ad ad

कारोबार


इन्दु शंकर चिनी उद्योगले किसानको खातामा पठायो १ अर्ब ३१ करोड

७१ दिनमा साढे २६ लाख क्विन्टल उखु क्रसिङ, २ लाख २५ हजार क्विन्टल चिनी उत्पादन
इन्दु शंकर चिनी उद्योगले किसानको खातामा पठायो १ अर्ब ३१ करोड

नेपालखबर
फागुन १७, २०८० बिहिबार १३:५३, काठमाडौँ

सर्लाहीको इन्दु शंकर चिनी उद्योगले चालु सिजनमा उखु किसानलाई १ अर्ब ३१ करोड रुपैयाँ भन्दा धरै भुक्तानी गरेको छ। 

गएको पुस ६ गतेदेखि सञ्चालनमा आएको इन्दु शंकरले बिहीबार बिहानसम्म किसानलाई १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको हो। 

‘अझै हाम्रो १५ करोड रुपैयाँ पाइपलाइनमा छ,’ उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपालले नेपालखबरसँग भने, ‘अबको केही दिनमै त्यो १५ करोड रुपैयाँ पनि हामी किसानको खतामा पठाउँने छौँ।’

गत वर्षसम्म भुक्तानीमा ढिलाई गर्दै आएको इन्दु शंकरले यस वर्ष उखु काँटा गरेको एक सातामै किसानको खातामा सबै भुक्तानी पठाउन थालेको छ। 

यस वर्ष उखुको मूल्य (सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसहित) ६३५ रुपैयाँ निर्धारण भएको छ। सरकारले दिने अनुदानको ७० रुपैयाँ किसानले कहिले पाउँछन्, ठेगान छैन। तर, चिनी उद्योगले भने किसानलाई प्रतिक्विन्टल ५६५ रुपैयाँ सहज ढंगले तुरुन्तै भुक्तानी दिइरहेका छन्। 

सञ्चालमा आएको ७१ दिनको अवधिमा इन्दु शंकरले २६ लाख ४२ हजार १ सय क्विन्टल उखु क्रसिङ गरेको छ। यस वर्ष इन्दु शंकरले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। 

‘हामीले यो सिजनको आजसम्म साढे २६ लाख क्विन्टल उखु क्रसिङ गरेर २ लाख २५ हजार क्विन्टल भन्दा धेरै चिनी उत्पादन गरेका छौँ,’ नेपालले भने, ‘यस वर्ष गत वर्षभन्दा उखु क्रसिङ र चिनी उत्पादन पनि बढ्ने अनुमान छ।’

उनले यस वर्ष गत वर्षभन्दा २/४ लाख क्विन्टल बढी नै उखु क्रसिङ गर्ने सम्भावन रहेको बताए। उनले उखुको प्रतिलब्धी (चिनी उत्पादकत्व क्षमता) ८.७ प्रतिशत रहेको जानकारी दिए। 

गत वर्ष उखु अभाव हुँदा इन्दु शंकरले २८ लाख २० हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो। यस वर्ष उद्योगलाई गत वर्षजस्तो उखु अभाव नहुने नेपालले बताए।

‘हाम्रो उद्योग अझै झण्डै ३ साता चल्ने सम्भावना छ,’ उनले भने, ‘जिल्ला बाहिरका उद्योगले अस्वस्थ प्रतिस्पर्धा गरेर यताको उखु नतान्ने हो भने त हामीलाई लक्ष्यअनुसार उखु क्रसिङ गर्न कुनै समस्या छैन।’

तर, महोत्तरी र रौतहटका उद्योगले सर्लाहीको उखु तान्ने अस्वस्थ प्रतिस्पर्धा गरेकाले आफूहरुलाई पनि चुनौति सिर्जना भएको उनले बताए। 

उनले इन्दु शंकरले उखुको उत्पादकत्व वृद्धिको लागि अनुदान दिएका सर्लाहीका किसानको उखु पनि बाहिरी जिल्लाका उद्योगले लगिरहेको गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .