ad ad

कारोबार


नेपालमा पहिलो पटक चल्यो बिजुली बस

नेपालमा पहिलो पटक चल्यो बिजुली बस

नेपालखबर
भदौ २५, २०७६ बुधबार ९:१९,

नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गरेका हुन्।

रु एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको बताइएको छ। कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ। बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ। विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ। विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ।

मन्त्री पोखरेलले बसमा बसेर प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहीदगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रासमेत गरेका थिए। यात्रापछि उनले बस आरामदायी रहेको र नेपालका लागि यो उपयुक्त रहेको बताए। उनले भने, ‘वातावरणीय र आर्थिक दुवै हिसाबले बस उपयुक्त छ।’

मन्त्री पोखरेलले राम्रो कामको शुरुआत गर्नुभन्दा पनि शुरु गरिएको कामलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए। सुन्दर यातायातले नामजस्तै सुन्दर काम गरेको उनको भनाइ छ। राम्रो काम गर्न खोज्दा विभिन्न पक्षबाट अवरोध आउने गरे पनि आफूले गर्न लागेको कामबाट पछि हट्न नहुने उनको भनाइ थियो। उनले भने, ‘आगामी दिनमा पनि चुनौतीहरु आउन सक्छन् तर तपाईं हिम्मत नहारी अघि बढ्नुपर्छ।’

प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर संघर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताए। विद्युतीय बस सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको र उनकै सुझावका आधारमा संस्थाको नाम ‘सुन्दर’ रहन गएको उल्लेख गरे। बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ। विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रूपमा रहेको उनले औँल्याए। उनले भने, ‘हामीले नीति चाँडो बनाउनुप¥यो भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौँ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजना रहेको बताए। नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिकरूपमा नै विद्युत्को खपत बढाउँदै जाने लक्ष्य लिएको छ। अरू उद्यमीले पनि विद्युतीय सवारीसाधन भित्र्याएर सरकारको उक्त योजनामा सहयोग पु¥याउनुपर्नेमा उनको जोड छ। उनले भने, ‘विद्युत्को खपत हामीले यातायात, खाना पकाउने इन्धन लगायतका रूपमा प्रयोग बढाउँदै जान सक्छौँ।’

सामाजिक अभियन्ता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताए।

सेवा विस्तार गरिँदै

विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले बताएको छ। कम्पनीले अहिले दुई वटा बस शुरुआत गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। यही वर्षभित्रमा ५० वटा बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ। ८१ जना शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं १ र ५ मा पनि बस विस्तार गर्दै जाने योजना बनाएको छ।

बस किन्ने तयारी गर्दै साझा

तीनै तहको सहकार्यमा साझा यातायातले विद्युतीय बस खरीदको तयारी गरेको छ। तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले रु तीन अर्बको र प्रदेश ३ ले रु ३० करोडको साझाको शेयर खरीद गरेका थिए। त्यस्तै काठमाडौँ महानगरपालिकाले रु १० करोड बराबरको साझाको शेयर खरीद गरेको थियो। सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताको किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ। आगामी वैशाखसम्ममा थोरै सङ्ख्यामा भए पनि बस भित्र्याउने तयारी भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।

इतिहास बन्यो ट्रली बस

काठमाडौँ उपत्यकामा एक दश पहिलेसम्म सञ्चालनमा रहेको ‘ट्रली बस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ। चीन सरकारको सहयोगमा काठमाडौँमा ट्रली बस सञ्चालन भएको थियो। नेपालमा २०३२ साल पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो। तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो। त्यतिबेला बस काठमाडौँबाट मध्यपुर थिमि हुँदै सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको थियो। २०५२ सालमा दाताको सहयोगमा १० बस थपिएको भए पनि एक दशक पहिले सेवा बन्द हुँदा नौ वटा मात्र चालू अवस्थामा थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .