ad ad

कारोबार


छिचोलिने सँघारमा ४ सुरुङ, सोमबार पहिलो ‘ब्रेक थ्रु’ नागढुंगाबाट

छिचोलिने सँघारमा ४ सुरुङ, सोमबार पहिलो ‘ब्रेक थ्रु’ नागढुंगाबाट

नेपालखबर
बैशाख २, २०८१ आइतबार १८:२५, काठमाडौँ

नेपालको पहिलो सुरुङमार्ग सोमबार छिचोलिँदै छ। 

काठमाडौं उपत्यका जोड्ने मुख्य सडकको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनलागेको हो।

जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्।

त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो हुनेछ। 

धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने गरी निर्माण भइरहेको सुरुङमार्ग सोमबार दिउँसो साढे १२ बजे छेडिनलागेको हो। 

‘सोमबार सुरुङमार्गको ब्रेक थ्रु हुँदै छ,’ नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख नविनमान श्रेष्ठले भने, ‘दिउँसो औपचारिक रुपमा ब्रेक थ्रु गर्ने कार्यक्रम छ।’

नागढुंगा सुरुङ

काठमाडौं उपत्यका जोड्ने २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ। 

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ।
सुरुङमार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले सुरुङमार्ग ब्रेक थ्रू भए पनि केही जग्गाका समस्या कायम रहेको बताए। 

‘बलम्बुमा फ्लाई ओभरको जग्गा मुआब्जा र सिस्नेखोलातर्फ रिफ्रेसिङ सेन्टर निर्माणमा जग्गाको काम बाँकी छ’, अधिकारीले भने, ‘सुरुङमार्गमा कंक्रिटको काम सकिएपछि बल्ल गाडी गुड्छन्।’

नागढुंगा सुरुङमार्ग छेडिँदा करिब ५ किलोमिटर छोटो हुने सडक विभागले जनाएको छ। 

नागढुंगा सुरुङ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। २२ अर्बको आयोजना शिलान्यास गर्दा पनि भौतिक पूर्वाधारमन्त्री महासेठ नै थिए।

जापानी कम्पनी हाजमा अन्दो कर्पोरेसनले यसको निर्माण गरिरहेका छन्। यसबाट नेपाली इन्जिनियरले समेत प्राविधिक ज्ञान पाएका छन्।

आयोजनाले अब छोटा सुरुङमार्ग नेपाल आफैँले बनाउन सक्ने दाबी गरेको छ।

नेपालको भौगलिक अवस्थाअनुसार धेरै सडकमा सुरुङमार्ग उपयुक्त हुने देखिएको छ। तर स्रोत बढी लाग्ने भएकाले सडक विभागले अध्ययन गरे पनि निर्माण सुरु गर्नसकेको छैन। 

सडक विभागले ७ ठाउँमा यसको सम्भाव्यता अध्ययन सकेको छ भने ११ वटा नयाँ सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिरहेको छ।

काठमाडौं तराई द्रुतमार्ग

कात्तिकसम्म ४ सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुँदै
नागढुंगासँगै २०८१ मै थप ३ वटा सडकमार्गका सुरुङ छिचोलिँदै छन्। निर्माणाधीन द्रुतमार्गमा कुल ६ सुरुङ छन्। यीमध्ये ३ वटा सुरुङमार्ग आगामी कात्तिकसम्म ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको छ। 

काठमाडौंतर्फका १ किमिको देवीचौर, ०.३९ किमिको सिसौटार, २.२५ किमिको चन्द्राम भीर सुरुङ ठेक्का लागेका छन्।   

निर्माण भइरहेकामध्ये महादेवडाँडा सुरुङ ३.३५ किमि कात्तिकसम्म सक्ने लक्ष्य छ। १.६३ किलोमिटरको धेन्द्रे सुरुङमार्ग र मधेशतर्फको अन्तिम सुरुङ १.४३ किलोमिटर लम्बाइको लेनडाँडामा सुरुङमार्ग ब्रेक थ्रु हुने अन्तिम चरणमा छन्। 

बुटवलबाट पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग पनि धमाधम निर्माण भइरहेको छ। सडकमा हरेक वर्ष पहिरोले सडक अवरुद्ध गर्ने र यात्रुको ज्यान समेत जाने गरेपछि रुपन्देही र पाल्पाको सीमामा सुरुङमार्ग बनाउनलागिएको हो। 

१.१२ मिटर लामो यो सुरुङमार्ग ईपीसी (डिजाइन गरी आफैँ निर्माण गर्ने) मोडलमा बनिरहेको छ। यो कुल ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लागेको छ। 

नेपालमा सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले सुरुङमार्गको अध्ययन गरिरहेको छ।

सिद्धबाबा सुरुङ

केन्द्रका निर्देशक नरेशमान शाक्य पहिले नेपालमा पहुँच पुर्‍याउने उद्देश्यले मात्रै सडक निर्माण गरिएको बताउँछन्। जसका कारण घुमाउरा, ग्रेड नमिलेका (उकालो ओरालो बढी) र मोड नमिलेका सडक निर्माण भएको उनको भनाइ छ। 

‘सडक विभागसँग पुल बनाउने क्षमता थिएन। एउटा पुल घटाउन २५ किलोमिटर लामो बाटो बनाउँथ्यौैं’, सुपरिटेन्डेन्ट इन्जिनियर शाक्य भन्छन्, ‘अहिले सवारीसाधन बढी गुड्न थाले। दुर्घटना बढ्दै गएपछि हाम्रा पूर्वाधार संरचना बनाउने शैली नै परिवर्तन गर्न लागेका छौँ।’
डिजाइन नै १२ महिनै सञ्चालन भइराख्ने गरी हुने उनी बताउँछन्। 

‘अहिले विस्तार भइरहेका सडकमा घुमाउरो बाटो छ भने सिधा बनाउँदै दूरी छोट्याउने गरिरहेका छौ’, शाक्य थप्छन्, ‘पहिलाको तुलनामा हाम्रो क्षमता बढेको छ। घुमाउरो बाटोमा पुल हालेर छोट्याउने काम गरेका छौँ।’

काठमाडौं उपत्यकाभित्रै ट्राफिक सहज बनाउन बलम्बु, ग्वार्को, कोटेश्वर, बानेश्वरमा समेत फ्लाई ओभर र अन्डरपासका योजना तयार भइरहेका छन्। ग्वार्कोमा ठेक्का लागी निर्माण भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .