ad ad

कारोबार


के विद्युत् प्राधिकरणको कमान सम्हाल्न शाक्य आउँदै छन्?

के विद्युत् प्राधिकरणको कमान सम्हाल्न शाक्य आउँदै छन्?

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ११:३५,

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति पाउने सम्भावना बढेको छ।

१२औँ तहका शाक्यलाई हाल कामु प्रमुख बनाउने तयारी भइरहेको हो। कुलमान घिसिङको बहिर्गमन हुनेबित्तिकै प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई कायममुकायमको जिम्मा दिइएको थियो।

तर प्राधिकरणमा कोइरालाभन्दा शाक्य वरिष्ठ हुन्। इन्जिनियरिङ कम्पनीको प्रबन्धसञ्चालक रहेका उनलाई अहिले प्राधिकरणमा नै तानिएको छ। प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष समेत रहेका उर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शाक्यलाई प्राधिकरणमै ल्याउने निर्णय गरेको हो।

तत्कालै कामुको जिम्मेवारी दिन उनलाई प्राधिकरणमै ल्याइएको स्रोतको दाबी छ। त्यसो त आफूले कामुको जिम्मेवारी पाउनु स्वाभाविक भएको शाक्य स्वयं बताउँछन्।

उनले भने, ‘सिनियर हुनुको नाताले कामुको जिम्मेवारी दिइनु कुनै नौलो कुरा त होइन। तर यसबारे मलाई कुनै जानकारी आएको छैन।’

उनलाई सुरुमा कामुको जिम्मेवारी दिइने र पछि मन्त्रिपरिषदबाट प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा सुम्पिन लागिएको बताइन्छ।

प्राधिकरणमा कुलमान घिसिङलाई नै दोहोर्याउन सार्वजनिक दबाब सिर्जना भए पनि सरकारले उनलाई दोहोर्याएन। तर अहिले इन्जिनियरिङ कम्पनीबाट प्राधिकरणमा शाक्यलाई ल्याएर कामुको जिम्मेवारी दिइन खोज्नुले उनलाई नै कार्यकारी प्रमुखमा नियुक्त गर्न खोजिएको संकेत दिएको छ।

यता शाक्य भने यी कुराहरु आफूले सोच्दैमा नहुने बताउँछन्।

उनले नेपालखबरसँग भने, ‘यस्तो कुरा मैले मात्रै सोचेर हुने विषय होइन। मन्त्रिपरिषदले गर्नुपर्ने निर्णय हो। सरकारले उचित व्यक्तिको छनोट गर्ला नै।’

प्राधिकरण सरकारको एक संस्थान हो। रिक्त रहेको कार्यकारी निर्देशक पदमा सरकारले आफूलाई उचित लागेको र योग्यता पुगेको व्यक्तिलाई नियुक्ति दिन सक्छ। तर कुलमान घिसिङको पालामा लोडसेडिङको अन्त्य भएपछि यो संस्थानको अबको कार्यकारी निर्देशकलाई सबैले चासोको रुपमा हेर्दै आएका छन्।

कुलमान कार्यकारी निर्देशकमा आएको करिब दुई महिना अवधिमा नै नेपालमा लोडसेडिङ अन्त्य भएको थियो। बिजुली नहुँदा मारमा परेका सर्वसाधारणले त्यही भएर कुलमानलाई नै पुनः नियुक्त गर्न सार्वजनिक रुपमा आग्रह गर्दै आएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .