अल्लु अर्जुन स्टारर भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। ‘आरआरआर’ उछिन्दै १७५ भारतीय रुपैयाँ करोड कमाउँदै सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बनिसकेको छ।
यसैबीच, विश्वभर ५०० करोड आँकडा पार गर्ने सबैभन्दा छिटो भारतीय फिल्म बनेको छ। ट्रेड पोर्टल स्याकेनिल्कका अनुसार तीनदिनमा फिल्मले ५ सय ८८ करोडको व्यापार गरिसकेको छ।
यद्यपी, फिल्मले रिलिज भएको ३ दिनमै कीर्तिमान तोडेर विश्वभर ६०० करोड कमाएको ट्रेड विश्लेषक रमेश बालाले ट्विटरमा उल्लेख गरेका छन्।
घरेलु बक्सअफिसमा पनि यस फिल्मले ३८७ करोड माथिको व्यापार गरिसकेको छ। साथै यस फिल्मले हिन्दी भर्सनमा पनि कीर्तिमानी कमाइ गरेको छ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यस फिल्मले तीन दिनमा हिन्दी संस्करणतर्फ २०५ करोड भारु कमाएको छ। पहिलो दिन हिन्दीतर्फ ७२ करोड, दोस्रो दिनको ५९ करोड र ७४ करोड भारुको व्यापार गरेको छ।
योसँगै शाहरुखको ‘जवान’ को हिन्दी संस्करणलाई रेकर्ड तोड्दै हिन्दी सिनेमाको इतिहासमा तीनदिनमा सबैभन्दा बढी संकलन गर्ने फिल्म बनेको छ।
यसअघि सर्वाधिक ठूलो ओपनिङ र तीन दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान फिल्म ‘जवान’को नाममा दर्ज थियो। पहिलो दिन ६५ करोड ५० लाखको ओपनिङ गरेको यस फिल्मले तीन दिनमा १ सय ८० करोड कमाइ गरेको थियो।
अब हिन्दी संस्करणतर्फको ‘जवान’को नाममा रहेको दुबै रेकर्ड ‘पुष्पा २’ ले तोडिसकेको छ। साथै यो फिल्म दुई अलग दिनमा ७० करोडमाथिको व्यापार गर्ने पहिलो भारतीय फिल्म समेत बनेको छ।
१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा द राइज’ निकै सफल भएको थियो। जसकारण पनि दोस्रो सिक्वेलमा दर्शकहरुको क्रेज व्यापक देखिएको छ।
सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ।
नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
Shares

प्रतिक्रिया