ad ad

निर्वाचन विशेष


पाँचथरमा सत्ता गठबन्धन सर्वाधिक सफल, जिल्ला नै झण्डै ‘क्लिन स्वीप’

पाँचथरमा सत्ता गठबन्धन सर्वाधिक सफल, जिल्ला नै झण्डै ‘क्लिन स्वीप’

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १३:२५, काठमाडौँ

गठबन्धनका बाबजुद अपेक्षा गरेअनुसारको मत प्राप्त गर्न नसकेको सत्तागठबन्धन पूर्वको पाँचथरमा भने सबै पालिकाका प्रमुख–उपप्रमुखमा झण्डै ‘क्लिन स्वीप’ को स्थितिमा देखिएको छ। 

गठबन्धनमा सामेल कांग्रेस र माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्षका सबै उम्मेदवार विजयी भएका छन्।  

एउटा गाउँपालिका उपप्रमुख गुमाएपनि गणना सकिएका अधिकांस पालिकाका प्रमुख–उपप्रमुखमा सत्तागठबन्धनमा आवद्ध दलहरुले विजय हासिल गरेका छन् । गणना जारी रहेका पालिकामा पनि सत्तागठबन्धनकै उम्मेदवार अग्रस्थानमा छन्। 
 

पहिलो स्थानीय तह निर्वाचन (२०७४) मा जिल्लाका ८ मध्ये ५ पालिका प्रमुखमा विजय हासिल गरेको कांग्रेस, एउटा पालिका जितेको माओवादी केन्द्र र एकिकृत समाजवादीबीच जिल्लास्तरमै तालमेल भएपछि सत्तागठबन्धनले सबैभन्दा उत्कृष्ट नतिजा निकालेको हो। 

२०७४ को स्थानीय तह निर्वाचनमा पाँचथरमा कांग्रेसले ५ पालिका प्रमुख जित्दा एमालेले दुई पालिका प्रमुखमा विजय हासिल गरेको थियो । माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजय हासिल गरेको थियो।  

मतगणना जारी रहेकोमध्ये फिदिम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मित्रप्रसाद काफ्ले ७ हजार ६७ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार पृथ्वी लावतीले ६ हजार १२ मतसहित कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्। 

उपप्रमुखमा यहाँ माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने झण्डै दुई हजार मतान्तरले अगाडि छन् । न्यौपानेले ६ हजार २ सय ९४ मत प्राप्त गर्दा एमालेको समर्थन प्राप्त गरेका राप्रपाका जगतप्रसाद थापामगरले ४ हजार ३ सय ६८ मत प्राप्त गरेका छन्। 

२०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजय हासिल गरेको मिक्लाजुङ्ग गाउँपालिकामा यसपटक पनि माओवादी केन्द्रका अमरराज माखिमले ४ हजार ७ सय ४२ मतसहित अग्रता लिइरहेका छन् । उनी निवर्तमान गाउँपालिका अध्यक्षपनि हुन् । उनलाई एमालेका नरेन्द्रकुमार बस्नेतले ३ हजार ५ सय ६ मतसहित पछ्याइरहेका छन्।  

यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार सेर्माले ४ हजार ५ सय ७ मतसहित अग्रता हासिल गर्दा एमालेकी धनमायाँ सारुले २ हजार ८ सय ६० मतसहित पछ्याइरहेकी छन्। 

मतगणना जारी रहेको याङ्गवरक गाउँपालिकामा पनि नेपाली कांग्रेसका मविन्द्र योङ्ग्याले झिनो मतान्तरले अध्यक्षमा अग्रता लिइरहेका छन् । योङ्ग्याले २ हजार ९ सय १७ मत प्राप्त गर्दा एमालेका भीमबहादुर योङ्ग्याले २ हजार ८ सय १८ मतसहित उनलाई पछ्याएका छन्। 

याङ्गवरक गाउँपालिकाको उपाध्यक्ष पदमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अर्जुनकुमार बेघाको झिनो मतान्तर छ । बेघाले २ हजार ७ सय १ मत सहित अग्रता हासिल गर्दा एमालेकी बाबा मेयाङ्ग्यो ७ मतले पछाडि छन् । उनले २ हजार ६ सय ९४ मत प्राप्त गरेकी छन्। 

बाँकी पाँच गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ । त्यसमध्ये पाँचवटै पालिका प्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष, चार गाउँपालिकामा माओवादी केन्द्रका उपाध्यक्ष विजयी भएका छन् । एउटा गाउँपालिका उपप्रमुख भने एमालेले गठबन्धनबाट खोस्न सफल भएको छ। 
 
२०७४ मा एमालेले विजय हासिल गरेको कुश्मायक गाउँपालिकामा यसपटक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बमप्रसाद लावती ३ हजार ५७ मतसहित विजयी भएका छन् । लावती २०७४ मा पराजित अध्यक्षका उम्मेदवार हुन् । लावतीबाट यसपटक पराजित एमाले उम्मेदवार भीमप्रसाद लिम्बु २ हजार ९ सय मत प्राप्त गरेका छन्। 

यो गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्काले ३८ मतान्तरले जित हासिल गरेका छन् । विजयी खड्काले २ हजार ७ सय ५८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता आचार्यले २ हजार ७ सय २४ मत प्राप्त गरेकी छन्।  

यसअघि नेपाली कांग्रेस नै विजयी भएको तुम्बेबा गाउँपालिकामा यसपटकपनि कांग्रेसले गठबन्धनको सहारामा अध्यक्षमा विजय हासिल गरेको छ । कांग्रेस उम्मेदवार बाबुराम खड्का  २ हजार ७ सय १८ मत सहित विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार गोबिन्दबहादुर तामाङ्गले २ हजार ३ सय ११ मत हासिल गरेका छन्। 

उपाध्यक्षमा माओवादी केन्द्रका खड्कबहादुर सम्बाहाम्फे २ हजार ७ सय ७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी नन्दकुमारी विश्वकर्माले २ हजार ९ मत प्राप्त गरेकी छन्। 

२०७४ मा झिनो मतान्तरले विजय हासिल गरेको फालेलुङ्ग गाउँपालिकामा यसपटक नेपाली कांग्रेसले गठबन्धनको सहारामा दोब्बर मतान्तरले एमाले उम्मेदवारलाई पराजित गरेको छ । यसअघि यो गाउँपालिका कांग्रेस उम्मेदवार सञ्चकुमार केरुङ्ग २ हजार ९ सय ९६ मतसहित विजयी हुँदा पराजित माओवादी केन्द्रका महेन्द्रहाङ्ग जबेगूले २ हजार ८ सय ३९ मत प्राप्त गरेका थिए।  

फालेलुङ्गको प्रमुखमा विजयी कांग्रेसका वीरबिक्रम थाम्सुहाङ्गले यसपटक ५ हजार ७ सय ७९ मत प्राप्त गरेका छन् । यहाँ पराजित एमाले उम्मेदवार जयप्रकाश केरुङ्गले २ हजार ६ सय २१ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा भने २०७४ मा अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी रही पराजित महेन्द्रहाङ्ग जबेगू गठबन्धनको तर्फबाट विजयी भएका छन् । माओवादी केन्द्रका जवेगुले उपाध्यक्षमा ५ हजार २ सय १४ मत प्राप्त गरी विजय हासिल गर्दा एमालेकी सुजता वान्तवा राई २ हजार ७ सय ७५ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी बनेकी छन्। 

फाल्गुनन्द गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले  उल्लेख्य मतान्तरसहित विजय हासिल गरेका छन् । यसअघिपनि नेपाली कांग्रेसले विजय हासिल गरेको यो गाउँपालिकामा नेपाली कांग्रेसका बृजहाङ्ग आङ्गदेम्बे ५ हजार ९ सय ३९ मत प्राप्त गरी विजयी भएका छन्। 

पराजित एमाले उम्मेदवार वीरबहादुर कुरुङमाङ्गले ४ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । एमालेका पराजित उम्मेदवार कुरुङमाङ्ग २०७४ को निर्वाचनमा पनि पराजित भएका थिए। 

यो गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ्ग  ५ हजार १६ मत प्राप्त गरी विजयी भएका छन् । उनी २०७४ मा पराजित अध्यक्षका उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी बबिता नेम्वाङ्गले ४ हजार ३ सय ७६ मत प्राप्त गरेकी छन्। 

जिल्लाका अन्य पालिकामा गठबन्धनले शतप्रतिशत नतिजा निकाल्दा हिलिहाङ्ग गाउँपालिकामा भने गठबन्धनका उम्मेदवारले उपाध्यक्षमा हार बेहोर्नु परेको छ । यहाँको उपाध्यक्षमा एमालेकी सुमित्रा उप्रेती सेढाईंले ४ हजार १ सय ४६ मत सहित विजय हासिल गर्दा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीको उम्मेदवार रहेका भवानीप्रसाद लिङ्देन ४ हजार १ सय १८ मत प्राप्त गरी पराजित भए। 

जिल्लाभरमा एकिकृत समाजवादीले गठबन्धनको तर्फबाट यही गाउँपालिकाको उपाध्यक्ष प्राप्त गरेको थियो । तर, यहीँ उ पराजित हुन पुग्यो। 

२०७४ मा एमालेले विजय हासिल गरेको यो गाउँपालिकाको अध्यक्षमा भने नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी भएका छन् । अधिकारी ४ हजार ५ सय ६५ मत प्राप्त गरी विजयी हुँदा एमाले उम्मेदवार भुवानीप्रसाद लिङ्देन ४ हजार ३ सय ५८ मत प्राप्त गरी पराजित भए । उनी एमालेबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्षपनि हुन्।  

गणना गर्न बाँकी मतगणना जारी रहेको याङ्गवरक गाउँपालिकामा अग्रस्थानमा रहेका गठबन्धन र एमालेका उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम परिणाम के हुन्छ, भन्न सकिने स्थिति छैन । तर, फिदिम नगरपालिका र मिक्लाजुङ्ग गाउँपालिकामा गठबन्धनका उम्मेदवारको ठूलो मतान्तरका कारण  यी दुई पालिकामा गठबन्धनकै उम्मेदवार विजयी हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .