कारोबार


अपर अरुणमा एचआईडीसीएलको लगानी सम्झौता, ५३ अर्ब १४ करोड जुटाउने सहमति

अपर अरुणमा एचआईडीसीएलको लगानी सम्झौता, ५३ अर्ब १४ करोड जुटाउने सहमति

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १९:३०, काठमाडौँ

गेमचेन्जर परियोजना अपर अरुण जलविद्युत् आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लगानी गर्ने सम्झौता भएको छ। 

१०६१ मेगावाटको माथिल्लो अर्धजलाशययुक्त आयोजना निर्माणका लागि लगानी जुटाउन अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र एचआईडीसीएलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड र एचआईडीसीएलबीच बानेश्वरस्थित एभरेष्ट होटलमा सम्झौता भएको हो। 

नेपाल सरकारबाट जलविद्युत् आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको रुपमा घोषित अपर अरुण जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीबाट प्रवर्द्धन तथा विकास भइरहेको छ।

आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन सहुलियत ऋण तथा सेयर लगानीवाट गरिनेछ। हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भइरहेको छ। आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागि ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ। 

यही परिप्रेक्ष्यमा विदेशी वित्तीय संस्थाहरुबाट ऋण लगानी जुटाउन विश्व बैंकको नेतृत्वमा पहल भइरहेको छ। स्वदेशी लगानीतर्फ जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको नेतृत्वको लगानीकर्ताको समूह (कन्सोर्टियम)ले सहवित्तीयकरणमार्फत ५३ अर्ब  १४ करोड लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन अफ रिभर आयोजनाको हालसम्मको अध्ययनअनुसार अरुण नदीमा १८३ मिटर लामो र करिब १०० मिटर उचाइको बाँध निर्माण गरी ८.५ किमि लामो सुरुङ्गमार्फत पानी ल्याई छोंग्राकस्थित भूमिगत जलविद्युत् गृहमा खसालिनेछ। 

आयोजनाबाट वार्षिक करिब ४५१२ जीडब्ल्यूएच अर्थात् ४ अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुनेछ। जसमध्ये करिब ३०५ सुख्खायाममा उत्पादन हुनेछ। उत्पादित विद्युतलाई पावर हाउसदेखि करिब ६ किमिको ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माण गरी हाइटार संखुवासभास्थित सबस्टेसनमा जोडिने योजना रहेको छ। हालसम्मको अध्ययनअनुसार आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) छ। 

सन् २०२४ को अन्त्यतिर सुरु भई सन् २०३० को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्यसम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भइरहेको छ। आयोजनाको पूर्वतयारी कार्यमध्ये आयोजनाको २१ किमि लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भइरहेको छ भने आयोजनाको लागि आवश्यक करिब २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा छ।

आयोजनाबाट करिब २२ घरधूरी भौतिक रुपमा विस्थापित हुनेछन् भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ। पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पूर्वार्धबाट सुरु गर्ने योजना छ।

जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व भाव कायम गरी आन्तरिक पुँजीबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको विकास हेतु सेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत् कार्यक्रम ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’मा समावेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .