ad ad

कारोबार


काठमाडौँ–केरुङ जोड्ने राजमार्गमा छुट्टै सुरुङमार्ग

काठमाडौँ–केरुङ जोड्ने राजमार्गमा छुट्टै सुरुङमार्ग

नेपालखबर
असार १, २०७६ आइतबार ६:२२,

वामगठबन्धनले निर्वाचनमा विजय हासिल गरेलगत्तै प्रधानमन्त्री बन्नुअघि नै केपी शर्मा ओली रसुवागढी पुगे। र, चीन–नेपाल सीमानाका पहरा–कन्दरा देखाउँदै भने, ‘चीनबाट आउने रेलमार्ग यी...यतैबाट आउँछ।’

चीन–नेपाल जोड्ने सीमापार रेलमार्गको अधिकांस भाग सुरुङमार्ग हुने कुरा चिनियाँ पक्षले गरेको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनले बताइसकेको छ। जटिल हिमाली भूगोलका कारण ९५ भन्दा बढी भाग सुरुङमार्गले ओगट्ने भएको हो।

केरुङ नजिकैको ‘लेक पाइकु’ बाट नेपालतर्फ आउने रेलमार्गको अधिकांस भाग सुरुङमार्ग हुने खुलाशा भइरहँदा केरुङबाट काडमाडौँ वा नुवाकोटको गल्छीतर्फ आउने सडकमार्गको एउटा ठूलो हिस्सामा समेत सुरुङमार्ग बनाइने योजना रहेको अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन्।

रसुवा पुगेका अर्थमन्त्री डा खतिवडाले शनिबार मात्र यो कुराको खुलाशा गरेका हुन्। ‘सुरुङमार्ग निर्माण गरिएपनि जमिनमाथिको सडकको औचित्य भने कम हुनेछैन’ डा खतिवडाले भनेका छन्, ‘जमिनमाथिको सडकबाट स्थानीयको आवतजावत र जलविद्युत आयोजनाका सामान ओसार–पसार गर्न सकिन्छ।’

नेपाल–चीनबीचको प्रमुख नाका रसुवागढी–केरुङ बन्न थालेपछि काठमाडौँ–केरुङ जोड्ने राजमार्ग आसपासका वासिन्दाले पासाङ ल्हामु राजमार्गले आफ्नो जीवनमा कायाँपलट ल्याउने आशा गरेका छन्। यस्तो बेला सुरुङमार्ग निर्माणले आम्दानीमा नकरात्मक असर पर्ने आशंका उब्जने मध्यनजर गर्दै अर्थमन्त्री डा खतिवडाले उपरोक्त कुरा बताएका हुनसक्छन्।

केरुङबाट नेपालतर्फ आउने सडकमार्ग नुवाकोटको बट्टार आइपुगेपछि दुई भागमा बाँडिन्छ। एउटा भाग काठमाडौँतिर लाग्छ भने अर्को भाग नुवाकोटको गल्छी पुग्छ। र, पृथ्वीराजमार्गसँग जोडिन्छ। बट्टारबाट ककनी हुँदै काठमाडौँ आउने मार्ग छोटो भएपनि साँघुरो भएका कारण अप्ठेरो भएकाले अधिकांसले काठमाडौँ पुग्न गग्छी हुँदै आउने मार्ग रोज्न थालेका छन्।

रसुवागढीबाट बट्टार आइपुग्नुअघि यो राजमार्ग रसुवागढीको स्याफ्रुबेसी पार गरेपछि दुई भागमा बाँडिन्छ। त्यसमध्ये एउटा भाग धुञ्चे–राम्चे–कालिकास्थान हुँदै बेत्रावती आइपुग्छ। यो खण्डको विकल्पमा सरकारले दिएको जिम्मेवारी अनुसार नेपाली सेनाले स्याफ्रुबेसी–मैलुङ–बेत्रावती खण्ड निर्माण गरिसकेर अघिल्लो बर्ष नै सडक विभागलाई हस्तान्तरण गरिसकेको छ।

चीनसँगको यातायातका लागि खोलिएको सडकमार्गमा आवागमन सहज बनाउन दुई वटा मार्ग रहेका बेला सरकारले यही सडकमार्ग अन्तर्गत बेत्रावती–स्याफ्रुबेसीसम्म सुरुङ निर्माणको योजना बनाएको हो।

‘पासाङ ल्हामु राजमार्गको स्याफ्रुबेसी–बेत्रावती भाग जोड्न अहिले पनि दुई छँदैछन्, त्यसमध्ये धुञ्चे–राम्चे–कालिकास्थान हुँदै बेत्रावती आइपुग्ने खण्ड कालोपत्रे छ भने स्याफ्रुबेसी–मैलुङ–बेत्रावती खण्ड चाहिँ कच्ची छ’ रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन भण्डारीले भने, ‘अर्थमन्त्रीज्यूले भविष्यका लागि यो खण्डमा सुरुङमार्ग निर्माण गरिने बताउनु भएको छ।’

