काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न नेपालको सरकारी टोली आज (सोमबार) चीन जाँदै छ।
रेल्वे कनेक्टिभिटी, मानवीय स्रोत विकास र पूर्वाधार निर्माणलगायत विषयमा छलफल गर्न नेपाली टोली चीनको राजधानी बेइजिङ जान लागेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा ७ सदस्यीय टोली बेइजिङ जानेछ।
मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार रेल पूर्वाधार विकाससम्बन्धी छलफल गर्न ५ दिनका लागि चीन भ्रमणमा जान लागिएको हो।
टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल र प्रवक्ता राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकार तथा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक/एक प्रतिनिधि सहभागी हुनेछन्। यसैगरी टोलीमा चीनस्थित नेपालको राजदूतावासका प्रतिनिधि पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।
भ्रमणको मुख्य विषय काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्नु हो। साथै काठमाडौं–पोखरा रेलमार्ग निर्माणका विषयमा पनि छलफल गरिने सरकारले जनाएको छ।
प्रतिक्रिया