विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को ट्रेलरलाई दर्शकहरुले रुचाएका छन्। तीन दिनअघि युट्युवमा सार्वजनिक ट्रेलर चर्चासहित युट्युव ट्रेन्डिङमा छ।
फिल्मको ट्रेलर युट्युवको फिल्मतर्फको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ। अर्गानिक कथामा फिल्म बनेको बताउँदै दर्शकहरु फिल्म हेर्न निकै उत्साहित देखिएका छन्।
दर्शकसहित चलचित्रकर्मीले पनि तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
सारंगी रेटेर छोराको सपना र भविष्य बनाउन गर्नुपरेको संघर्ष वरिपरि ट्रेलर घुमेको छ। फिल्मम विजय बराल बुवा हुँदा प्रकाश सपुतले छोराको भूमिका निर्वाह गरेका छन्।
यसअघि पनि फिल्मको मोसन पोस्टरदेखि गीत र टिजरले पनि निकै राम्रो प्रतिक्रिया पाएको थियो। ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा पनि यसले राम्रो ब्यापार गर्ने पूर्वानुमान लगाउन सकिन्छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसहित मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्। सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित छ। सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्।
यस फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ। यो फिल्म तिहारको अवसरमा कात्तिक १५ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया