कला


आठ अग्रज कविका कविता वाचनसँगै ‘काठमाडौँ उत्सव’ सुरू

आठ अग्रज कविका कविता वाचनसँगै ‘काठमाडौँ उत्सव’ सुरू

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १४:४८, काठमाडौँ

आठ अग्रज कविका कविता वाचनसँगै काठमाडौँमा साहित्य, संस्कृति र कलाको उत्सव ‘काठमाडौँ उत्सव’ सुरु भएको छ। 

नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने उत्सवको उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाएसँगै कार्यक्रमको औपचारिक उद्घाटन भएको हो।

उद्घाटन सत्रमा मन्तव्य राख्ने क्रममा काठमाडौँ उत्सवका सल्लाहकार ओम रिजालले भने, ‘यो महोत्सव कला संस्कृतिका धरोहरहरूसँगै भुइँमान्छेहरूका आवाजसमेत समेट्ने उत्सव हो।’

दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र हुनेछन्। आयोजक समूह नै युवा भएको महोत्सवमा धेरैभन्दा धेरै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई प्राथमिकता राखिएको उत्सवका संयोजक बाबु त्रिपाठीले बताए।

नाममै काठमाडौँ जोडिएको उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौँकै संस्कृति विशेष हुँदैछ। सत्रमा ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नेछन्। सत्रको सहजीकरण पत्रकार राजेन्द्र बाँनियाले गर्नेछन्।

उत्सवको पहिलो दिन लेखक ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरू’ शीर्षकमा अर्को छलफल हुँदैछ। लोकप्रिय गायिका शान्तिश्री परियारको संघर्षदेखि लोभलाग्दो सफलतासम्मको अर्को सत्र पनि पहिलो दिनको मुख्य आकर्षण हो। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गर्नेछिन्।

‘ज्ञान विवेक र विज्ञान’ विषयमा हुने अर्को सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गर्नेछिन्।

अर्को सत्रमा राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबीच पर्यटनमा पहल शीर्षकमा छलफल हुँदैछ। सत्र सहजीकरण पत्रकार विराट अनुपमले गर्नेछन्।

उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। दशकौँदेखि मकै र चिया बेचेर लामो अनुभव सँगाले दुई वक्ताहरूको अनुभव समेटिको भुइँका कुरा शीर्षकको सत्र लेखक विना थिङले सञ्चालन गर्नेछिन्।

संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad