गत असार २८ गते रिलिज भएको दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’ पछि बक्सअफिस चलायमान हुन सकेन। साउनदेखि असोज दोस्रो सातासम्म दर्जनौँ फिल्म रिलिज भए। तर, कुनै फिल्मले पनि दर्शकलाई आशाजनक रूपमा हलसम्म तान्न सकेनन्।
अझ बहुप्रचारित पल शाह अभिनित ‘रावायण’ को हालत झनै बिर्सनलायक भयो। फिल्मले पैसा कमाउनु त कहाँ हो कहाँ, अभिनेता पलकै ‘करिअर’मै प्रश्चचिन्ह लगाइदियो।
भदौमा अन्तर्राष्ट्रिय चर्चा बटुलेको फिल्म ‘शाम्बाला’ रिलिज नभएको होइन। यस चलचित्रले बौद्धिक वृत्तबाट प्रतिक्रिया राम्रो पाए पनि व्यावसायिक हिसाबले ‘हिट’ हुन सकेन। बरु उपासना सिंह ठकुरी र धीरज मगर अभिनित ‘खुस्मा’ राम्रै चल्यो।
चाडपर्व आउँदा नेपाली फिल्मबीच प्रदर्शनका लागि होडबाजी चल्छ। अझ कतिपयले त फिल्म सुटिङअघि नै दसैँका लागि रिलिजको मिति तोक्छन्। दसैँ फिल्महरूका लागि पनि दसैँ बन्ने गर्छ। दर्शकको राम्रो उपस्थिति हुने भएकाले निर्माताहरू यहीबेला फिल्म प्रदर्शनका लागि लालायित हुन्छन्।
यो वर्ष पनि अपवाद रहेन। दसैँलक्षित तालिकामा आधा दर्जन नेपाली फिल्म अटाए। दसैँ आउन एक साताघि ‘सानो संसार’ र ‘आँखा’ रिलिज भए। तर, यी फिल्म दुई–तीन दिन पनि हलमा टिक्न सकेनन्। बाढीपहिरोको विपद् यही बेला आयो र निर्माताले हलबाट फिल्म उतारे।
दसैँको अवसरमा रिलिज भएका नेपाली फिल्महरूलाई भने दर्शकले भरपूर साथ दिएका छन्। घटस्थापनादेखि हलमा लागेको स्वस्तिमा खड्का र निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ एक सातामै साढे ३ करोड कमाइ गर्न सफल भएको छ। तर, फूलपातीबाट तीन नेपाली र एक विदेशी फिल्म रिलिज हुँदा ‘बेहुली फ्रम मेघौली’ को रफ्तारमा असर पुर्याएको छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ बक्सअफिसमा आक्रामक व्यापार गरिरहेका छन्। सुरुवातमा जितु नेपालको ‘ज्वाइँ साब’ले सुस्त व्यापार गरे पनि अहिले पिकअप लिइरहेको छ। प्राप्त सोमा अकुपेन्सी राम्रो देखिएको छ।
दसैँमा रिलिज भएका सबै फिल्मले दर्शकको साथ पाइरहेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए। ‘छक्का पञ्जा ५’ ले दसैँमा छैटौँ दिनसम्म निकै राम्रो व्यापार गरेको उनको भनाइ छ।
यस फिल्मका वितरक मनोज राठीले ६ दिनसम्म फिल्मले साढे १० करोड रुपैयाँ कमाइ गरिसकेको जानकारी दिए।
‘दसैँले सिनेमा हलमा रौनक छाएको छ। छैटौँ दिनसम्म ‘छक्का पञ्जा ५’ ले साढे १० करोड कमाइसकेको छ। उपत्यका र मोफसलमा शत प्रतिशत अकुपेन्सी छ। यो गति शनिबारसम्मै कायम हुने देखिन्छ,’ राठीले नेपालखबरसँगको कुराकानीमा भने।
‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’ को पाँचौँ शृंखला हो। दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराजसहित केदार घिमिरे अर्थात् माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ। दीपकसहित केदार र निर्मल शर्माको लगानी रहेको फिल्ममा दीपककै कथा, पटकथा र संवाद छ।
त्यसैगरी, विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले ‘छक्का पञ्जा ५’ सँग बक्सअफिसमा कडा प्रतिस्पर्धा गरिरहेको छ। क्यूएफएक्स हलमा आज ‘१२ गाउँ’ ले एक सो बढी पाएको छ।
विराजका छोरा समीर भट्टले डेब्यु फिल्मबाटै दर्शकहरूको मन जितिरहेका छन्। साथै समीरलाई एक्सन हिरोको रूपमा उदाएको भनेर टिप्पणी गरिँदै छ।
निर्माण टिमले फिल्मको कमाइ सार्वजनिक गरेको छैन। तर, हालसम्म यस फिल्मले ७ करोड हाराहारी व्यापार गरेको जानकारहरूको भनाइ छ।
वितरक गोविन्द शाहीका भनाइमा, यस फिल्मले मल्टिप्लेक्सहित सिंगल थिएटरमा दर्शकहरूको उत्साहजनक साथ पाइरहेको छ। आज सातौँ दिनमा नेपालभरि हाउसफुल भएको उनको दाबी छ।
विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।
फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु) लगायतको अभिनय छ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।
‘ज्वाइँ साब’ को बक्सअफिस रिपोर्ट नआएको फिल्मका निर्देशक वसन्त निरौला बताउँछन्। भन्छन्, ‘हाम्रो फिल्मको बक्सअफिस रिपोर्ट आइपुगेको छैन। तर, व्यापारसहित फिल्मको माउथ पब्लिसिटी निकै राम्रो छ।’
तर, अन्य फिल्मसरह पिक टाइममा भने सो पाउन नसकेको उनको गुनासो छ। ‘माउथ पब्लिसिटीले उपत्यकामा सो बढिरहेको छ। तर, उपत्यकाबाहिरका हलमा अफटाइम दिइएको छ। त्यसकारण समस्या भइरहेको छ। बिहान र राति सो राखेपछि अलि गाह्रो भइरहेको छ,’ निर्देशक निरौलाले भने।
फिल्ममा जितुसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायत कलाकारको अभिनय छ। सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको लेखन छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सकी प्रबन्ध निर्देशक तृप्ति गिरीले पनि दसैँले नेपाली हलमा दर्शकहरू फर्काएको बताइन्। नेपाली चारवटै फिल्ममा दर्शकहरूको राम्रो आकर्षण देखिएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया