चालू आर्थिक वर्षको लागि मौद्रिक नीति तयार भएको छ। मस्यौदा तयार पारेर बसेको राष्ट्र बैंकले सार्वजनिक गर्न सञ्चालक समितिको निर्णय कुरेर बसेको छ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि मौद्रिक नीति मस्यौदा तयार भएको र पृष्ठभूमि लेखन कार्य भइरहेको छ। अब सञ्चालक समितिमा रहेकाहरुको अनुकल समय मिलाएर बैठक बस्ने र सञ्चालक समितिले पास गरेको खण्डमा शुक्रबार सार्वजनिक गर्ने तयारी छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरे पनि सञ्चालक समितिले पास गरेपछि मिति निर्धारण हुनेछ।
राष्ट्र बैंकका एक अधिकारीले नेपाखबरसँग कुरा गर्दै मस्यौदा तयार गर्ने काम राष्ट्र बैंकको मस्यौदा समितिले पूरा गरिसकेको बताए। ‘त्यसमा पृष्ठभूमि आवश्यक संशोधन गर्ने काम अब हुनसक्छ। त्यसपछि सार्वजनिक हुन्छ’, उनले भने।
कस्तो आउला त मौद्रिक नीति?
नेपाल राष्ट्र बैंकले वस्तु आयातमा पूर्ण बन्देज त लगाउन पाउँदैन तर वस्तु आयात कर्जा प्रवाह रोक्ने मौद्रिक नीति भने आउनसक्ने संकेत गभर्नर अधिकारीले दिएका छन्।
यता सत्तारुढ दलका नेताहरु आफैँ भने मौद्रिक नीति कसिलो हुन नहुने बताउँदै आएका छन्। तर राष्ट्र बैंकले अहिलेको महंगी नियन्त्रणको लागि पनि ब्याजदर बढाउनुपर्ने संकेत गरेको छ।
कस्तो छ अहिलेको आर्थिक अवस्था?
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिटलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७८÷०७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पाट्र्सलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतका वस्तुको आयात घटेको छ। वस्तु निर्यातको वृद्धिदरभन्दा वस्तु आयातको वृद्धिदर धेरै हुँदा यो वर्ष व्यापारघाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ।
त्यस्तै चालू आर्थिक वर्षमा मूल्यवृद्धि ८ दशमलव ५६ प्रतिशतले बढेको छ भने तलब तथा ज्याला ८ दशमलव ५० प्रतिशतले बढेको छ। रेमिट्यान्स लगातार गिरावटपछि जेठ महिनामा वृद्धि भएको छ। गत वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ३ दशमलव ८ प्रतिशतले बढेको छ।
विदेशी मुद्रा सञ्चिति वैशाख महिनाको तुलनामा वृद्धि भए पनि गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ठूलो गिरावट रहेको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ। झण्डै २ खर्बको गिरावट रहेको छ।
चालू खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो। शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो।
प्रतिक्रिया