ad ad

कला


प्रकाश सपुतको ‘गलबन्दी’ नक्कल प्रकरण: सांसदले बताए ‘जातीय मुद्दा’

प्रकाश सपुतको ‘गलबन्दी’ नक्कल प्रकरण: सांसदले बताए ‘जातीय मुद्दा’

नेपालखबर
असार ९, २०७६ सोमबार ९:४,

गायक प्रकाश सपुतको बहुचर्चित गीत ‘गलबन्दी’ शम्भु राईको गीतबाट नक्कल गरिएको भन्ने विषय संसदमा प्रवेश गरेको छ।

आफ्नो पुरानो गीतको भाका नक्कल गरिएको भन्दै शम्भु राईले मुद्दा हालेको विषयले संसदमा चर्चा पाएको हो। नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले गलबन्दी नक्कल गरिएको नभै राईले जातीय कारणले सपुतमाथि मुद्दा लगाएको आरोप लगाए।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद विश्वकर्माले जातीय द्धन्द्ध भड्काउने काममा सरकार लागेको आरोप लगाउँदै रेशम चौधरी र प्रकाश सपुतको बिषयलाई जोडेर प्रस्तुत गरेका हुन्। उनले भने, ‘सरकार नै सामाजिक सद्भाव र जाति जातिका बीचमा र नागरिक नागरिक बीचमा नै द्धन्द्ध गराउन चाहन्छ। उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ। यस्ता घटनामा संलग्न थुप्रै माननीय ज्युहरु संसदमा हुनुहुन्छ। तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाईएको छ। यही कुरा प्रकाश सपुत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु। सरकारको गम्भीर ध्यानाकर्षण होस्।’

‘गलबन्दी च्यातियो तिमिले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपुत र शान्ति सिंह परियारमाथि जातिय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको भन्दै उनले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। सत्तारुढ दलकै सांगितिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसंग उल्ल्लेख गर्दे उनले गाउँघरमा मेलापात जाँदा स्वत स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पद भएको टिप्पणी गरे।

उनले भने, ‘शम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहित गराउन लागि परेको देखिन्छ। त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरुमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साईबर कानुन अन्र्तगत, जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्र्तगत र संविधानको धारा २४ अन्र्तगत उनीहरुलाई तत्काल कारावाहीको दायरामा ल्याउन माग गर्दछु।’

उनले प्रकाश सपुत विरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .