ad ad

कारोबार


तीन साथीले थालेको स्किल सेवा, मासिक गर्दै छ ४० लाखको कारोबार

तीन साथीले थालेको स्किल सेवा, मासिक गर्दै छ ४० लाखको कारोबार

स्किल सेवाका सहसंस्थापक रमेश तिमिल्सिना। तस्बिर : विक्रम राई


वसन्त अर्याल
बैशाख ३, २०७९ शनिबार ७:१९, काठमाडौँ

सँगसँगै इन्जिनियरिङ पढेका रमेश तिमिल्सिना र रामशरण विक्रम थापालाई पढाइपछि जागिर खाने रुचि नै थिएन। 

यी सहपाठीद्वयलाई बरु आफैँ केही गर्नुपर्छ भन्ने लागिरहेको थियो। त्यो ‘केही गर्न’लाई लगानी गर्नैपर्थ्यो जुन उनीहरुसँग थिएन। 

पुँजी अभावले पिरोले पनि उनीहरु यसमा दत्तचित्त भए। थुप्रै विषयमा ‘रिसर्च’ गरे। धेरै मनमथिंगलपछि सेवा क्षेत्रबाट काम गर्न सकिने निष्कर्ष निक्लियो। साथै अर्का साथी पनि जोडिए– महेश तिमिल्सिना। 

त्यसपछि उनीहरुको सोचले ‘स्किल सेवा’को आकार लियो र सुरु भयो तीन युवाको पौरख। 

स्किल सेवा ‘स्टार्टअप’को रुपमा सुरु भएको थियो। सुरुवाती ६–७ महिना सिक्दैमा बिताएका उनीहरुले १ वर्षपछि मात्रै कसरी अघि बढ्ने भेउ पाए।

सर्भिस सेक्टर अर्थात् सेवा क्षेत्र भएकाले धेरै लगानी गर्नुपरेन। एक जनाले करिब डेढ लाख रुपैयाँ लगानी गरे। आफ्नै परिवार र साथीभाइबाट काम सुरु गर्दा थप लगानी बढाउनु परेन। रोटेसनमै काम चल्यो। 

स्किल सेवा अर्थात् घरका डाक्टर!
करिब ४ वर्षअघि स्टार्टअपको रुपमा स्थापना भएको स्किल सेवा ‘घरको डाक्टर’को रुपमा परिचित छ। 

घर बन्नुअघि र बनेपछि आउने समस्या समाधानमा सेवा दिने भएकाले यसलाई घरका डाक्टर भनिएको हो। तिमिल्सिनाको टिमले इन्जिनियरिङ र ‘इन्स्पेक्सन’सहितको सेवा दिन्छ। उनीहरू आफैँ घर बनाउँदैनन् तर बनिरहेका घरको सुपरभिजन अर्थात् निरीक्षण सेवा दिन्छन्।

स्किल सेवा सुरु गर्दा उनीहरुले समस्या मात्रै औँल्याइदिन्थे। २ वर्षपछि रिपेयरको काम गर्नथाले। 

‘घर बनाउँदै गर्दा ठेकेदारलाई के–के जिम्मा दिने, कस्ता निर्माण सामग्री प्रयोग गर्ने भन्ने विषयमा सल्लाह दिन्छौँ’, कम्पनीको सेवाबारे सहसंस्थापक रमेश तिमिल्सिना भन्छन्, ‘ठेकेदारले गरिरहेको काम ठीक छ कि छैन भन्ने निरीक्षण पनि गर्छौँ।’

त्यसो गर्दा कुनै समस्या भेटिए सुधार्न लगाउने उनले बताए। 

घरमा मुख्य संरचनाबाहेक वाइरिङ, प्लम्बिङ, रंगरोगनलगायत कुराले पछि समस्या पार्न सक्छ। कुनै एकमा समस्या आउँदा पूरै घरमा जोखिम हुनसक्छ। 

उनका अनुसार घरको समस्या पत्ता लगाउन स्किल सेवाले विभिन्न प्रविधिको प्रयोग गर्छ। हस्पिटलमा बिरामीलाई चेक गरेपछि रिपोर्ट आएपछि उपचार भएजस्तै घरमा पनि उनीहरूले घरधनीलाई रिपोर्ट दिन्छन्। त्यसमा कति लागत लाग्छ खुलाइदिन्छन्। 

फरक ढंगको काम 
नेपालमा घर मर्मतको काम परम्परागत रुपमा हुँदै आएको थियो। स्किल सेवाले भने फरक ढंगले काम गरिरहेको उनीहरु बताउँछन्। 

हुन पनि स्किल सेवाका इन्जिनियर र ओभरसिअर साइटमै पुग्छन्, मान्छे हेरेर शुल्क तोक्दैनन्, समस्या हेरेर लागत भनिदिन्छन्। 

पछिल्लो समय मानिसहरुले पनि ‘रिपेयर’ मात्रै नभई ‘रेनोभेसन’ समेत गर्दै आएका छन्, उनीहरू कोठाकै डिजाइन परिवर्तन गर्न खोज्छन्। रुम, किचन, वासरुमलाई अझ सुधार गराउँछन्।  

तिमिल्सिनाका अनुसार निर्माण सामग्रीको कारण १ प्रतिशत समस्या देखिने गरेको छ भने अर्कोचाहिँ ठेकेदारमा पनि समस्या देखिएको छ। 

त्यसकारण निर्माण सामग्री गुणस्तरीय मात्रै भएर नहुने र घर बन्ने प्रक्रिया ठीक समयमा ठीक हुनुपर्ने उनीहरुको भनाइ छ। 

स्किलसेवाले मोइस्चर मिटर, थर्मल क्यामेरालगायतका इन्स्ट्रुमेन्ट प्रयोग गर्दै समस्याको समाधान गरिरहेको छ। स्किल सेवाले आफ्नो सम्पर्कमा आएका ९९ प्रतिशत घरमा समस्या समाधान गरेको तिमिल्सिनाको दाबी छ। 

निजी घरको मुख्य समस्या ‘सीपेज’
नेपालमा घर बनाउँदै गर्दा धेरै ध्यान नदिने तर बनिसकेर केही समस्या आएपछि आत्तिने समस्या छ। अधिकांशले आफ्नो जीवनभरिको कमाइ घरमा लगाउने भएकाले चिन्तित नहुने कुरा नै भएन। तर घरको विषयमा प्राविधिक ज्ञान कम हुँदा समस्या देखिने गरेको छ। 

घर बनाउँदा महंगोमा सिमेन्ट, डन्डी र इँट्टा किन्न तयार नेपालीहरू पछि आउने समस्यालाई नजरअन्दाज गर्छन्। ठेकेदार सस्तो खोज्ने प्रवृत्ति छ। 

निर्माण सामग्री गुणस्तरको प्रयोग गरे पनि कमसल ठेकेदारलाई जिम्मा दिँदा धेरै समस्या आउने गरेको उनीहरूको अनुभव छ।  लेबरको रुपमा एक÷दुई वर्षमै ठेकेदारले बनाएका घरमा बढी समस्या आउने गरेको छ। 

‘घर बनाउँदै जाँदा इन्जिनियर वा ओभरसिअर पढेको ठेकेदार रहेछ भने उतिबेलै बनाउँछ’, तिमिल्सिना भन्छन्, ‘निर्माण काम सुरु गरेको २–३ वर्षमै ठेकेदार बनेकाले समस्या समाधानभन्दा लुकाउन खोज्ने कुराले पछि समस्या देखिएका छन्।’

नेपालमा सबैभन्दा धेरै समस्या सीपेजसम्बन्धी छ। यो भनेको ढलानमा पानी रसाउने समस्या हो। विभिन्न तह पार गरी बनाएको हुनाले कमर्सियल घरमा भने यस्ता समस्या नदेखिने उनले बताए। 

उनीहरुका अनुसार वाल र सिलिङमा हुने सीपेजमा धेरै फरक छ। डण्डीमा पानी पर्दा पछि समस्या पर्छ। १० गुणा ठूलो समस्या यही नै छ। 

‘एउटै कोठामा देखिने समस्याको पनि फरक फरक जोखिम हुन्छ। भित्तामा हुने र सिलिङमा हुने १० गुणा बढी समस्या हो’, उनले भने। 

सीपेजमा टप फ्लोर र कौसीमा सीपेजसम्बन्धी समस्या आउँछ। अर्कोचाहिँ घरको एउटा रिपेयर गर्दा अर्को समस्या आउँछ। त्यस्तै घरमा पहिला अर्को कलर लगाएको हुन्छ, नबुझी त्यसैमाथि अर्को रंग लगाउँदा पनि समस्या देखिने उनको भनाइ छ। 

तिमिल्सिनाले भने, ‘व्यावसायिक भवन बनाउँदै गर्दा ‘ट्रिटमेन्ट र टेस्ट’ गर्ने भन्ने नियमपालना गरेका हुन्छन्। तर निजी घरमा नियम पालना नहुँदा धेरै समस्या आउने गरेका छन्।’ 

स्किल सेवाले निजी घरमा आफूलाई केन्द्रित गरेको उनले बताए। उनका अनुसार ९० प्रतिशत आवासीय घर र १० प्रतिशत व्यावसायिक भवनलाई सेवा दिइरहेको छ। 

‘रेसिडेन्टमा इन्जिनियरले नक्सा बनाइदिएको हुन्छ। ठेकेदारले काम गर्छ। प्राविधिक विज्ञबाट चेक जाँच गराउँदैनन्’, उनले थपे, ‘कमर्सियल भवनमा समस्या कम आउँछ। यिनमा चेक एन्ड ब्यालेन्स हुन्छ तर रेसिडेन्सियल घरमा हुँदैन।’ 

२५ सय घरमा सेवा प्रदान 
विकसित देशमा २ दशकअघि नै ‘इन्स्पेक्सन’सम्बन्धी डिजिटल रुपमै काम हुँदै आएका थिए। नेपालमा भने अझै पनि यो नौलो नै छ।  

सुरुमा घरमा देखिने समस्या औँल्याइदिने गरेका उनीहरुले त्यसपछि इन्स्पेक्सनको काम गरेका थिए। समस्याको समाधान गर्न सुझाउने उनीहरु अहिले आफैँ गर्नथालेका छन्। ग्राहकले नै आग्रह गर्नथालेपछि रेनोभेसनको काम पनि स्किलसेवाले नै गरिरहेको उनी बताउँछन्। 

‘अहिले इन्स्पेक्सन (निरीक्षण) गरेको घरेको रेनोभेसन (मर्मतसम्भार) हामीबाटै गराउनुपर्छ भन्ने छैन। इन्जिनियरहरूले समस्या र समाधानका उपायसहित कति खर्च लाग्ने रिपोर्ट दिन्छन्’, उनले भने, ‘रेनोभेसन गर्ने भए कम्तीमा ५ वर्षको वारेन्टी दिएर काम गर्छन्।’ 

अहिले दिनमा १० वटा घरको इन्स्पेक्सनको काम गर्न सकिएको उनको भनाइ छ।   

‘हामीले भिजिटकै न्यूनतम शुल्क तोकेका छौँ। हामीसँगै काम गर्न चाहे ठीकै छ नभए अरुलाई काम दिन सक्छन्’, उनले सुनाए, ‘सीपेजको लागि कम्तीमा २ हजार रुपैयाँ लिन्छौँ। संरचनागत (स्ट्रक्चरल) समस्या देखिए १० हजार परामर्श शुल्क लिन्छौँ।’

उनका अनुसार हालसम्म २५ सय घरमा स्किल सेवाले परामर्श र सेवा प्रदान गरेको छ। कम्पनीमा अहिले ३० जनाले प्रत्यक्ष रुपमा काम गरिरहेका छन् भने साइटमा काम गर्न १५० जना कामदार छन्। उनीहरूले स्किल सेवामार्फत अर्धदक्ष कामदारलाई दक्ष पनि बनाइरहेका छन्। 

मासिक ४० लाख बढी कारोबार 
सृजनशील सोचबाट जन्मिएको स्किल सेवा अहिले मासिक ४० लाख बढी कारोबार गर्ने भएको छ। 

उनीहरुका अनुसार स्किल सेवाले अहिले काठमाडौंमा काम गरिरहेको छ। काठमाडौंबाहिर जाने तयारी छ। अबको २ महिनामा पोखरामा सेवा विस्तार हुनलागेको कम्पनीका तिमिल्सिनाले बताए। 

उनीहरू यसलाई धेरैमाझ पुर्याउन चाहन्छन्। त्यसको लागि टिकटकलगायतका सामाजिक सञ्जाल र मल्टिमिडियाको भरपूर प्रयोग गरिरहेका छन्। स्किल सेवाको मुख्य काम नै घरहरुमा देखिएका विभिन्न समस्याको समाधान गर्नु हो। 

हाल उनीहरुले घरको समस्या समाधान गर्ने आफ्नै कोड बनाएका छन्। अब छिट्टै आफ्नै सफ्टवेर विकास गर्दै छन्। केही महिनामै ‘वान डे पेन्टिङ’को योजना पनि सुरु गर्दै छन्।  

‘एउटा घर १ दिनमै रि–पेन्टिङ गर्ने योजना अघि बढाएका छौँ’, तिमिल्सिनाले भने, ‘३५–४० जनाले नियमित काम पाउन सक्छन्।’

अहिलेसम्म पनि नेपालबाट दैनिक सयौँ कामदार खाडीमा जान्छन्। त्यहाँ गएर भौतिक संरचना निर्माणदेखि सरसफाइजन्य क्षेत्रमा काम गर्छन्। 

कामको खोजीमा जानेको बदलामा नेपालले रेमिट्यान्स भित्र्याउँदै आएको छ। 

नेपाली कम्पनीमार्फत विदेशमा परामर्श वा ठेक्का लिने प्रचलन विकास भइसकेको छैन। तर सहसंस्थापक तिमिल्सिना भने अब विदेशमा कामदार होइन कम्पनीमार्फत नै काम गर्न सकिनेमा विश्वस्त छन्। 

‘अहिले नेपालमा अलि–अलि काम सिकेका र केही जान्दै नजानेका विदेश जान्छन्’, उनको मूल्यांकन छ, ‘त्यसकारण हामी अब नेपालबाट दुबईमा कामदार होइन सेवा दिने कम्पनी नै विस्तार गर्ने योजनामा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .