ad ad

कारोबार


थापाथलीमा १० थरि गाडीका शाेरूम

थापाथलीमा १० थरि गाडीका शाेरूम

समुन्द्रा घिमिरे
जेठ ३२, २०७६ शनिबार ११:१०,

काठमाडौंको माइतीघरबाट थापाथली हुँदै ओहोरदोहोर गर्ने धेरैले सडकको दायाँ बायाँका शोरुमहरूमा नयाँ नयाँ कार सजाएर राखेको देख्दै आएका छौं। झण्डै २५ वर्षअघि, जतिबेला नेपालमा कार चढ्ने मानिसको संख्या निकै थोरै थियो, त्यसबेलादेखि नै थापाथलीमा कारका शोरुमहरू खुल्न थाले। जुन अहिले फैलिँदै जाँदा थापाथली नेपालको एउटा प्रमुख अटो हबका रुपमा विकास भएको छ।

कुनैबेला थापाहरूले बसोबास गर्ने स्थानको परिचय बनाएको थापाथली अब ‘अटोथली’ भनेर समेत चिनिन थालेको छ।

हुन त काठमाडौंमा कारका यस्ता शो रुमहरू धेरै ठाउँमा छन्। तर थापाथली एउटा यस्तो केन्द्र बन्दै गएको छ, जहाँ नेपाल भित्रिने विश्वमा चलेका प्रायः कार ब्राण्डका शोरुमहरू एकै ठाउँमा भेटिन्छन्, विकसित देशहरूमा जस्तै। थापाथलीमा चर्चित १० वटा सवारीसाधनका ब्रान्ड रहेका छन्। विश्वका नाम चलेका फक्सवागन, निशान, हुन्डाई, पुज्योट, फोर्डदेखि छिमेकी देश भारतमा उत्पादन हुने टाटा, महिन्द्रा कम्पनीसम्मका आकर्षक शोरुमहरू थापाथलीमा छन्। गाडी खरिदबिक्री मात्र हैन, टेष्ट ड्राइभ र प्रयोग भइसकेका गाडी साट्ने अफरहरूले गर्दा पनि काठमाडौंमा गाडी प्रयोगकर्ताहरूको पहिलो रोजाइजस्तै बनेको छ यो क्षेत्र। 

चर्चित ब्रान्डहरुको उपस्थितिसँगै ग्राहकको आवतजावतले थापाथली सवारीसाधन किनमेलको केन्द्र बनेको छ। सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेरेर छनोट गर्न पाउँदा ग्राहकलाई फाइदा त भएको छ नै, कम्पनीहरुलाई पनि नयाँ उत्पादन शोकेस गर्ने उपयुक्त थलो बनेको छ।

‘यसरी कम्पनीहरु एकै ठाउँमा आउनु सकारात्मक हो’, सीजी मोटोकर्पका करुण शाक्य भन्छन्, ‘बजारमा कम्पनीहरुको प्रतिस्पर्धा चल्दा सबैभन्दा धेरै फाइदा ग्राहकलाई हुन्छ, जसले अन्ततः आफ्नो ब्राण्डको बजार बढ्ने हुन्छ।’

auto9

कुन ब्राण्ड कहिले आए?
थापाथली आएको सबैभन्दा पुरानो र परिचित ब्राण्ड हो, सुुजुकी। वि.सं. २०५२ सालमा टाटाले शोरुम खोल्नुअगाडि नै सुजुकीले शोरुम खोलेको सीजी मोटोकर्पका करुण शाक्य बताउँछन्। त्यसपछि थापाथली आउने दोस्रो पुरानो कम्पनी हो, टाटा। सिप्रदी ट्रेडिङ प्रालिले २०५२ सालमा यो क्षेत्रमा शोरुम खोलेर टाटाका गाडीहरु बेच्दै आएको कम्पनीका निर्देशक शम्भु दाहालले बताए।

त्यस्तै २०६४ मा अर्को ब्राण्ड स्कोडा पनि थापाथली आयो। एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले स्कोडाका गाडीहरु बिक्री वितरण गर्दै आएको छ। यो गाडीको काठमाडौंमा एक मात्र शोरुम थापाथलीमै छ। चेक रिपब्लिकमा बनेको यो गाडीको एसेम्बलिङ प्लान्ट भने भारतमा रहेको छ। त्यस्तै चर्चित ब्राण्ड फोर्ड यो क्षेत्रमा आएको १० वर्ष पुग्नलागेको छ। सन् २०१० मा जिओ अटोमोबाइल्सले थापाथलीबाट फोर्ड बिक्री गरिरहेको छ। फ्रान्सेली कार पुज्योट थापाथली आएको नयाँ ब्राण्ड हो।

सन् २०१७ डिसेम्बर २० देखि थापाथलीमा पुज्योटले शोरुम खोलेको यसका आधिकारिक नेपाली बिक्रेता सांग्रिला मोटर्स प्रालिका सिनियर मेनेजर किरण श्रेष्ठ बताउँछन्। ‘पहिला सुकेधारा शोरुमबाट किशोर गियरले बेच्दै आएको थियो’, उनी भन्छन्, ‘थापाथलीमा आएको दुई वर्ष भयो।’

२०१७ यता यो कम्पनीले १ सयवटा गाडीहरु बिक्री गरिसकेको उनको भनाइ छ। यो शोरुममा कम्पनीका १ करोडमाथिको प्रडक्ट रहेको श्रेष्ठ बताउँछन्। शोरुमका लागि किन थापाथली नै? श्रेष्ठ भन्छन्, ‘गाडीको मुख्य बजार काठमाडौं हो, थापाथलीलाई सबैले अटो हबका रुपमा लिने भएकाले कम्पनीले यहाँ शोरुम खोलेको हो।’

यता विश्वकै चर्चित कार ब्रण्ड फक्सवागन सन् २०१४ मा थापाथली आएको थियो। कम्पनीका मार्केटिङ अफिसर सजल श्रेष्ठका अनुसार २०१४ मा थापाथलीमा पहिलोपटक फक्सवागनले शोरुम खोलेको हो। फेब्रुअरी २०१९ देखि फक्सवागनको शोरुम थापाथलीकै ब्लुबर्ड कम्प्लेक्सभित्र सारेको छ।

नेपाल भित्रिने चर्चित कम्पनीहरुका नयाँ नयाँ ब्रान्ड सर्वप्रथम थापाथलीमै आइपुग्ने भएकाले पनि यो क्षेत्र अटोहब बनेको हो। चर्चित १० गाडी ब्रान्डको उपस्थितिसँगै यो क्षेत्रले ‘अटोथली’ को छुट्टै पहिचान बनाइरहेको छ।

auto3

कुन शोरुममा कति मूल्यका गाडी?
१. निशानः टाटाको शोरुमको ठीक अगाडिपट्टि छ, जापानी कारनिर्माता निशानको शोरुम। हाल चर्चित पाँच मोडलका गाडी बिक्री गरिरहेको निशानको यो शोरुममा २६ लाख ९९ हजार मूल्यदेखि १ करोड २९ लाख ९९ हजार मूल्यसम्मका गाडी पाउन सकिन्छ। हाल कम्पनीले माइक्राका तीन भेरियन्ट, सन्नीका तीन भेरियन्ट, नाभाराका दुई भेरियन्ट, एक्स–ट्रेलका पाँच र सात सिटे दुई भेरियन्ट तथा किक्सका पाँच भेरियन्टका गाडीहरु बिक्री गरिरहेको छ। यी गाडीमध्ये एक्स–ट्रेल करोड मूल्यमाथिका गाडीहरु हुन्। नेपालमा कम्पनीको आधिकारिक बिक्रेता पायोनिअर मोटोकर्पले निशानका गाडीहरु बिक्री गर्दै आएको छ।

२. फक्सवागनः यो कम्पनीको शोरुम थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्सभित्र रहेको छ। शोरुमबाट कम्पनीले चर्चित पाँच मोडलका गाडीहरु बिक्री गरिरहेको छ। शोरुममा पोलोका ६ भेरियन्ट, भेन्टोका पाँच, जेट्टा, टिगुआनका चार र अमारोकका तीन भेरियन्ट गाडीहरु रहेका छन्। उक्त गाडीहरुमध्ये टिगुआनका सबै भेरियन्ट १ करोड मूल्यमाथिका रहेका छन्। सस्तोमा १ करोड ११ लाखदेखि महंगोमा १ करोड ५८ लाख मूल्यसम्मका टिगुआन गाडी शोरुमबाट किन्न पाइन्छ। त्यस्तै अमारोक मोडलको ८२ लाखदेखि ९२ लाख मूल्यका, भेन्टोका ३९ लाख ९५ हजारदेखि ५१ लाख ४५ हजारसम्म मूल्यका तथा पोलोका २७ लाख ९५ हजारदेखि ४७ लाख ४५ हजार मूल्यका गाडीहरु शोरुमबाट किन्न पाइन्छ। नेपालमा फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालि हो।

auto2

३. टाटाः निशानकै ‘अपोजिट’ साइडमा टाटा शोरुम रहेको छ। पर्याप्त ‘स्पेस’ रहेको आकर्षक शोरुमबाट टाटाका नौ मोडलका सवारीसाधन बिक्री हुन्छ। चर्चित नेक्सनदेखि टियागो, हेक्सा, टिगोरजस्ता मोडलका गाडीहरु ग्राहकले किन्न पाउँछन्। सस्तोमा २४ लाख ९५ हजारदेखि महंगोमा ९१ लाख ५५ हजारसम्मका गाडीहरु टाटा शोरुममा किन्न पाइन्छ। शोरुमा नेक्सनकै मोडल १३, हेक्सा, जेस्टका चार, बोल्टका तीन, टियागोका तीन, टिगोरका पाँच, सुमो गोल्डका पाँच र स्टोर्मका दुई मोडल उपलब्ध छन्। नेक्सन मोडलमा ३४ लाख ९५ हजारदेखि ४८ लाख ९५ हजारसम्मका कारहरु रहेका छन् । त्यस्तै स्टोर्मको ६७ लाख ९५ हजार र ७३ लाख ५५ हजार मूल्य पर्ने दुई मोडलका गाडीहरु रहेका छन्। सिप्रदी ट्रेडिङ प्रालिले टाटाका गाडीहरु बिक्री गर्दै आएको छ।

४. सुजुकीः थापाथली शोरुममा सुजुकीका १ दर्जन मोडलका गाडीहरु बिक्रीका लागि उपलब्ध छन्। कम्पनीका ओम्नी कार्गो÷भ्यान, इको ५÷७ स्टार, सुपर क्यारी, अल्टो के१० भीएक्सआई, वागन आर, सेलेरियो, स्विफ्ट, डिजायर, अल्टो, बालेनो, ब्रिजा र इग्निस गाडीहरु रहेका छन्। फरक विशेषतायुक्त फिचर रहेका यी गाडीहरु कम्तीमा १० लाखदेखि बढीमा ४२ लाखसम्म मूल्यका छन्। नेपालमा सीजी मोटोकर्पले सुजुकीका कम्पनीका गाडीहरु बिक्री गर्दै आएको छ।

५. हुन्डाईः नेपालमा चलेको ब्राण्ड हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो। थापाथलीमा रहेको शोरुमबाट ११ मोडलका गाडीहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ। शोरुममा सेन्ट्रो, ग्रान्ड आई१० एफएल, इलिट आई२०, आई२०एक्टिभ, क्रेटा, कोना (विद्युतीय गाडी), लोनिक (विद्युतीय गाडी), एक्सेन्ट, भेर्ना, टक्सन र सान्टा फे गाडीहरु रहेका छन्। कम्पनीका २४ लाख मूल्यदेखि १ करोड ५६ लाख ९६ हजार मूल्य पर्नेसम्मका गाडीहरु शोरुममा रहेका छन्।

६. फोर्डः जीओ अटोमोबाइल्स प्रालिले थापाथलीस्थित शोरुमबाट फोर्ड कम्पनीका गाडीहरु बिक्री गर्दै आएको छ। शोरुममा नयाँदेखि केही पहिले आएका गाडीहरु पनि उपलब्ध छन्। कम्पनीका अनुसार अल न्यु फिगो, अस्पायर, फ्रिस्टाइल, इकोस्पोर्ट एमसीए, रेन्जर, रेप्चर र इन्डिभोर गाडीहरू बिक्री गर्दै आएको छ। फोर्डका २४ लाख ९९ हजारदेखि १ करोड ७१ लाख पर्ने इन्डिभोरसम्मका गाडीहरु थापाथली शोरुमबाट खरिद गर्न सकिन्छ।

७. महिन्द्राः भारतीय सवारीसाधन निर्माता महिन्द्राको इलेक्ट्रोनिक्स गाडीहरु पनि थापाथलीस्थित कम्पनीको शोरुममा उपलब्ध छन्। अग्नि इनर्जी प्रालिले यी गाडीको बिक्री गर्दै आएको छ। अग्नीले ६ वटा मोडलका गाडीहरु यस शोरुमबाट बिक्री गर्दै आएको छ। खासगरी इभेरिटो, ई२०प्लस, ईसुप्रो भ्यान, माईनी बगीजस्ता गाडीहरु यहाँबाट किन्न पाइने कम्पनीले जनाएको छ। यी गाडीहरु १३ लाखदेखि २८ लाखसम्म मूल्यका छन्।

८. पुज्योटः फ्रान्सेली सवारी निर्माता कम्पनी पुयोट्जको शोरुम पनि थापाथलीमै रहेको छ। अधिकृत बिक्रेताको रुपमा नेपालमा यो कम्पनीका गाडीहरु शांग्रिला मोटर्स प्रालिले बेच्दै आएको छ। सीतापाइलामा सर्भिससेन्टर रहेको गाडीको काठमाडौंमा यो नै एक मात्र शोरुम हो। शोरुममा ६० लाख मूल्यको इलेक्ट्रिक भ्यानदेखि १ करोड ३८ लाख मूल्यका गाडीहरु उपलब्ध छन्। हालसम्म कम्पनीले सय वटा गाडीहरु बिक्री गरिसकेको छ।

९. रेनल्टः नेपालको अधिकृत बिक्रेताको रुपमा एडभान्स्ड अटोमोबाइल्स प्रालिले यो कम्पनीको गाडी बिक्री गर्दै आएको छ। थापाथलीमा रहेको शोरुममा कम्पनीका क्विड, डस्टर, लजी, क्याप्चर जस्ता गाडीहरु छन्। पेट्रोल र डिजेल भेरिएन्टका यी गाडीहरु ९९९ सीसीदेखि १४६१ सीसी र २१ लाखदेखि ६४ लाख रुपैयाँसम्म मूल्य पर्ने किसिमका रहेका छन्।

१०. स्कोडाः नेपालको अधिकृत बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले थापाथलीबाट स्कोडा कम्पनीका गाडीहरु बिक्री गर्दै आएको छ। थापाथली शोरुमबाट स्कोडाका ¥यापिड एमपीआई एमटी, ¥यापिड १.५ टीडीआई एमटी, अक्टाभिया र कोडियाक टीडीआई गाडीहरु किन्न सकिन्छ । न्यूनतम ३८ लाखदेखि सुरु हुने गाडीको मूल्य अधिकतम १ करोड ५८ लाखसम्म रहेको कम्पनी एमएडब्ल्यु इन्टरप्राइजेजले जनाएको छ।

बिजुली गाडी पनि
डिजेल र पेट्रोलबाट चल्ने मात्रै हैन बिजुली सवारीसाधन खरिद गर्ने ग्राहकले पनि थापाथलीबाटै मनचाह कम्पनीको सवारीसाधन किन्न पाउँछन्। यस अर्थमा थापाथलीले समयको मागलाई समेत सम्बोधन गरेको छ। महिन्द्रा, हुन्डाई, पुज्योटजस्ता कम्पनीले थापाथलीबाट हाल विद्युतीय कारहरु बिक्री गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .