कला


चल्तीका हिरोहरूसँग काम गरिसकेकी उपासना : समीर भट्टसँग फिल्म गर्न मन छ (भिडिओ)


अनिल यादव
चैत २२ , काठमाडौँ

उनले डेब्यु फिल्म ‘क्याप्टेन’मै अनमोल केसीसँग स्क्रिन सेयर गर्न पाइन्। त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई र कर्मासँग। ‘दुई नम्बरी’मा फेरि दया र सौगात मल्लसँग। ‘खुश्मा’मा धिरज मगरसँग। अहिले विपिन कार्कीसँग। 

अभिनेत्री उपासनासिंह ठकुरीलाई उनको फिल्म करिअर नै अर्को सातादेखि रिलिजको तयारीमा रहेको फिल्म ‘कर्मा’को शीर्षकजस्तै लाग्छ।

फिल्म बजारका चल्तीका अभिनेताहरूसँग लगालग स्क्रिन सेयर गर्ने मौका जो कोहीलाई कहाँ जुर्छ! ‘त्यसैले म लक्की पनि हो,’ नेपालखबर शो ‘लेट्स टक’मा आइपुगेकी उनी भन्छिन्, ‘पहिलो फिल्म क्याप्टेनको अनुभव राम्रो भएर पनि होला, अरुमा काम पाएँ। कामप्रति इमान्दार भएर लाग्दा पनि यो अवसर प्राप्त भएको हो, हाम्रो फिल्म ‘कर्मा’को शीर्षक जस्तै। कर्म राम्रो गर्‍यो भने, फल पनि राम्रै पाइने रहेछ।’

जतिबेला उपासनालाई पहिलो फिल्मको अफर आयो, त्यतिबेला उनी बीबीए पढ्दै थिइन्। कलेजको दुनियाँमा रमाइरहेकी थिइन्। उनले इन्स्टाग्राममा राखिरहने तस्बिरले अभिनेता भुवन केसीको ध्यान खिचेछ। 

‘भुवन दाइ र जिया केसी दिदीले इन्स्टाग्रामको तस्बिर हेरेर मलाई अफर गर्नुभयोे,’ उपासनाले भनिन्, यति चाँडै यति ठूलो ब्यानरबाट अफर आउला भन्ने मैले सोचेको थिइनँ। अफर आउनेबित्तिकै मनबाट काम गर्न तयार थिएँ। तैपनि परिवारलाई भनेकोे थिइनँ। पछि परिवारमा सहमति भएपछि फिल्ममा काम गरेँ।’

त्यसपछि ‘कबड्डी’को तेस्रो संस्करणका लागि अफर आयो, जुन उनका लागि अपेक्षित थिएन। 

‘कबड्डी पहिलो र दोस्रो सिरिज हेर्दै गर्दा मैले कहिल्यै कल्पना गरेको थिइनँ, तेस्रो सिरिजमा मलाई अफर आउला भनेर,’ उपासनाले भनिन्, ‘रामबाबु गुरुङ (निर्देशक)ले अप्रोच गर्दा मलाई पत्याउनै गाह्रो भएको थियो। साँच्चै यस्तो भइरहेको छ र जस्तो महसुस भएको थियो। दयाहाङ दाइसँग काम गर्न पाउँछु भनेर म निकै उत्साहित थिएँ।’

उपासना दार्चुलामा जन्मिइन्। कक्षा ६ सम्म महेन्द्रनगरमा हजुरआमासँग बसेर पढिन्। त्यसपछि काठमाडौंमा ठूलो बुुबासँग। बुबा सेना र आमा महिला विकासमा कर्मचारी भएकाले उपासनासँगै बसिरहन पाएनन्। सरुवा भएर ठाउँ ठाउँमा पुगिरहनु पर्थ्यो।  

सानो छँदा बुबाआमासँग बस्न नपाएर होला, उपासनालाई बच्चैदेखि कलाकार बन्ने रहर कतै न कतै दबिएर बसेको थियो भन्ने लाग्छ। 

‘मलाई कक्षा १ मा पढ्दादेखि नै एक्टर बन्न मन लागेको थियो होला,’ उपासना भन्छिन्, ‘सुन्दा हाँस उठ्छ होला, तर ड्याडीसँग बस्न नपाएर होला, बच्चादेखि नै कसैले हेर्दिए हुन्थ्यो भन्ने लाग्थ्योे। स्क्रिनमा हेर्दा कुनै एक्टर मनपर्‍यो भने उसको बारेमा म सबैकुरा खोजेर जानकारी लिन खोज्थेँ। त्यतिबेलै मलाई लाग्थ्यो, भोलि गएर म पनि यस्तो बनूँ कि मलाई पनि सबैले यसरी खोजीखोजी हेरोस्।’

‘कर्मा’ कोे रिलिज मिति नजिकिँदै गर्दा उपासनाको धड्कनको ग्राफ बढेको छ। फिल्मको प्रतिक्रिया  लिन उत्साहित छिन्। 

भन्छिन्, ‘योे एउटा एक्सन प्याक्ड फिल्म हो। फिल्मले सामाजिक विषयवस्तु पनि उठान गरेको छ। इमोसनल पनि छ। मेकिङका हिसाबले पनि फरक छ। सुरुवात जहाँबाट हुन्छ, फिल्म घुमेर त्यहीँ आइपुग्छ।’

फिल्ममा उनले ‘गीताञ्जली’को चरित्र निर्वाह गरेकी छन्। जो फ््रयांक छे, चित्त नबुझेको कुरा फ्याट्टै भनिहाल्छे। रियल उपासनाजस्तै!

हामीसँगको कुराकानीमा उपासनाले आफूलाई समीर भट्ट र प्रदिप खड्कासँग स्क्रिन सेयर गर्न मन लागेको बताइन्। उनी समीरको प्रशंसा गरेर थाकिनन्, पहिलो फिल्ममै अथाह सम्भावना देखाएकोमा चकित छिन्।  

‘रुकुम मैकोट’मा नाचेर झन् बढी चर्चा कमाएकी यी अभिनेत्रीलाई हामीले एउटा काल्पनिक प्रश्न सोेध्यौँ– ‘एक दिनको लागि कुनै एक सेलेब्रिटी बन्न पाइने भए, को बन्नुहुन्थ्यो र किन?’

जवाफमा उनले भनिन्, ‘म त राजेश हमाल बन्थेँ होला!’ 

उनले हमालको डायलगको नक्कल मात्रै गरिनन्, मन पर्नुको कारण पनि खुलाएकी छन्। 

उपासनाका जीवनका अनेक पाटाबारे बुझ्नलाई हेरौँ उनीसँगको यो कुराकानी :
 
 

चैत २२, २०८१ शुक्रबार १९:१६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad