समग्र नतिजामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भयो। तर, त्यो निर्वाचनमा अर्काे एउटा नतिजामा भने माओवादी केन्द्र पहिलो भयो।
सबैभन्दा ठूलो दल एमालेले धनकुटाका सात पालिकाका प्रमुख–उपप्रमुख ‘क्लिन स्वीप’ गर्दा माओवादी केन्द्रले ‘रुकुम पूर्व’ र ‘रुकुम पश्चिम’ दुबै जिल्लाका सबै स्थानीय तहका प्रमुख–उपप्रमुख पद ‘क्लिन स्वीप’ गरेको थियो।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने कुनै पनि जिल्ला ‘क्लिन स्वीप’ गर्न सकेको थिएन।
‘रुकुम पश्चिम’ का ६ र ‘रुकुम पूर्व’ का ३ वटा मध्ये कतिपय पालिकामा कांग्रेस– एमालेबीच चुनावी गठबन्धन भएको थियो। तर, त्यो गठबन्धनलाई समेत पराजित गर्दै माओवादी केन्द्रले यी दुई जिल्लाका सबै पालिकाका प्रमुख–उपप्रमुख ‘क्लिन स्वीप’ गर्न सफल भएको थियो।
आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पनि यी दुई जिल्लाका केही पालिकामा कांग्रेस–एमालेबीच गठबन्धन निर्माण भएको छ। तर, दुई ठूला पार्टीको गठबन्धनका बाबजुद माओवादी केन्द्रलाई ‘रुकुम पूर्व’ का सबै पालिका ‘क्लिन स्वीप’ गर्न २०७४ भन्दा सहज देखिन्छ।
तर, ‘पश्चिम रुकुम’ शतप्रतिसत नतिजा निकाल्दासमेत ‘क्लिन स्वीप’ गर्न उसलाई असम्भव छ। किनभने, यहाँ उसले एउटा नगरपालिकाको उपप्रमुख पद ‘एकीकृत समाजवादी’ लाई दिएको छ।
पश्चिम रुकुम : नगरपालिकामा तीब्र प्रतिस्पर्धा
सदरमुकाम रहेको मुसिकोट नगरपालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार देवीलाल गौतमले १ सय ४६ मतले मात्र कांग्रेसका मेयरका उम्मेदवार महेन्द्र केसीलाई पराजित गरेका थिए। त्यो बेला पराजित केसी नै यसपटकपनि कांग्रेसबाट मेयरको उम्मेदवार बनेका छन्।
माओवादी केन्द्रले यहाँ केन्द्रीय सदस्य बसन्तकुमार शर्मालाई प्रमुख (मेयर) को उम्मेदवार बनाएको छ।
यो नगरपालिकामा कांग्रेसले २०७४ मा २ हजार ३ सय ५८ मत प्राप्त गरेको एमालेसँग गठबन्धन गरेको छ। कांग्रेस–एमालेबाट उपप्रमुखको उम्मेदवार एमालेका थलबहादुर ओली बनेका छन्।
तर, केन्द्रीय नीति विपरित तालमेल भएकाले कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीे कांग्रेस–एमालेबीच रुकुममा तालमेल नभएको दावी गर्छन्। ‘स्थानीय तहमा साथीहरुले केही–केही कुरा मिलाएका छन् कि!’ ओलीले नेपालखबरसँग भने, ‘जिल्ला तहमा भने तालमेलको कुनै निर्णय भएको छैन।
जिल्लाका ६ मध्ये यो नगरपालिकामा मात्र माओवादी केन्द्र–एकीकृत समाजवादीबीच तालमेल भएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट प्रमुखको उम्मेदवार रहेका विमलकुमार पुन यसबाट ‘एकीकृत समाजवादी’ को तर्फबाट उपप्रमुखको उम्मेदवार बनेका छन्।
२०७४ मा एमालेबाट मेयरको उम्मेदवार रहेका पुन माओवादीसँग गठबन्धन गरी एकीकृत समाजवादीबाट उपमेयरको उम्मेदवार रहेकाले कांग्रेस–एमाले गठबन्धनले नै विजय हासिल गर्छ भन्ने सक्ने स्थिति छैन।
जिल्लाको अर्काे नगरपालिका आठविसकोटमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका गोर्खबहादुर केसी ५ हजार ४ सय ८९ मत सहित विजयी भएका थिए। यहाँ नेपाली कांग्रेसका धीरेन्द्रकुमार बटालाले ३ हजार ५ सय ९६ मत प्राप्त गरेका थिए भने एमालेका हरिकुमार शर्मालाई २ हजार ४ सय ५९ मत प्राप्त भएको थियो।
शर्मा यतिबेला एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छन्। तर, मुसिकोटमा जस्तो यहाँ माओवादी केन्द्र–एकीकृत समाजवादीबीच गठबन्धन छैन।
१ हजार ८ सय ९५ को फराकिलो मतान्तरले माओवादी केन्द्रले कांग्रेसका बटालालाई पराजित यहाँपनि कांग्रेसले २ हजार ४ सय ५९ मत प्राप्त गरेको एमालेसँग गठबन्धन गरेकाले यहाँपनि माओवादी केन्द्रलाई जितको नतिजा निकाल्न कठिन देखिन्छ।
पश्चिम रुकुमको पश्चिम क्षेत्रमा पर्ने चौरजहारी नगरपालिकामा पनि कांग्रेस–एमालेले माओवादी केन्द्रविरुद्ध गठबन्धन गरेका छन्। यहाँ माओवादी केन्द्रबाट पुष्प बादी मेयरका उम्मेदवार छन्।
कांग्रेस–एमाले गठबन्धनबाट प्रेमबहादुर ओली (कांग्रेस) मेयर र टंकप्रसाद ओली (एमाले) उपमेयरका उम्मेदवार छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा यहाँ विजयी माओवादी केन्द्रका उम्मेदवार विशाल शर्माले पराजित कांग्रेस उम्मेदवार बलबिर गोसाईंभन्दा २ हजार २ सय १६ मत बढी मत प्राप्त गरेका थिए।
तर, कांग्रेसले यहाँपनि गत निर्वाचनमा मेयरमा २ हजार २ सय ८२ मत प्राप्त गरेको एमालेसँग गठबन्धन गरेको छ।
कांग्रेस–एमालेबीचको गठबन्धनका कारण यो नगरपालिकामा पनि माओवादीका लागि त्यति सुरक्षित देखिँदैन। तर, मुसिकोट र आठविसकोट जत्तिकै चुनौति किन छैन भने, २०७४ मा कांग्रेस–एमालेका उम्मेदवारले प्राप्त गरेको भन्दा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेको मत ६४ मात्र कम छ।
‘पश्चिम रुकुममा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तीब्र प्रतिस्पर्धाको स्थिति छ’ कांग्रेसका जिल्ला सभापति ओली भन्छन्, ‘हामी यसपटक जिल्लाका तीन पालिका जित्ने स्थितिमा छौँ।’
माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पुन (सचिन) भने कांग्रेस–एमालेको गठबन्धनका बाबजुद २०७४ कै जस्तो नतिजा निकाल्न माओवादीलाई कुनै कठिन नभएको बताउँछन्।
‘२०७४ मा पनि कांग्रेस–एमालेले अघोषित तालमेल गरेका थिए, तरपनि हामीले पुरै जिल्ला ‘क्लिन स्वीप’ हासिल गर्यौँ’ रोका भन्छन्, ‘कांग्रेस–एमालेबीच कमजोर भएकैले यसपटकपनि गठबन्धन गरेका छन्। तर, हामीले गरेका कामका कारण हामी ०७४ भन्दा बलियो स्थितिमा छौँ। २०७४ मा भन्दा अझ बढी मतान्तरका साथ यसपटकपनि सबै पालिकामा हामी विजय हासिल गर्छाैं।’
गाउँपालिका : कांग्रेस–एमालेलाई कठिन
माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्माको जिल्लामा बढ्दो प्रभावका अलावा अन्य दुई कारणले ‘रुकुम पूर्व’ का तीन गाउँपालिकामा पुरानै परिणाम दोहोर्याउन माओवादी केन्द्रलाई सहज देखिन्छ।
एक– तीन नगरपालिकामध्ये सबैमा गठबन्धन गरेका कांग्रेस–एमालेले सबै गाउँपालिकामा भने गठबन्धन गर्न सकेका छैनन्। दुई– २०७४ को मत परिणाम अनुसार कांग्रेस–एमाले गठजोड भन्दा माओवादी केन्द्रले पाएको मतभार बढी देखिन्छ।
२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको बाफीकोट गाउँपालिकामा कांग्रेस–एमालेबीच गठबन्धन भएको थियो। तर, गठबन्धनका बाबजुद माओवादी केन्द्रका धर्मबहादुर केसी ३ हजार ५ सय ६४ मतसहित विजयी भए।
कांग्रेस–एमाले गठबन्धनका अध्यक्षका उम्मेदवार जनकबहादुर बाँठामगर (नेपाली कांग्रेस) ले २ हजार ८ सय १३ मत प्राप्त गरेका थिए। अर्थात् माओवादी केन्द्रका विजयी उम्मेदवार भन्दा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारले प्राप्त गरेका मत ७ सय भन्दा बढी थियो।
यो गाउँपालिकामा माओवादी केन्द्रले चन्द्रबहादुर केसी, कांग्रेसले जनककुमार बाँठा र एमालेले गणेशकुमार केसीलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेका छन्।
कांग्रेस–एमाले यसपटक यहाँ यसपटक भिन्दाभिन्दै प्रतिस्पर्धारत छन्। र, यसको लाभ लिने दाउमा माओवादी केन्द्र छ। कांग्रेसका जिल्ला सभापति ओली भने यसपटक यो पालिकामा नेपाली कांग्रेसले एक्लै विजय हासिल गर्ने दावी गर्छन्।
त्रिवेणी गाउँपालिकामा २०७४ मा माओवादी केन्द्रकै झक्कुप्रसाद घर्तिमगर ३ हजार ९ सय ५८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका थिए। कांग्रेसका देवबहादुर ओलीले २ हजार ६ सय ६३ मत प्राप्त गरेका थिए भने एमालेका गणेशबहादुर खड्कालाई ६ सय ५२ मत प्राप्त भएको थियो।
यहाँ निर्वाचित माओवादी केन्द्रका उम्मेदवार र पराजित उम्मेदवारबीचको मतान्तर १ हजार २ सय ९५ थियो। एमाले उम्मेदवारले प्राप्त गरेको मत निकै कम (६५२) थियो।
कांग्रेस–एमालेबीच गठबन्धन हुँदासमेत एकातिर ठूलो मतान्तर, अर्काेतिर कांग्रेस र एमाले यसपटक पनि भिन्दाभिन्दै प्रतिस्पर्धामा रहेकाले २०७४ मा जस्तै यसपटक पनि जीतको नतिजा निकाल्न माओवादी केन्द्रलाई त्यति कठिन देखिँदैन।
त्यो निर्वाचनमा ‘रुकुम पूर्व’ का स्थानीय तहमध्ये माओवादी केन्द्रले सबैभन्दा सहज रुपमा विजय हासिल गरेको स्थानीय तह थियो– सानीभेरी गाउँपालिका, जहाँ २ हजार ६ सय १७ मत प्राप्त गरेका कांग्रेस उम्मेदवार गोरखप्रसाद चन्द भन्दा २ हजार ३३ बढी मत प्राप्त गरी माओवादी केन्द्रका नरबहादुर पुन विजयी भएका थिए। यहाँ एमाले उम्मेदवार मनवीर घर्तीले जम्मा ५ सय ५६ मतमात्र प्राप्त गरेका थिए।
‘जिल्लाका ६ पालिकामध्ये तीन गाउँपालिकामा प्रतिस्पर्धीहरु हामीभन्दा निकै कमजोर छन्, त्यसैले गाउँपालिकामा हामी पहिले भन्दा ठूलो मतान्तरले विजय हासिल गर्छाैँ’ माओवादी केन्द्रका जिल्ला संयोजक रोकाले भने, ‘नगरपालिकामा चाहिँ पहिलेजस्तै प्रतिस्पर्धा हुने स्थिति छ। तरपनि हामी नगरपालिका पहिलेभन्दा सहज रुपमा जित्ने स्थितिमा छौँ।’
रुकुम पूर्व : २०७४ भन्दा ‘सहज’
पूर्वी रुकुमका तीन स्थानीय तहमध्ये यसपटक भूमे गाउँपालिकामा मात्र कांग्रेस–एमालेबीच गठबन्धन निर्माण भएको छ। बाँकी दुई सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै प्रतिस्पर्धामा छन्।
कांग्रेस–एमालेबीच गठबन्धन भएको भूमे गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष एमालेले पाएका छन्। त्यसअनुरुप कांग्रेसबाट भीमबहादुर ओली र एमालेबाट कमानसिंह डाँगीले उम्मेदवारी दर्ता गराएका थिए।
तर, १६ वैशाखमा अध्यक्षका कांग्रेस उम्मेदवार भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिइदिए। कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्षका उम्मेदवार ओलीले उम्मेदवारी फिर्ता लिएपछि मंगोल नेसनल अर्गनाइजेसनका रतन पुन र राष्ट्रिय जनमोर्चाका कमान पुनको उम्मेदवारीका कारण माओवादी केन्द्रका उम्मेदवार होमप्रकाश श्रेष्ठ निर्विरोध अध्यक्ष बन्नबाट रोकिएका छन्।
‘भूमे गाउँपालिकामा हामी निर्विरोध जस्तै भइसकेका छौँ, प्राविधिक कारणलेमात्र निर्विरोध घोषणा नभएको हो’ माओवादी केन्द्र ‘रुकुम पूर्व’ का इञ्चार्ज तेजबहादुर ओलीले भने, ‘भूमे गाउँपालिकाको स्थितिबाटै तपाईंहरुले बुझ्न सक्नुहुन्छ– यो जिल्लामा हामी पहिलेभन्दा पनि मजबुत स्थितिमा छौँ।’
२०७४ को निर्वाचनको मत परिणामलाई आधार मान्दा यसपटकपनि यो गाउँपालिकामा विजय हासिल गर्न माओवादी केन्द्रलाई अप्ठेरो देखिँदैन। २०७४ मा यो गाउँपालिकामा विजयी माओवादी केन्द्रका उम्मेदवार रामसुर बुढाले अध्यक्षमा ३ हजार ४ सय ८२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गञ्जसिंह बुढाले १ हजार ७ सय ७४ मत र एमाले उम्मेदवार ढाटी सुनार (सुवर्णकार) ले ४ सय ४२ मत हासिल गरेकी थिइन्।
अर्थात्, कांग्रेस र एमालेका उम्मेदवारले प्राप्त गरेको कूल मत (२ हजार २ सय १६) भन्दा माओवादी केन्द्रले प्राप्त गरेको मत १ हजार २ सय ६६ बढी थियो। एमालेसँग गठबन्धन गरेका कांग्रेसका उम्मेदवारले नै उम्मेदवारी फिर्ता लिएपछि जनमोर्चा र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारका कारणमात्र माओवादी केन्द्रका श्रेष्ठ निर्विरोध हुनबाट रोकिएका छन्।
पूर्वी रुकुमकै पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्र यसपटक पनि दुई कारणले सहज सहज स्थितिमा देखिन्छ। २०७४ को निर्वाचनमा यहाँ विजयी माओवादी केन्द्र र कांग्रेसका उम्मेदवारबीच ठूलो मतान्तर र अहिले पनि नेपाली कांग्रेस र एमाले अलग–अलग रुपमा माओवादीसँगको प्रतिस्पर्धामा भएकाले माओवादी केन्द्र सहज स्थितिमा रहेको हो।
२०७४ को निर्वाचनमा यहाँ माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार ओमप्रकाश घर्तीले निकटतम प्रतिद्वन्द्वी एमालेका भीममान घर्तीलाई दोब्बर मतले पराजित गरेका थिए। विजयी माओवादी उम्मेदवार ओमप्रकाशले २ हजार ५ सय ५१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका भीउमानले १ हजार २ सय ६३ मत प्राप्त गरेका थिए।
तेस्रो स्थानमा रहेका कांग्रेसका काजीमान घर्तिले प्राप्त गरेको मत १ हजार १ सय १४ थियो।
अहिले पनि यहाँ एमाले र नेपाली कांग्रेस भिन्दाभिन्दै प्रतिस्पर्धामा छन्। माओवादी केन्द्रले यहाँ पुनिराज घर्तीलाई अध्यक्षको प्रत्यासी बनाएको छ। एमालेले बाघलाल बुढा र कांग्रेसले तेजेन्द्र बुढालाई अघि सारेको छ।
अर्काे स्थानीय तह सिस्ने गाउँपालिकामा कांग्रेस–एमालेले यसपटकपनि गठबन्धनमार्फत् सिस्ने गाउँपालिकामा माओवादी केन्द्रसँग प्रतिस्पर्धा गर्दैछन्। यहाँ गठबन्धनबाट अध्यक्षमा कांग्रेसका दत्तबहादुर बस्नेत र उपाध्यक्षमा एमालेका गोपाल रेउले उम्मेदवार छन् भने माओवादी केन्द्रले कृष्ण रेग्मीलाई अध्यक्ष र उपाध्यक्षमा आस्था विकलाई अघि सारेको छ।
बाँकी दुई गाउँपालिका जस्तै यहाँ पनि २०७४ को निर्वाचनको निर्वाचनमा कांग्रेस–एमालेको भन्दा माओवादी केन्द्रका विजयी उम्मेदवारको मतान्तर ठूलो भएकाले माओवादी केन्द्र यहाँ पनि विजयप्रति ढुक्क देखिन्छ।
त्यो निर्वाचनमा माओवादी केन्द्रकी अध्यक्षकी उम्मेदवार कुमारी बराल (गौतम) ले ३ हजार २ सय ९६ मत प्राप्त गरेकी थिइन्। गठबन्धनको तर्फबाट एमालेका नन्दलाल शर्माले २ हजार ४ सय ७१ मत प्राप्त गरेका थिए। कांग्रेस–एमाले गठबन्धनका शर्माले माओवादी केन्द्रकी बरालसँग ८ सय २५ मतान्तरले पराजित भएका थिए।
यो गाउँपालिकामा विजयी माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार गोबर्धन बुढा र पराजित कांग्रेसका उम्मेदवार लक्ष्मीराम घर्तीको मतान्तर अझ बढी थियो। माओवादी केन्द्रका बुढाले ३ हजार ३ सय २६ मत प्राप्त गर्दा कांग्रेसका लक्ष्मीराम घर्तीले २ हजार १ सय ६७ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी बनेका थिए।
अर्थात्, उपाध्यक्षमा विजयी र पराजित बीचको मतान्तर १ हजार १ सय ५९ थियो। अर्थात्, माओवादी केन्द्रबाट अध्यक्षमा विजयी बरालले प्राप्त गरेभन्दा ३ सय ३४ बढी मत प्राप्त गरी उपाध्यक्षमा माओवादीकै बुढा निर्वाचित भएका थिए।
‘२०७४ को स्थानीय तह निर्वाचन हाम्रा लागि नयाँ अनुभव हुँदा पनि यो जिल्ला ‘क्लिन स्वीप’ गरेका हौँ’ माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ओलीले भने, ‘यसपटक हामीसँग निर्वाचनको अनुभव छ, पार्टीले यहाँ राम्रो काम गरेको छ, प्रतिस्पर्धीहरु झन् कमजोर छन्। त्यसैले, यसपटक झन् सहजै ‘क्लिन स्वीप’ गर्छाैं।’
Shares
प्रतिक्रिया