भारतीय अभिनेता अल्लु अर्जुन केही दिनयता एक महिलाको मृत्युको घटनालाई लिएर चर्चामा छन्। ‘पुष्पा २’ को प्रिमियरका क्रममा अल्लु अर्जुनलाई देखेपछि भागदौड मच्चिएको थियो।
जसका कारण ३५ वर्षीया महिलाको मृत्यु भएको थियो। यस मामिलामा शुक्रबार अल्लु अर्जुनलाई पक्राउ गरिएको थियो।
तल्लो अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो। तर, तेलंगाना उच्च अदालतले उनलाई राहत दिँदै अन्तरिम जमानतमा रिहा गरिसकेको छ। पुष्पा’ स्टार शनिबार चंचलगुडा केन्द्रीय कारागारबाट रिहा भए।
अल्लु अर्जुन शनिबार रिहा भएपछि उनलाई भेट्न सिने जगतका स्टारहरू आएका थिए। समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार आइतबार अल्लु अर्जुन आफ्नी पत्नी स्नेहा रेड्डीसँग मेगास्टार चिरञ्जीवीको घरमा उनलाई भेट्न गएका थिए। यसै क्रममा उनको भिडिओ पनि बाहिर आएको छ।
सम्बन्धमा चिरञ्जीवी अल्लु अर्जुनका फूफा हुन्। यो विश्वास गरिन्छ कि अभिनेताले आफ्नो फूफालाई महिलाको मृत्युको मामलामा केहि अपडेट दिन सक्छन्।
कारागारबाट रिहा भएपछि अभिनेता अल्लु अर्जुनले मिडियासँग कुरा गर्दै धन्यवाद दिएका थिए।
उनले भने, ‘म सबैलाई माया र साथको लागि धन्यवाद दिन्छु। म मेरा सम्पूर्ण फ्यानहरुप्रति आभारी छु। चिन्ता लिनुपर्ने केही छैन। म ठिक छु। म कानून पालन गर्ने नागरिक हुँ र सहयोग गर्नेछु। यो एक दुर्भाग्यपूर्ण घटना थियो। यसका लागि हामी दु:ख व्यक्त गर्दछौं।’
डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो। त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ।
आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।
घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो।
मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ ९१० अन्तर्गत जाहेरी दर्ता गरेको हो।
Shares

प्रतिक्रिया