ad ad

कारोबार


संसदमा अड्किए दर्जन आर्थिक विधेयक, चेम्बर भन्छ– चाँडो अघि बढाऊ

संसदमा अड्किए दर्जन आर्थिक विधेयक, चेम्बर भन्छ– चाँडो अघि बढाऊ

नेपालखबर
साउन ३, २०७९ मंगलबार १५:८, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको  छ। 

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो। 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरु सम्बोधन हुन नसकेको बताएका थिए। 

धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ। यस्तै बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्बन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ। 

बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे। 

उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु।’

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गरे। गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापारघाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ। 

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गरे। संघीय निर्वाचन अघि अर्थतन्त्रसंग जोडिएका सवै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाए। 

सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु। बजेटसँग सम्बन्धित विधेयकहरु करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्वन्धमा सम्वन्धित समितिका सभापतिहरुसंग जानकारी लिने समेत सभामुख सापकोटाले बताए। सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको भनाइ छ। 

सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .