अभिनेत्री करिश्मा मानन्धरले यस वर्ष डिल्लीबजारस्थित विजय स्मारक मावि (परीक्षा केन्द्र)बाट एसईई परीक्षा दिइन्। परीक्षा दिन करिष्मा हरेक दिन बा९च ४२६ नम्बरको कार चढेर परीक्षा केन्द्र पुग्थिन्।
कक्षा ८ देखि मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएकी उनले ३ वर्षयता आफ्नो समय अध्ययनमै खर्चिइन्। उनको उद्धेश्य भने जसरी हुन्छ एसईई पास गर्नु थियो। त्यसैले पनि करिश्माका लागि यस वर्षको एसईई विशेष रह्यो।
परीक्षाकै तयारीका लागि भनेर करिष्मा १ महिना रातदिन पढाईमा नै केन्द्रित भइन्। तर, अहिले उनको परीक्षा सकिएको छ।
प्रस्तुत छ, नायिक मानन्धरले दिएको एसईई परीक्षामा केन्द्रित रहेर नेपालखबरका लागि कृष्ण आचार्यले गरेको कुराकानी:
परीक्षा कस्तो भयो?
अति नै उत्कृष्ट वा खत्तम खालको भन्ने पनि छैन। समग्रमा भन्नुपर्दा राम्रो भएको छ।
एसईई पास गर्नुहुन्छ त?
पास हुन्छु भन्ने विश्वास छ।
कुन ग्रेड आउँछ भन्ने अनुमान गर्नुभएको छ?
ठ्याक्कै यही नै भनेर त भन्न सक्दिनँ तर, पास चाहिँ हुन्छु। आफूलाई राम्रो गरेको जस्तो लागे पनि नम्बर कति आउँछ भन्ने कुरा कपी जाँच गर्ने जाँचकीमा भर पर्छ। सोचेअनुसार नहुन पनि सक्छ।
प्राय विद्यार्थीहरु परीक्षा दिएर घर आएपछि सर्वप्रथम पश्नपत्र अगाडि राखेर यति नम्बर आउँछ भनेर औँला भाँच्छन्। तपाईंले पनि त्यस्तै गर्नुभयो कि!
मैले पनि गरेँ। तर, आफूले गरेको प्रश्नको नम्बरबाट प्राप्त गर्न सक्ने सम्भावित नम्बर मात्र राखेर। जस्तै, मैले कुनै ४ नम्बर दिइने प्रश्नको उत्तर लेखेकी छु भने मैले आफ्ना लागि २ नम्बर मात्र जोडेँ।
यसो गर्दा कुन–कुन विषयमा कति नम्बर आउने देखियो त?
सबैमा राम्रैसँग पास नम्बर आउँछ भन्ने छ। तर, सामाजिक विषयमा भने पासमात्र हुन्छु कि भन्ने लागेको छ।
ठ्याक्कै यो विषयमा सबैभन्दा धेरै नम्बर आउँछ भन्ने छैन?
विज्ञानमा आउँछजस्तो लाग्छ । किनकी विज्ञान र गणितमा उत्तर मिलेको खण्डमा नम्बर घटाउने अवस्था हुँदैन। अन्य विषयमा भने विद्यार्थीको लेखन कला कस्तो छ भन्ने कुरामा भर पर्ने हो। उत्तर पुस्तिका जाँच्ने मान्छेलाई उसको लेखाई मन परेन भने नम्बर नै नआउन पनि सक्छ।
प्रश्नहरु चाहिँ कत्तिको छुटाउनु भयो?
केही छुटेका छन्। गणितमा धेरै नै तयारी गरेकी थिएँ। अन्य विषयभन्दा यो विषयमा कमजोर पनि थिएँ। यस विषयमा आफूले घरमा तयारीस्वरुप हल गरेका केही प्रश्नहरु आएका थिए। तर, पनि ४–५ वटा प्रश्न छुटेको छ।
सरहरुले पहिला धेरै नम्बर आउने प्रश्न हल गर्नु भनेकाले पछाडिबाट गर्दै आएँ। त्यसैले, २ नम्बरका ३ वटा जति र अन्य २ वटा प्रश्न छुटेको छ। समय त थियो अलमलमा पनि निकै नै परेँ। छुटे पनि ४० नम्बर चाहिँ मज्जाले आउँछ भन्ने लागेको छ।
नेपालीमा पनि अन्तिमको ८ नम्बरको निबन्ध छुट्यो। पहिला लामो प्रश्न गर्छु भन्दा भन्दै पनि अगाडिका प्रश्नहरु गर्न थालेँ। पछि समय नै पुगेन।
अन्तिम दिन अकाउन्टमा पनि एउटा प्रश्न छुट्यो। बैँकका कार्यहरु लेख्न पाइनँ। ‘प्रोभियन्स लस अकाउन्ट’ निकाल्न पनि अलमलमा परेकी थिएँ।
सामाजिक विषयमा भने अलि धेरै प्रश्नहरु छुटे। लेख्दा लेख्दै परीक्षा समय सकियो। सरले कापी लिइदिनुभयो।
आफूलाई नआएका प्रश्नको उत्तर अरु (छेउछाउँका) सँग कत्तिको सोध्नुभयो नि!
कसैसँग पनि सोधिन। आफूले जानेको गरेँ। नजानेको त्यत्तिकै छाडिदिएँ।
परीक्षा अवधिभर कत्तिको ‘प्रेसर’ महसुस गर्नुभयो?
पहिलो दिन अलि ‘प्रेसर’ महसुस भएको थियो। अंग्रेजी विषयको परीक्षाको अघिल्लो दिन रातभर निद्रा परेको थिएन। एसईईलाई निकै ठूलो परीक्षा मानिन्छ। ममा पनि मानसिक रुपमा त्यसको छाप पर्ने नै भयो। उमेर ढल्केपछि बल्ल एसईई दिँदै थिएँ, त्यसकारण पनि हुनसक्छ। तर, पहिलो दिनको परीक्षापछि त्यस्तो केही पनि लागेन। एसईई परीक्षा पनि अन्य परीक्षाजस्तै सामान्य नै हुँदोरहेछ भन्ने लाग्न थाल्यो।
एकदिन परीक्षा हलमा १५ मिनेट ढिला पुग्नुभयो। कारण के थियो?
सामाजिक विषयको परीक्षामा म अलि ढिला पुगेँ। टाढा (गोदावरी)बाट परीक्षा दिन आउनु पर्छ। ट्राफिक जामको समय मिलाएर अलि छिटो नै घरबाट निस्कन्थेँ। तर, त्यसदिन जाम बढी नै भयो।
परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा पुग्दा अलि बढी ‘प्रेसर’ भयो। ‘ला, परीक्षा सुरु भइसक्यो’ भन्ने ‘फिल’ भयो। प्रश्नपत्र पाएको केही समय त त्यसै ‘ह्याङ’ भयो। प्रश्नहरु गर्दै जाँदा केही लामा प्रश्नहरु छुटे।
सामाजिक मलाई सजिलो लाग्ने विषय थियो। यसमा अरुभन्दा राम्रो गर्छु भन्ने पनि लागेको थियो। तर, परिस्थितिले गर्दा त्यस्तो भइदियो।
घरमा परीक्षाको राम्रै तयारी गर्नुभयो। ‘क्वेश्चन ब्याङ्क’ र ‘गेसपेपर’ हेरेर पुराना प्रश्नहरुको हल पनि गर्नुभयो। ती प्रश्नसँग मिल्दाजुल्दा प्रश्नहरु कत्तिको आए?
धेरैजसो मिल्दाजुल्दा नै थिए। ठ्याक्कै नमिले पनि प्रश्नहरु त्यति अप्ठेरा थिएजस्तो मलाई लाग्दैन। विज्ञान विषयको नै कुरा गर्नुस् न! ‘गेसपेपरहरु’ मा निकै गाह्रा–गाह्रा प्रश्नहरु थिए। तर, परीक्षामा निकै सजिला प्रश्नहरु आए। मैले पनि मज्जाले हल गरेँ।
परीक्षाको समग्र अनुभव कस्तो रह्यो?
कुनै नयाँ काम गर्दा के होला, कस्तो होला भन्ने लाग्ने गर्छ। एसईई दिँदा मलाई पनि त्यस्तै लागिरहेको थियो। तर, त्यस्तो होइन रहेछ। त्यससँग जोडिएर आउने विषयहरु कुनै पनि कुरालाई कसरी लिने भन्ने कुरामा भर पर्दोरहेछ। परीक्षा सकिएपछि मैले यो कुरा बुझेँ कि, कुनै नयाँ काम गर्दा त्यसमा धेरै प्रेसर लिने वा आत्तिने गर्नुहुँदोरहेनछ। ‘मैले यो काम गर्नु छ र म त्यसलाई पुरा गर्छु’ भनेर सामान्य रुपमा लियो भने काम गर्न पनि सहज हुँदो रहेछ। यस पटकको परीक्षाबाट मैले सिकेको पाठ पनि यही हो।
एसईईपछि पनि पढाईलाई निरन्तरता दिनुहुन्छ त?
दिन्छु। स्कुल भनेको सामान्य ज्ञान हासिल गर्ने थलो हो। मैले त्यही कुरा ‘मिस’ गरेकी थिएँ। अब त्यो पुरा भयो। त्यसपछिको शिक्षा भनेको विषय केन्द्रित हुन्छ।
मैले आफ्नो जीवनमा कुनै एक विषय (कलाकारिता) मा केन्द्रित रहेर काम गरेँ। त्यसमा सफल पनि भएँजस्तो लाग्छ। जीवनको एउटा खुड्किलो या भनौँ जीवनमा मानिसले कुनै एक विषयमा निभाउनु पर्ने आफ्नो कर्तब्य वा भूमिका मैले फिल्म क्षेत्रबाट निभाएँ। कलाकारिता क्षेत्रबाट देशका लागि थोरै भए पनि योगदान दिएकी छुजस्तो लाग्छ।
पढ्ने कुरा त जीवनभर चलिनै रहन्छ। पछि के गर्ने भन्ने कुरा रिजल्ट आएपछि थाहा हुन्छ। तर, मैले कुनै विषयमा ‘प्राइभेट’ भएपनि पढ्छु भन्ने सोच भने बनाएकी छु। त्यसै गर्छु होला।
३ वर्ष भयो फिल्म छाडेर पढाइमा केन्द्रित हुनुभएको। अब फिल्मी क्षेत्रमा फर्कनुहुन्छ या अन्य कुनै योजना छ?
३ वर्ष म पढाइमा नै ‘फोकस’ भएँ। सामाजिक, पारिवारिक जीवनमा मैले निर्वाह गर्नुपर्ने भूमिकाबाट पनि टाढिन पुगेँ। मेरा आफ्नै सामाजिक र पारिवारिक दायित्वहरु छन्। अब म त्यसलाई पुरा गर्न लाग्छु।
तत्काल चाहिँ के गर्नुहुन्छ?
गर्मी मौसम सुरु भइसकेको छ। तर, पढाइले गर्दा मैले अहिलेसम्म गर्मी मौसमका लुगा दराजबाट झिक्नसमेत पाएकी छैन। यस्तै यस्तै ब्यक्तिगत र घरायसी कामहरु थुप्रै छन्। ती पनि पुरा गर्नुपर्ने छ ।
अर्को कुरा, मेरो पेशा वा क्षेत्र भनेकै फिल्म हो। त्यसैले यस क्षेत्रबाट टाढा पक्कै पनि जाँदिन।
(मानन्धरले परीक्षा दिएपछि नेपालखबरसँग भएको कुराकानी)
प्रतिक्रिया