चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै एक सय कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आईडब्ल्यूएस ) नेपालले जनाएको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थितिमा गर्न लागिएको हो। कोरोना महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो। जसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो।
अब भने बिस्तारै कला पर्यटन प्रवर्द्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी रूपमा पुर्याउने प्रयास थालिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आईडब्ल्यूएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए।
‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्वरभूमि तथा हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान भएको जानकारी दिए। उनका अनुसार आठ हजारमाथिका तीनवटा हिमाल एकसाथ देखिने गण्डकी प्रदेशको राजधानी पोखरा हो।
उनले पोखरा आर्ट क्याम्पमार्फत गण्डकीको सुन्दरता विश्वभर पुर्याउने अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे।
ललितकलाको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम गरिरहेको आईडब्ल्यूएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ। पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्ने जनाइएको छ। रासस
Shares

प्रतिक्रिया