केरुङ नेपाल–चीनबीचको प्रमुख नाका भएको र केरुङ–काठमाडौँ जोड्न प्रस्तावित गरिएको रेलमार्गको अधिकांस भाग सुरुङभित्र निर्माण हुने बताइएकाले रसुवा पुगेर अर्थमन्त्री डा खतिवडाले उल्लेख गरेको सुरुङमार्ग त्यही रेलमार्गको खण्ड हो कि भन्ने लाग्न सक्छ।

तर प्रमुख जिल्ला अधिकारी भण्डारीका भनाईमा, अर्थमन्त्रीले उल्लेख गरेको सुरुङमार्ग केरुङ (लेकपाइकु)–काठमाडौँ जोड्ने रेलमार्गको खण्ड भने होइन। ‘यो पासाङ ल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेसी–बेत्रावती खण्डमा बन्ने छुट्टै भाग हो’ भण्डारीले नेपालखबरसँग भने, ‘यो चीनसँगको अन्तर्राष्ट्रिय नाका जोड्ने मार्ग भएको र भविष्यमा सवारीसाधनको चाप बढ्ने भएकाले सुरुङ मार्ग बनाउने योजना सरकारले बनाएको छ।’

भूकम्प लगायतका कारण चीनले तातोपानी नाका बन्द गरेपछि प्रमुख नाका बनेको रसुवागढी नाका र गल्छी/काठमाडौँ– रसुवागढी राजमार्गको महत्व नेपाल–चीन जोड्ने रेलमार्ग बनेपनि नघट्ने सरकारको ठम्याई छ। चीनले सिगात्से हुँदै केरुङसम्म आइपुग्ने रेलमार्ग काठमाडौँ आइपुग्न समय लाग्ने भएकाले पनि यो राजमार्गलाई सरकारले निकै महत्वका साथ हेरेको छ।

यो राजमार्गको सबैभन्दा कठिन स्याफ्रुबेसी–बेत्रावती खण्डनलाई नै मानिन्छ। धुञ्चे–राम्चे–कालिकास्थान हुँदै बेत्रावती जोडिने खण्ड कालोपत्र भएपनि अलिक लामो छ, अझ पहिरोका कारण बर्षायाममा यो खण्ड पटक पटक अवरुद्ध हुने गर्छ। त्यसैले, यसको विकल्पमा सरकारले स्याफ्रुबेसी–मैलुङ–बेत्रावती खण्ड तयार पारेको हो। तर निर्मित यो खण्डन खण्ड नयाँ भएकाले कच्ची छ।

‘राजमार्गका दुबै खण्ड साँघुरा छन्, भौगोलिक अवस्था पनि त्यति राम्रो छैन’ भण्डारीले भने, ‘भविष्यमा नेपाल–चीनबीच जुन स्तरको व्यापार आदान–प्रदान र सवारी साधनहरुको आवतजावत हुन्छ, त्यो कुरा मध्यनजर गर्दै सरकारले यो खण्डमा सुरुङ मार्ग निर्माणको अवधारणा ल्याएको होला।’

नेपाली सेनाले निर्माण गरी गत सालमात्र सडक विभागलाई हस्तान्तरण गरेको स्याफ्रुबेसी–मैलुङ–बेत्रावती खण्ड २६ किमी लामो छ। पहिल्यैदेखि प्रचलनमा रहेको स्याफ्रुबेसी–धुञ्चे–राम्चे–कालिकास्थान–बेत्रावती खण्ड चाहिँ ५६ किमी लामो छ। भण्डारीका भनाईमा, सुरुङमार्ग चाहिँ ३४ किमी लामो हुने अनुमान छ।

हुनपनि ०७२ को भूकल्प लगत्तै भारतीय नाकाबन्दीका बेला यो राजमार्ग नेपालका लागि ‘लाइफलाइन’ नै बन्न पुगेको थियो। तातोपानी मार्ग अवरुद्ध भएपछि नेपाल–चीन व्यापारका लागि मुख्य राजमार्ग बन्दै आएको छ।

तर, भौगोलिक जटिलता, राम्चे क्षेत्रमा आइरहने पहिरोका कारण बेत्रावती–स्याफ्रुबेसी खण्ड जसरी अवरुद्ध हुने गरेको छ, यो खण्डमा सुरुङमार्गको निर्माणले पक्कै पनि सहजता ल्याउनेछ।

सरकारले गल्छी–रसुवागढी सडकमार्ग स्तरोन्नतिका लागि यस वर्षको बजेटमा १ अर्व ५४ करोड विनियोजित गरेको छ। प्रजिअ भण्डारीले भने, ‘त्यसैमध्येबाट सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम सुरुवात हुने कुरा सुनेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .