ad ad

कारोबार


नेपाल उद्योग परिसंघको अबको अध्यक्ष को?

नेपाल उद्योग परिसंघको अबको अध्यक्ष को?

उद्योग परिसंघका भावी अध्यक्षका आकांक्षीहरु।


दीपक भट्ट
साउन २२, २०७९ आइतबार ६:५५, काठमाडौँ

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था छ। हालका अध्यक्ष विष्णु अग्रवाल पनि वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष चयन भएका हुन्। 

सोहीअनुसार यो वर्ष नेपाल उद्योग परिसंघले नयाँ अध्यक्ष चयन गर्दै छ। त्यसको लागि सातै जना उपाध्यक्षहरु दाबेदार हुन्। विष्णु अग्रवाल अध्यक्ष भएपछि परिसंघले ७ जना उपाध्यक्ष चयन गरेको थियो। 

तिनै ७ जनामध्ये परिसंघले एक जनालाई भावी अध्यक्ष निर्वाचित गर्नेछ। परिसंघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ। आपसी समझदारीमा नै नयाँ नेतृत्व चयन हुन्छ। तर पनि परिसंघले नयाँ नेतृत्व चयन गर्ने आफ्नो विधि पद्धति भने बनाएको छ। 

यसको छनौट गभर्निङ काउन्सिलले गर्छ। परिसंघमा रहेको गभर्निङ काउन्सिलले नै मूल्यांकन गरेर नयाँ नेतृत्वको जिम्मेवारी समेत तोक्ने गर्छ। गत वर्ष साउनमा पनि परिसंघको विधानअनुसार नै गभर्निङ काउन्सिलले ७ जना उपाध्यक्ष चयन गरेको थियो। 

सोअनुसार निर्वाण चौधरी (सीजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह (राज ब्रुअरी), हेमराज ढकाल (चन्द्रागिरि हिल्स) र रोहित गुप्ता (लक्की नेपाल) परिसंघको उपाध्यक्ष चयन भएका थिए। परिसंघको विधानअनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत समूहबाट उनीहरू उपाध्यक्ष भएका हुन्। 

परिसंघको विधानमा भएको व्यवस्थाअनुसार राष्ट्रिय परिषद्का सदस्यहरूमध्ये उपाध्यक्षहरू चयन हुनुपर्छ। अब बस्ने गभर्निङ काउन्सिलको बैठकले यी ७ जनाको मूल्याङ्कन गरेर नयाँ नेतृत्व चयन गर्नेछ। 

परिसंघको सचिवालयले सबैको मूल्याङ्कन रिपोर्ट गभर्निङ काउन्सिललाई दिन्छ। उक्त रिपोर्टको आधारमा काउन्सिलले आवश्यक निर्णय लिन्छ र सो सर्वमान्य हुने व्यवस्था छ। 

मुख्य आकांक्षी को?
विधि र पद्धतिबाट चयन हुने भए पनि परिसंघको नयाँ नेतृत्वको लागि तयार रहेर बस्नेको लागि निर्वाण चौधरी र कृष्णप्रसाद अधिकारी मुख्य आकांक्षी देखिएका छन्। उनीहरुले परिसंघभित्रै नयाँ नेतृत्ववको लागि तयार रहेको बताउँदै आएका छन्। 

सोहीअनुसारको सचिवालयले बनाउने रिपोर्टमा समेत उनीहरुले आफ्नो कुराहरु राख्दै आएका छन्। यसको संस्थापक अध्यक्ष विनोद चौधरी रहेकोले नयाँ नेतृत्व चयनको लागि उनको भूमिका समेत महत्वपूर्ण हुन्छ।

परिसंघले आफूलाई कस्तो संस्था ठान्छ?
यो संगठन नेपालको औद्योगिक र कर्पोरेट क्षेत्रका नेतृत्वकर्ताहरुद्वारा १७ अप्रिल २००२ मा स्थापना भएको हो। व्यवसायीहरूमा केन्द्रित रहेको र आजको अर्थतन्त्रको महत्वपूर्ण नेतृत्वकर्ताहरु यसमा संलग्न रहेको परिसंघले बताउँदै आएको छ। 

यसमा सबै क्षेत्रका व्यवसायहरू (स्थानीय वा विदेशी लगानीसहित) समावेश रहेका छन्। भूगोलका साथै उत्पादन, पर्यटन, वित्तीय सेवा, निर्यात, पूर्वाधार, स्वास्थ्य वा शिक्षाजस्ता व्यवसायको प्रकृति, देशको व्यावसायिक समुदायमा धेरै सम्भावना रहेका नेपालका उद्योगपतिहरूको सर्वोच्च निकाय, नेपाल उद्योग परिसंघ हो। 

परिसंघले आफ्नो स्थापनाकालदेखि नै आर्थिक अवस्थाको अस्थिरता, वित्तीय क्षेत्रमा सुधारको आवश्यकता, निजी क्षेत्रको क्षमता अभिवृद्धि, विकास एजेन्डामा निजी क्षेत्रको पहललाई सुव्यवस्थित बनाउने, अर्थतन्त्र वृद्धिमा जानको लागि देखिएको समस्या र व्यापार प्रतिस्पर्धामा आधारित औद्योगीकरणजस्ता विषय उठाउँदै आएको छ । यो एक संस्था हो जसले अन्य संस्थाहरूसँग समन्वय गरी काम गर्दै आएको परिसंघको दाबी छ।

संस्थाले भारत, थाइल्यान्ड, मलेसिया, आदिजस्ता विभिन्न विकासोन्मुख देशहरूमा धेरै संस्थाहरूको संलग्नतामा काम गरेको छ। त्यसका साथै  कन्फेडेरेसनको विकासमा विशेषज्ञताका साथै द्विपक्षीय सहयोगको आशा राख्ने गरेको समेत परिसंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .