ad ad

निर्वाचन विशेष


विराटनगरमा गठबन्धनका उम्मेदवार विजयी हुने प्रक्षेपण

विराटनगरमा गठबन्धनका उम्मेदवार विजयी हुने प्रक्षेपण

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार २१:१७, काठमाडौँ

मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुने फ्याक्ट्स नेपालले प्रक्षेपण गरेको छ। 

विगतमा कांग्रेस महाधिवेशनका बेला विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्री जित्ने प्रक्षेपण गरेको फ्याक्ट्स नेपालले २० स्थानीय तहको चुनावी सर्वेक्षण गरेको छ। 

विराटनगरमा उसले गरेको प्रक्षेपणअनुसार कांग्रेसका उम्मेदवार नागेश कोइराला विराटनगर महानगरको प्रमुखमा विजयी हुने देखिएका छन्। 

प्रक्षेपणअनुसार कोइराला महानगर प्रमुखमा विजयी हुने सम्भावना ४९.० प्रतिशत देखिएको छ। नेकपा एमालेका उम्मेदवार सागर थापा महानगर प्रमुखमा विजयी हुने सम्भावना २९.९ प्रतिशत छ।

फ्याक्ट्स नेपालको प्रक्षेपणमा स्वतन्त्र उम्मेदवार महानगर प्रमुखमा विजयी हुने सम्भावना १२.५ प्रतिशत र राष्ट्रिय प्रजाातन्त्र पार्टी (राप्रपा) ले महानगर प्रमुख जित्ने सम्भावना ४.४ प्रतिशत देखाइएको छ। 

विराटनगर महानगरको उपप्रमुखमा भने एमाले उम्मेदवार विजयी हुने देखाइएको छ। फ्याक्ट्स नेपालले उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की विजयी हुने सम्भावना ६२.१ प्रतिशत सम्भावना प्रक्षेपण गरेको छ। 

गठबन्धनको उम्मेदवार नगर उपप्रमुखमा विजयी हुने सम्भावना १७.७ र अन्य पार्टीका उम्मेदवार विजयी हुने सम्भावना १२.० प्रतिशत देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) ले अमरेन्द्र यादवलाई कांग्रेससँगको तालमेलमा उपप्रमुखका लागि प्रतिष्पर्धामा उतारेको छ।  

२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतका साथ महानगर प्रमुखमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए। 

महानगरको प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रह्लादप्रसाद साह हलुवाइले ५ हजार ५२४ मत पाएका थिए। 

महानगरको उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मतसहित विजयी भएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन्। 

यस्तै तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की सुची चौधरीले १० हजार ५३६ र राप्रपाकी शोभा श्रेष्ठले ४ हजार १०२ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .