अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ।
फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरुको पनि डबिङ सकिएको बताए। अबको केही दिनमा फिल्म तयार हुने उनको भनाइ छ।
डबिङमा राजेश हमालले बोले– ‘के तपाईं मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल!’
डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित देखिए।
‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने।
फिल्मको प्रदर्शन मितिसहितको फस्टलुक भोलि सार्वजनिक गर्ने तयारी निर्माताको छ।
यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिव जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय छ।
राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ।
दिवाकर भट्टराइकै लेखन रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी छ। फिल्ममा क्रियटिभ सिने आर्ट्सका लागि निर्माता नेम महर्जन रहेका छन्। करण सिंह प्रोडक्सन डिजाइनर रहेको फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन्।
आठ वर्षपछि नायक हमाल यो फिल्मबाट कमब्याक गर्दै छन्। यसैले, उनको कमव्याक कस्तो होला भने कौतूहल दर्शकमा छ। हमालले पनि यो फिल्मलाई महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेका छन्।
Shares

प्रतिक्रिया