छ भन्ने नेपाली फिल्ममेकरको बुझाइ छ। जसकारण उनीहरु स्टारहरुलाई ४०/५० लाख पारिश्रमिक दिन पनि तयार हुन्छन्। तर, यसवर्ष भने स्टारभन्दा पनि फिल्मको कथा हेर्न दर्शकहरु हलसम्म पुगे। कथा बलियो भएकै कारण ‘पूर्णबहादुरको सारंगी’ ले बक्सअफिसमा इतिहास नै रचिदियो।

यो वर्ष अनमोल केसीदेखि प्रदीप खड्का, पल शाह लगायतका स्टार कलाकारका फिल्महरु रिलिज भए। प्रदीप, अनमोलको फिल्मले ठिकठाक व्यापार गर्दा पलको फिल्म ‘रावायण’ फ्लप भयो। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल पनि हिट कमब्याकको खोजीमा थिए। ‘पूजार सार्की’ बाट राहत पाए पनि यस फिल्मबाट पलको करिअरमै ठूलो धक्का लाग्यो। किनकि यो फिल्म नचलेपछि पललाई सम्झौता गरिएका फिल्मबाट समेत हटाइयो।

त्यस्तै, सुशील श्रेष्ठले पनि केही वर्षको अन्तरालपछि ‘आउट ल: दफा २१९’ बाट कमब्याक गरे। यस फिल्मबाट सुशीलको एक्सनको चर्चा भए पनि फिल्मले धेरै दर्शकलाई हलसम्म तान्न सकेन। विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ चल्नुले स्टार राखेर फिल्म चल्छ भन्ने मानक नै भत्काइदिएको छ।

तर, अपवादको रुपमा स्टार अभिनेता समीर भट्टको फिल्म ‘१२ गाउँ’ मा भने व्यापक क्रेज देखियो। स्टार किड्स दिव्या रायमाझी डेब्यु फिल्म ‘एक्टर: वान टेक’ ले खासै कमाल नगरे पनि विराजका छोराले डेब्यु फिल्मबाट सम्भावना देखाए। उनको लुकदेखि एक्सन अवतार र बोल्ड आवाजलाई दर्शकहरुले निकै रुचाए। ‘१२ गाउँ’ हिट भएसँगै समीरलाई एक्सन हिरोको रूपमा उदाएको भनेर टिप्पणी गरिँदै छ।

सुखद सुरुवाती तीन महिना
नयाँ वर्षको छेको पारेर गत चैत ३० देखि ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ रिलिज भएका थिए। ‘डिग्री माइला’ ले ठिकै व्यापार गरे पनि विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको ‘द रेड सुटकेस’ले बक्सअफिसमा कमाल गर्न सकेन।

वैशाख १४ गतेबाट रिलिज भएको ‘बोक्सीको घर’ ले भने बक्सअफिसमा उछाल ल्यायो। पहिलोपल्ट केकी अधिकारी निर्माता बनेको सामाजिक कथावस्तुमा बनेको यस फिल्मलाई दर्शकहरुले निकै मन पराए।

त्यसपछि रिलिज भएका अधिकांश फिल्मले पनि राम्रै व्यापार गरे। सुरुका तीन महिना हलहरु खाली भएनन्। किनकि वैशाखदेखि असार अन्तिमसम्मै रिलिज भएका ‘पूजार सार्की,’ ‘फर्की फर्की’, ‘गाउँ आएको बाटो’,‘घरज्वाइँ’ लगायतका फिल्ममा राम्रै दर्शक देखिए।

तर, साउन र भदौमा भने बक्सअफिसमा तात्न सकेन। ‘रावायण’ फ्लप हुँदा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ ले राम्रै चर्चा बटुल्यो।

नेपाली फिल्मको स्वर्णिम समय
असोज र कार्तिक महिनालाई नेपाली चलचित्रको स्वर्णिम समयको रुपमा लिन सकिन्छ। असोज सुरु भएसँगै दुई महिना सेलाएको बक्सअफिस चलायमान हुन थाल्यो। असोज ३ गते उपासना सिंह ठकुरी र धिरज मगर अभिनीत ‘खुस्मा’ रिलिज भएको थियो। यस फिल्मले पनि राम्रै कमाइ गरेको थियो।

दसैँ र तिहारमा त दर्शकहरु हलमा ओइरिए नै। चाडपर्वको अवसरमा रिलिज भएका ‘बेहुली फ्रम मेघौली’ र ‘ज्वाईँसाब’ ले पनि लगानी उठाउन सफल भए। ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले आक्रामक कमाइ गरे।

कात्तिक १५ बाट रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ले त इतिहासनै रचिदियो। यस फिल्मको व्यापारले नेपाली मात्रै होइन, बलिउडका ठूला फ्रेन्चाइज फिल्महरू छायामा परे।

अजय देवगन र कार्तिक आर्यनजस्ता ठूला स्टारका फिल्महरूमा दर्शक नआएपछि हलहरूले पनि बाध्य भएर ‘पूर्ण बहादुरको सांरगी’लाई सो दिन थाले। जसकारण पछि वितरकले ‘सिंघम अगेन’लाई हलबाटै उतारे। सम्भवत: पहिलोपटक नेपाली फिल्मकै कारण विदेशी फिल्म ‘कंगुवा’ नेपाल आउन सकेन।

यस फिल्मले अत्यधिक सो पाउनेदेखि बक्सअफिसमा विभिन्न रेकर्ड बनाइसकेको छ। सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड ‘पूर्ण बहादुरको सांरगी’ नाममा दर्ज छ। यी दुई महिनामा फिल्मको व्यापार १ अर्ब पुग्यो।

दर्शकको रोजाइमा सबै विधाका फिल्म
पछिल्लो समय नेपाली सिनेक्षेत्रमा कमेडी जनराका फिल्महरु चल्दै आइरहेका थिए। जसकारण कमेडीबाहेक अरु फिल्म चल्दैनन् भन्ने भाष्य बनेको थियो। तर, यो वर्ष त्यो भाष्य तोडिएर फरकफरक जनराका फिल्महरु चलेका छन्।

वैशाख १४ गतेबाट रिलिज भएको ‘बोक्सीको घर’ बाट खासै आशा गरिएको थिएन। तर, डार्क कथामाथि बनेको यस फिल्मलाई दर्शकहरुले निकै रुचाए। बलियो वर्ड अफ माउथ पब्लिसिटीका कारण सामाजिक कथावस्तुमा बनेको यस फिल्मले राम्रो व्यापार गर्‍यो।

त्यसैगरी, समुदायका कथामा बनेका मौलिक फिल्महरु पनि दर्शकको रोजाइमा परे। मगर समुदायमाथि बनेको ‘घरज्वाइँ’देखि राई समुदायमा केन्द्रित ‘गाउँ आएको बाटो’ व्यावसायिक रुपमा सफल भए। त्यस्तै, डोल्पाको बहुपति प्रथाको कथा ‘शाम्बाला’ पनि रुचाइयो।

लामो समयदेखि नेपालमा एक्सन फिल्म चलिरहेको थिएन। तर, ‘१२ गाउँ’ ले कमेडी जनराको फिल्म ‘छक्का पञ्जा’ सिरिजलाई पछि पार्दै एक्सन फिल्मको सम्भावना देखाइदियो। त्यतिबेला धेरैले अब एक्सनको युग सुरु भयो भन्ने विश्लेषण गर्न भ्याए।

त्यस्तै, यतिखेर हलमा बायोपिक फिल्म ‘अञ्जिला’ ले आक्रामक व्यापार गरिरहेको छ। यो फिल्म फुटबलर तथा महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो। एञ्जिलाले नै खेलेको यो फिल्म हेर्न दर्शकको बाक्लो भीड छ।

जाडो यामसँगै बक्सअफिस पनि चिसो
असोज र कार्तिक दुई महिना नेपाली फिल्मका स्वर्णिम समय भए पनि जाडोयाम सुरु भएसँगै त्यो रफ्तार कायम हुन सकेन। किनकि त्यसपछि रिलिज भएका नेपाली फिल्ममा दर्शकको चाप खासै देखिएन। कात्तिक ३० गतेबाट रिलिज भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ खासै चलेन। मंसिर ८ बाट हलमा लागेको विपिन कार्की र वर्षा राउत अभिनीत ‘तेल भिसा’ले पनि कमाल गरेन।

चिसो याम आएसँगै रिलिज हुने फिल्मको संख्या घट्ने गर्छ। यो वर्ष पनि त्यस्तै भयो। न मंसिर-पुसमा धेरै फिल्म रिलिज भए, न चलेका फिल्मले दर्शक तान्न नै सके। कतिपय फिल्म त दर्शकले हलमा लागेको समेत पत्तो पाएनन्।

मंसिरबाट हलमा घटेको दर्शकको चाप माघसम्मै रह्यो। माघमा केही प्रतीक्षित र धेरै फिल्महरु रिलिजको सेड्युलमा अटाए पनि खासै कमाउन सकेनन्।

‘उजेली’ निर्देशक दीपेन्द्र गौचन २२ वर्षपछि ‘केटी हराएको सूचना’ मार्फत नेपाली सिनेक्षेत्रमा फर्किए। माघ ११ गते रिलिज भएको यो फिल्म पनि बक्सअफिसमा चिप्लियो। त्यस्तै, प्रदीप खड्का फिल्म ‘एक्टर: टेक वन’ ले पनि खासै व्यापार गर्न सकेन। त्यस्तै, प्रियंका कार्की अभिनीत फिल्म ‘ममी’, ‘जुना:एक व्यथा’ र ‘सारंग’ले पनि दर्शक तान्न सकेनन्।

फागुन र चैतमा एकाध फिल्म मात्रै चले
फागुन २ गते भ्यालेटाइन्स डेको अवसरमा दीपेन्द्र लामा निर्देशित ‘दु:खी आत्मा’ र ‘रंगी’ रिलिज भए। तर, यी दुवै फिल्मले खासै कमाउन सकेनन्। फागुन ९ गते रिलिज भएको ‘ताण्डवम्’ त दर्शकले आएको गएको समेत पत्तो पाएनन्।

फागुन १४ गते शिवरात्रीको अवसरमा तीनवटा ठूला फिल्महरु एकसाथ भिडे। ‘लाज शरणम्’ सहित ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ हलमा लागे। ‘लाज शरणम्’ले लगानी उठाउँदा ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई दर्शकले रुचाएनन्। त्यस्तै, फागुन २३ गतेबाट रिलिज भएको  ‘होस्टेल ३’ मा युवापुस्ताको राम्रो क्रेज देखियो। फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भएको ‘आउट ल: दफा २१९’ ले ठिकठाक व्यापार गर्दा ‘अञ्जिला’को रफ्तार अझै रोकिएको छैन। यस फिल्मले १० करोड बढी कमाइ गरिसकेको निर्माण टिमको दाबी छ।

तर, चैतदेखि रिलिज भएका फिल्ममा भने खासै दर्शकको उपस्थिति देखिएको छैन। चैत १ गतेबाट दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर: राजागञ्ज’ चल्न सकेन। त्यस्तै, ‘द्रौपदी’ र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को अवस्था पनि त्यही रह्यो। गत शुक्रबारबाट प्रकाश सपुत निर्देशित ‘वसन्त’ रिलिज भएको छ। ओपनिङ चुस्त नभए पनि बाँकी व्यापार भने वर्ड अफ माउथ पब्लिसिटीले नै निर्धारण गर्ने छ।

त्यस्तै, वर्षको अन्त्यमा बहुप्रतीक्षित एक्सन फिल्महरु ‘कर्मा’ र ‘पीताम्बर’ रिलिज हुँदैछन्। यी दुवै फिल्मले बक्सअफिसमा कस्तो व्यापार गर्लान्, त्यो हेर्न भने अर्को वर्ष नै कुर्नुपर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad