कला


मधेसलाई सुन्दर देखाइएको एउटा दुर्लभ फिल्म

मधेसलाई सुन्दर देखाइएको एउटा दुर्लभ फिल्म

अनिल यादव
माघ १३, २०८१ आइतबार २१:५९, काठमाडौँ

एक दशकयता नेपाली फिल्ममा मधेस र मधेसी पात्र खुब देखिए। तर, अधिकांशको नियत हास्य सिर्जना गर्ने नै थियो। नेपाली फिल्ममा लामो समयदेखि मधेसी पात्रलाई उडाएर, होच्याएर र हाँसोको पात्रका रूपमा देखाउँदा दर्शकलाई हँसाउन र मनोरञ्जन दिन सकिन्छ भन्ने झुर मनोविज्ञान नै हाबी भइरह्यो। 

कहिले मधेसलाई अपराधको अखडा देखाएर, कहिले मधेसी पात्रलाई हजाम, कहिले जुत्ता सिलाउने मोची, कहिले पान पसले, कहिले गुन्डा, फटाहा, निरीह आदि देखाएर दर्शक हसाउने शृंखला चलिरह्यो। तर, नेपाली सिनेमामा मधेसको आत्मा, मर्म र सौन्दर्य बोक्न सक्ने सिनेमा भने सधैँ ‘मिसिङ’ नै थियो। यस्तो लाग्छ, अहिले हलमा प्रदर्शन भइरहेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ त्यही अभावको पूर्ति हो। 

२२ वर्षपछि नेपाली फिल्ममा फर्किएका निर्देशक दीपेन्द्र गौचनले यो फिल्ममार्फत सिंगो पहाडलाई मधेस बुझाउन खोजेका छन्। जम्माजम्मी यो फिल्म दुई पात्रमा केन्द्रित दुई दिनको कथा हो। यो खासमा नेपाली फिल्ममा छिटपुट प्रयोग हुँदै आएको मिनिमलिस्ट सिनेमा हो। यहाँ पात्रहरूको थुप्रो छैन। घटनाहरूको शृंखला छैन। अपेक्षित द्वन्द्व र उच्च तनाव पनि छैन। तर, निर्देशक गौचनले दुई पात्रबीच घट्ने एउटा सामान्य घटनाक्रममार्फत सरल शैलीमा मधेसको गम्भीर मुद्दा उठाएका छन्। 

फिल्ममा डेटिङ एपमार्फत पहाडे युवती सीता (जेसी) र मधेसी युवा राम (र्‍याम्बो)को एक रेस्टुरेन्टमा भेट हुन्छ। परिस्थितवश रामले बोकेको निद्राको गोलीको धुलो मिसिएको कफी सीता पिउन पुग्छिन्। त्यसपछि बेहोस सीता रामको अपहरणमा परेर जनकपुरसम्म पुग्छिन्। पहाड र मधेसका यी दुई पात्रबीच त्यसपछि विकास हुने सम्बन्ध र फक्रिने प्रेम नै यो फिल्मको कथा हो। 

तपाईं मिनिमलिस्ट सिनेमाको पारखी होइन भने यो फिल्मको कथाशैली तपाईंलाई ‘डकुमेन्ट्री’जस्तै लाग्न पनि सक्छ। तर, यही सिद्धान्तमा विश्वभर सुन्दर सिनेमाहरू बनेका छन्। चाहे त्यो ९३ औँ अस्कर अवार्डमा उत्कृष्ट फिल्म घोषणा भएको क्लोई चाउ निर्देशित ‘नोम्याडल्यान्ड’ होस् या लुइस मेलले निर्देशन गरेको ‘माइ डिनर विथ आन्द्रे’। ‘नोम्याडल्यान्ड’ले श्रीमानको मृत्युपछि घर छाडेर यात्रामा हिँड्ने एक ६० वर्षीय फिरन्ते महिलाको यात्रा कथा भनेको थियो। ‘माइ डिनर विथ आन्द्रे’ मा दुईजनाबीचको डिनर गफ नै फिल्मको कथा थियो।

चर्चित निर्देशक सिड्नी लुमेटले निर्देशन गरेको ‘ट्वेल्भ एंग्री मेन’ त्यस्तै एक सुन्दर मिनिमलिस्ट सिनेमा हो जहाँ एउटा बन्द कोठामा न्यायलयका १२ जना जुरी सदस्यहरूले एक मुद्दाको फैसलालाई लिएर बहस गर्छन्। प्रतिवादीलाई जेल पठाउन हुने या नहुने भन्ने विषयमा हुने तर्क–वितर्क नै फिल्मको कथा थियो। विश्व चर्चित इरानी फिल्म निर्देशक अब्बास किरुस्तामी पनि यस्तै फिल्म निर्माणमा रुचि राख्थे। उनले निर्देशन गरेको फिल्म ‘टेस्ट अफ चेरी’ एक त्यस्तो व्यक्तिको कथामा केन्द्रित थियो, जो आत्महत्यापछि उसको शरीर गाड्ने मान्छेको खोजीमा हिँडिरहेको छ। 

‘मिनिमलिजम’ले कथा बन्नका लागि ठूलै घटनाहरू खोज्दैन। भव्य सेट, धेरै पात्र र ठूलो लगानीको परिकल्पना पनि गर्दैन। जीवन त सामान्य घटनाक्रमहरूमा पनि चलिरहेको हुन्छ। सामान्य मान्छेको सामान्य जीवन पनि कथा हुन्छ। जीवनमा केही नभए पनि कथा त हुन्छ। निर्देशक गौचनले डिजिटल जमानाका राम–सीतामार्फत त्यही कथा भन्न खोजेका छन्। 

यो फिल्मकी सीतालाई रामायणको जस्तो लज्जवती र कमजोर देखाइएको छैन, साहसी र विद्रोही देखाइएको छ। फिल्ममा अपहरण गर्ने राम नै पछि अपहरणमा पर्ने दृश्य साँच्चै रोचक छ।

तपाईंलाई होस्टेल रिटर्न्समा रामेश्वर यादव बनेका नाजिर हुसेन पक्कै सम्झना होला! पात्र मधेसी नै भए पनि ती नाजिर यो फिल्ममा भने हास्यास्पद देखाइएका छैनन्। त्यतिबेला हातमा शिवको मूर्ति, ब्यागमा घण्टी, निधारमा रातो अबिरको टीका लगाएर सोझो, केही पनि नजान्ने ‘पाखे’ को भूमिकामा देखिएका नाजिर यहाँ मैथिली पनि प्रस्ट बोल्छन्, नेपाली पनि प्रस्ट। यो फिल्ममा उनको नेपाली बोली बिगारेर दर्शकमा हास्य सिर्जना गर्ने निर्देशकको नियत छैन। 

फिल्मको पहिलो हाफ निकै सुस्त छ। कथाले गति समात्न समय लाग्छ। दोस्रो हाफ भने अनपेक्षित छ। जब सीता शहरको पहिरन छाडेर गाउँको कुर्ता लगाउँछिन्, त्यसपछि कथाको मोड पनि परिवर्तन हुन्छ। झट्ट हेर्दा निर्देशकले दुई पात्रको सम्बन्धको कथा भनेजस्तो लाग्न सक्छ तर गहिराइमा उनले मधेस–पहाडको सम्बन्धको कथा भनेका छन्। 

झट्ट हेर्दा मधेसका रामले पहाडकी सीतालाई मधेसको कला, संस्कृति र सौन्दर्य बुझाउन मधेस घुमाएजस्तो देखिनसक्छ। तर गहिरिएर हेर्दा निर्देशकले पहाडलाई मधेस घुमाउँदै ‘यो हाम्रो मधेस हो र यही हो यहाँको सौन्दर्य’ भनेर बुझाउन खोजेका छन्। फिल्ममा जनकपुरधाम मात्रै होइन, मधेसका पोखरी, आँप गाछी, मिथिला चित्र, होली, पराल सबै सबै मिठो शैलीमा देखाइएको छ। यतिखेर ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियान बोकेर पोखरा पुगेको मधेस प्रदेश सरकारका लागि पनि यो फिल्म यसर्थमा सहयोगी बन्न सक्छ। 

पहिचान, पहुँच र प्रतिनिधित्वमा मधेसलाई पछि पारिएपछि २०६२÷६३ को जनआन्दोलन सफल भएलगत्तै देशमा दुईदुई पटक मधेस आन्दोलन भयो। पहिलो मधेस आन्दोलन यतिसम्म चर्कियो कि मधेसबाट केही पहाडी मूलका बासिन्दा घर छाड्न बाध्य भएका थिए। यो प्रसंगलाई पनि निर्देशकले फिल्ममा मिठोसँग जोडेका छन्। रामले सीतालाई अपहरण गरेर जुन महलमा पुर्‍याउँछन्, त्यो मधेस आन्दोलनताका घर छाड्न बाध्य पहाडी मूलका पात्रकै हुन्छ। रामका बुवाले पहाडी मूलका ती व्यक्तिसँग मित लगाएका कारण त्यो घर रामकै परिवारलाई सुम्पिएका हुन्छन्। निर्देशकले त्यही घरबाट मधेसी युवा र पहाडी युवतीको सम्बन्ध जोडेका छन्। यो आफैँमा प्रतीकात्मक लाग्छ। 

मधेस आन्दोलनलाई लिएर राम र सीताबीच हुने वादविवाद फिल्मकै एक बलियो दृश्य हो। यो दृश्यमा निर्देशकले मधेसीलाई भारतीय देख्ने नेपाली मनोविज्ञान उप्काउन खोजेका छन्। फिल्ममा रामले सीतालाई मधेस आन्दोलन राज्यकै कारण भएको भनेर सम्झाउन खोज्छन्। जब सीता सहमत हुँदिनन्, त्यतिबेला राम भन्छन्, ‘हामी तराईमा बस्ने नेपालीहरूलाई पनि इन्डियन नै सोच्छन्, हैन?

तिमी जति नेपाली हो, म पनि त्यति नै नेपाली हो, बुज्यौं? माथि पहाडमा बस्ने आँखा सानो भएको मान्छेहरूलाई त म चाइनिज भनेर बोलाउँदिन नि!’

फिल्ममा नाजिर र सृष्टि दुवैको अभिनय जीवन्त छ। परालको टालमाथि सुतेर राम–सीताले गरेको प्रेमिल संवाद फिल्मको अर्को सुन्दर दृश्य हो। 

यद्यपि यो फिल्म समस्यारहित भने होइन। सीताका दाइ प्रहरी अधिकृत हुन्छन्। तर, बहिनी अपहरणमा पर्दा पनि खोज्न मुस्किल परेको देखाइएको छ। जबकी अपहरण गरेर जहाँ पुर्‍याइएको छ, त्यहाँ उनको मोबाइल अन नै छ। यो डिजिटल समयको कथा हो। नेपाल प्रहरीसँग मोबाइलमार्फत लोकेसन ट्र्याक गरेर तत्काल खोजी गर्न सक्ने प्रविधि छ भन्ने कुराको न्यूनतम ज्ञान पनि निर्देशकसँग नभएको देखिन्छ। 

क्लाइमेक्स पनि जर्बजस्ती तन्काइएको छ। खोइ किन हो, फिल्मलाई ‘ह्याप्पी एन्डिङ’मै पुर्‍याएर छाड्ने निर्देशकको जबर्जस्त प्रयत्न देखिन्छ। नत्र फिल्मको समापन गर्न जेलको दृश्यसम्मै पुर्‍याउन आवश्यक लाग्दैन। 

भनिन्छ, कहिलेकाहीँ असल नियतले गल्तीहरू पनि छोपिदिन्छ। यो फिल्ममा निर्देशकले मधेस–पहाडलाई जोड्ने हिसाबले जुन कथा रोजेका छन्, त्यसको अघि ती गल्तीहरू माफीयोग्य छन्। यस्तो लाग्छ, सम्भवतः यसअघि नेपाली फिल्ममा मधेस र मधेसी पात्रलाई यति सुन्दर र स्वाभाविक कहिल्यै देखाइएको थिएन। यसकारण पनि निर्देशक गौचन प्रशंसाको हकदार हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad