नेपाल उद्योग वाणिज्य माहासंघका अध्यक्ष शेखर गोल्छाले अधिकांश माग सम्बोधन भएको बताएका छन्।
उनले स्टार्टअप व्यापारलाई प्रोत्साहन गर्ने खालको बजेट आएको प्रतिक्रिया दिएका छन्।
‘उद्योगी प्रेमी, लगानीलाई प्रोत्साहन गर्ने खालको बजेट आएको छ,’ गोल्छाले भने, ‘पेट्रोलमा भ्याट फिर्ता ल्याउन पाइने भएको छ।’
विद्युतीय गाडी र सामग्री बढाउने खालको बजेट भएको उनले बताए। उद्योगलाई सहुलियत दिने कुराले निरन्तरता पाएको उनले बताए।
कार्यान्वयन पक्ष जहिले चुनौतीपूर्ण रहेको भन्दै उनले धेरै बजेट खर्च गर्न नसक्ने हाम्रो समस्या रहेको टिप्पणी गरे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बजेटमा निजी क्षेत्रका सुझाव समेटिएको बताउँछन्।
असजिलो परिस्थितमा आएको बजेटमा जनस्वास्थ्यका कार्यक्रम राम्रा रहेको उनले प्रतिक्रिया दिए। कोरोनाबाट अति प्रभावित क्षेत्रका लागि ल्याइएका प्याकेज सकारात्मक भएको उनको टिप्पणी छ।
पर्यटन क्षेत्रका विषय सकारात्मक भएको उनले बताए। आन्तरिक पर्यटनका लागि कर्मचारीलाई काज दिने विषय राम्रो भएको उनकाे भनाइ छ।
पर्यटकलाई १ महिनाका लागि भिसा शुल्क फ्रि गर्दा त्यसले सकारात्मक प्रभाव पार्ने उनकाे विश्वास छ।
पर्यटनलाई उत्पादनशील क्षेत्र, संरक्षित क्षेत्रमा पर्यटन पूर्वाधार बनाउने विषय बजेटमा समेटिनुले यसको प्रवर्द्धनमा मद्दत गर्ने ढकालले बताए।
उनका अनुसार बजेट कार्यान्वयनको विषय प्रमुख हाे। बजेटबारे महासंघले संस्थागत धारणा पनि सार्वजनिक गर्ने उनले जानकारी दिए।
बजेटले निर्यातलाई प्राथमिकता दिएको उनले बताए। अति प्रभावित क्षेत्रलाई बजेटले केही आसा जगाएको उनकाे भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जान श्रेष्ठले बजेटबाट आफूहरु उत्साहित नै भएको बताए। बजेटमा नेपाल उद्योग वाणिज्य महासंघले दिएका धेरै सुझाव बजेटमा समेटेको उनकाे प्रतिक्रिया छ।
विद्युत शुल्कमा छुट, औद्योगिक विकास क्षेत्रमा मेड इन नेपाललाई प्रोत्साहन, निर्यात उद्योगलाई प्रवर्द्धन गर्ने कार्यक्रम रहेको उनले बताए।
स्थानीय क्षेत्रमा औद्योगिक ग्राम बनाउन ध्यान दिएको, इकमर्स क्षेत्रलाई प्रोत्साहन, वातावारण प्रभावित हुनेबाहेक अन्य क्षेत्रमा ईआईए गर्न नपर्ने व्यवस्था राम्रो रहेको उनकाे भनाइ छ।
महासंघले उठाउँदै आएको स्टार्टपलाई २५ लाखसम्म दिने व्यवस्थाले आफूहरु उत्साहित भएको उनले सुनाए।
उनका अनुसार सेज उद्योगमा भएकाले ४० प्रतिशत नेपाली बजारमै पाउने व्यवस्था राम्रो गरेको छ।
पलास्टिक उद्योग ४० माइक्रोभन्दा कम उत्पादन गर्न नपाउने विषय र काठमाडौंका बाहिर उद्योग लैजाने भन्ने विषयमा छलफल आवश्यक भएको उनले बताए।
नाडा अटो मोबाइल्स संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले विद्युतीय सवारीसाधन एसेम्बलका लागि छुट दिने व्यवस्था उपयुक्त रहेको बताए। पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने विषय पनि राम्रो रहेको उनले बताए।
बजेट राम्रो भए पनि अध्यादेशबाट आएकाले के हुन्छ भन्ने अन्याेल भने रहेको उनले बताए। बजेटमा समग्र क्षेत्रलाई समेट्ने प्रयास गरिए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनकाे टिप्पणी छ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बजेट वितरणमुखी रहेको प्रतिक्रिया दिए। सरकारले लोकप्रियता रिकभरी गर्न बजेटमार्फत मलमपट्टी गर्न खोजेको उनको टिप्पणी छ।
बजेट धेरै वितरणमुखी हुँदा अर्को सरकारलाई समेत यसले असर गर्ने उनको भनाइ छ। प्रतिकूल अवस्थामा १० खर्बभन्दा बढी राजस्व उठाउने लक्ष्य राख्नु कल्पना मात्र भएको उनकाे टिप्पणी छ।
थप ५ खर्ब ऋणले मूल्य वृद्धि हुने र नागरिकलाई थप भार पार्ने काम बजेटले गरेको उनले बताए। बजेट कार्यान्वयन हुन सक्ने अवस्था नरहेको उनकाे टिप्पणी छ।
संसद् पुन:स्थापना भए नयाँ बजेट आउन सक्ने उनकाे दाबी छ। यो बजेट कार्यान्वयन गर्ने हिसाबले भन्दा पनि लोकप्रियता बटुल्न ल्याइएको उनको टिप्पणी छ।
प्रतिक्रिया