नेपाली फिल्मक्षेत्रका लागि यो वर्षको दसैँतिहार निकै फाप्यो। किनकि यसपालि असोज र कात्तिकमा रिलिज भएका धेरैजसो फिल्महरुले बक्सअफिसमा आक्रामक व्यापार गरे। जसमा खुस्मा, छक्का पञ्जा ५, १२ गाउँ, ज्वाइँसाब लगायतका फिल्म पर्छन्।
अझ कात्तिक १५ बाट रिलिज भएको ‘पूर्ण बहादुरको सारंगी’ले त व्यापारमा कीर्तिमान नै रचिदियो। ५० करोड बढीको कलेक्सन गर्दै यो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनिसकेको छ।
तर, त्यसपछि रिलिज भएका नेपाली फिल्ममा दर्शकको चाप खासै देखिएन। कात्तिक ३० गतेबाट रिलिज भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ खासै चलेन। तर, आफ्नो फिल्मले राम्रो व्यापार गरेको निर्माणटिमको दाबी छ। मंसिर ८ बाट हलमा लागेको विपिन कार्की र वर्षा राउत अभिनीत ‘तेल भिसा’ पनि चल्न सकेन।
तीनमहिना सुख्खा बक्सअफिस
प्राय: चिसो याम आएसँगै रिलिज हुने फिल्मको संख्या घट्ने गर्छ। यो वर्ष पनि त्यस्तै भयो। न मंसिर-पुसमा धेरै फिल्म रिलिज भए, न चलेका फिल्मले दर्शक तान्न नै सके। कतिपय फिल्म त दर्शकले हलमा लागेको समेत पत्तो पाएनन्।
मंसिरबाट हलमा घटेको दर्शकको चाप माघसम्मै रह्यो। माघमा केही प्रतीक्षित र धेरै फिल्महरु रिलिजको सेड्युलमा अटाए पनि बक्सअफिसमा खासै कमाउन सकेनन्।
‘उजेली’ निर्देशक दीपेन्द्र गौचन २२ वर्षपछि ‘केटी हराएको सूचना’ मार्फत नेपाली सिनेक्षेत्रमा फर्किए। माघ ११ गते रिलिज भएको यो फिल्म पनि बक्सअफिसमा चिप्लियो। त्यस्तै, प्रदीप खड्का, आना शर्मा स्टारर फिल्म ‘एक्टर: टेक वन’ ले पनि खासै व्यापार गर्न सकेन।
मंसिर र पुसमा नेपाली फिल्म रिलिजको चाप ह्वात्तै घटेको थियो। माघमा फिल्म रिलिजको संख्या केही बढे पनि हलमा दर्शकको खडेरी कायमै देखियो। प्रियंका कार्की अभिनीत फिल्म ‘ममी’, ‘जुना:एक व्यथा’ र ‘सारंग’ले पनि दर्शक तान्न सकेनन्।
फागुन र चैतमा फिल्मका बाढी, कस्तो होला व्यापार?
तर, फागुनदेखि भने हलमा फिल्म रिलिज संख्या बढ्दैछ। हप्तैपिच्छे दुईदेखि तीन नेपाली फिल्म एकसाथ रिलिज हुँदैछन्। जसले फागुन र चैतमा फिल्मकै बाढी आइरहेको छ भन्दा फरक नपर्ला!
धेरैजसो बहुप्रतीक्षित फिल्म भएकाले पनि यसवर्षका बाँकी दुई महिना फिल्म चल्ने अपेक्षा गरिएको छ। साथै गएका तीन महिना चिसिएको बक्सअफिस चलायमान बनाउने धेरैको विश्वास छ। फागुन २ गते भ्यालेटाइन्स डेको अवसरमा दीपेन्द्र लामा निर्देशित ‘दु:खी आत्मा’ र ‘रंगी’ रिलिज भइसकेका छन्।
दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दु:खी आत्मा’ले यौन स्वास्थ्यको कथा समेटेको छ। त्यस्तै, सलोन बस्नेतको फिल्म ‘रंगी’ बाबुछोरीको कथामा आधारित छ।
‘रंगी’ले पहिलो दिन दर्शकहरुको राम्रो साथ पाएको वितरक करण श्रेष्ठले जानकारी दिए। उनले फागुन २ गतेबाट रिलिज भएका फिल्मले दुईतीन महिनाको ग्याप मेटाउने उनको भनाइ छ।
‘रंगीले उत्साह देखाएको छ। यो फागुनबाट बीचको ग्याप मेटिन्छ। किनकि अब फागुनबाट धमाधम फिल्म रिलिज हुँदैछन्। जसले माहोल बनाउने देखिन्छ,’ उनले भने।
फागुन ९ गते फिल्म ‘ताण्डवम्’ रिलिज हुँदैछ। जुनिम गहतराज निर्देशित यस फिल्ममा सरिना मगर, अंकित खड्का, प्रेम सुब्बा, अनुज पाण्डे, पुष्कर गुरुङ लगायतको अभिनय छ।
त्यसैगरी, फागुन १४ गते तीनवटा ठूला फिल्म एकसाथ भिड्दैछन्। यसवर्षकै बहुप्रतीक्षित मानिएको फिल्म ‘लाज शरणम्’ महाशिवरात्रीको अवसरमा सोही दिन हलमा लाग्दैछ। मुख्य कलाकार सीताराम कट्टेलको क्यारेक्टर लुक र बालेन शाहको गीतले यतिखेर यो फिल्म निकै चर्चामा छ। जसकारण फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने आशा गरिएको छ। कुमार कट्टेलको (जिग्री) यस फिल्ममा सीतारामसहित अर्जुन घिमिरे, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, महेश त्रिपाठी लगायतको अभिनय छ।
सोही दिनबाट ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ पनि हलमा लाग्दैछन्। दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ मा दीपिका प्रसाईं र पल शाह मुख्य भूमिकामा छन्। लभस्टोरी जनरामा बनेको फिल्मबाट पनि आशा गरिएको छ। त्यस्तै, निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ मा विनय श्रेष्ठ र सुपुष्पा भट्ट प्रमुख भूमिकामा छन्। सिक्वेल भएकाले यो फिल्म पनि दर्शकहरुको ध्यानमा पर्न सक्छ।
त्यस्तै ‘होस्टेल ३’ पनि फागुन २३ बाट प्रदर्शन हुँदैछ। सशान कंडेल निर्देशित यस फिल्ममा रिहान गिरी, पारस बम ठकुरी, पदम तामाङ, आशिष घिमिरे समा पराजुली, सिम्रन पन्त, हाना नगरकोटी लगायतको अभिनय छ। अघिल्ला शृंखलाजस्तै यस फिल्मले पनि बक्सअफिसमा हलचल ल्याउने विश्वास छ।
फागुन २९ गते फागु पूर्णिमाको अवसरमा एक्सन फिल्म ‘आउट ल: दफा २१९’ र बायोपिक फिल्म ‘अञ्जिला’ रिलिज हुँदैछन्।
‘अञ्जिला’ फुटबलर तथा महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो। मिलन चाम्स निर्देशित यस फिल्ममा एञ्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, सुनिल थापा लगायतको अभिनय छ।
त्यस्तै, बिक्की महर्जन निर्देशित ‘आउट ल: दफा २१९’ मा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन्। यस फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लागुन लगायतको अभिनय छ। एक्सन जनरामा बनेको यस फिल्म पनि आशालाग्दो फिल्मभित्र पर्छ।
वितरक मनोज राठी पनि फागुनबाट प्रदर्शन हुने फिल्मबाट आशावादी छन्। उनले पहिल्यैदेखि जाडोयाममा फिल्म नचल्ने ट्रेन्ड देखिएको बताए।
‘अहिलेसम्मको ट्रेन्ड हेर्दा चिसोयामका दुईतीन महिनामा अपवादबाहेक खासै फिल्म चलेको देखिँदैन। केही सीमित भारतीय फिल्म पुष्पा, आरआरआर र पठान चाहिँ चलेका थिए,’ राठीले भने, ‘अब फागुनबाट बक्सअफिस पुरानै लयमा फर्किन्छ। लाज शरणम् लगायतका धेरै फिल्महरु आउँदैछन्। फिल्म चल्ने क्रम चैत र वैशाखसम्म चल्छ। यद्यपि, कन्टेन्टमा पनि भर पर्छ।’
चैतमा पनि रिलिज हुने फिल सूची लामै छ। चैत १ गतेबाट दीपक रौनियार निर्देशित फिल्म पूजा सर: राजागञ्ज रिलिज हुँदैछ। यो फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा सहभागी भइसकेको छ। यस फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो। यस फिल्ममा आशा मगराती, निकिता चाण्डक, दयाहाङ राई, विजय बराल लगायतको अभिनय छ।
चैतको ८ गतेबाट ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ रिलिज हुँदैछ। आश्विनी शाही र रवि ओड मुख्य भूमिकामा छन्। सोही दिनबाट सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) रिलिज हुँदैछ। क्राइम थ्रिलर जनरामा यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र सागर खनालको अभिनय रहेको छ।
प्रकाश सपुतको फिल्म लेखन र निर्देशन रहेको ‘वसन्त’ चैत २२ गतेबाट रिलिज हुनेछ। प्रकाशको डेब्यु निर्देशन रहेको फिल्ममा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांशी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ। प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी–२’ सुपरहिट भएको थियो। हालै प्रदर्शनमा आएको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो। जसकारण गायक समेत रहेका यस फिल्मले पनि राम्रो व्यापार गर्ने अपेक्षा छ।
चैत २९ मा बक्सअफिसमा तीनवटा फिल्मबीच भिडन्त हुँदैछ। कृषा चौँलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ चैत्र २९ गतेबाट नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुँदैछ। यस फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, दिव्या रायमाझीको अभिनय छ। एक्सन जनरामा बनेको यो पनि बहुप्रतीक्षित फिल्म हो।
त्यस्तै, चैत्रको २९ गतेबाट राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ पनि रिलिज हुँदैछ। यस फिल्ममा राजेशसहित नीति शाह, उषा खड्गी, सरोज खनाल, राज कटुवाल, सनिशा भट्टराई लगायतको अभिनय छ। दिवाकर भट्टराईको निर्देशन रहेको यस फिल्मबाट राजेश ८ वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। जसकारण दर्शकहरूका लागि यो फिल्म विशेष छ।
विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘कर्मा’ पनि चैत २९ गते नै रिलिज हुँदै छ। एक्सन ड्रामा जनरामा बनेको फिल्ममा सौरभ चौधरीको कथा र निर्देशन छ। यस फिल्ममा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देवलगायत कलाकारको अभिनय रहेको छ। बिहीबार मात्रै सार्वजनिक विपिनको क्यारेक्टर लुकले यतिखेर दर्शकको ध्यान खिचिरहेको छ।
Shares

प्रतिक्रिया