ad ad

कारोबार


निषेधाज्ञाले शून्यप्रायः घरजग्गा कारोबारः साढे ८ अर्बले घट्यो राजस्व संकलन

निषेधाज्ञाले शून्यप्रायः घरजग्गा कारोबारः साढे ८ अर्बले घट्यो राजस्व संकलन

वसन्त अर्याल
असार ६, २०७८ आइतबार १०:५१,

चालू आर्थिक वर्षको चैतमा उच्च विन्दुमा पुगेको घरजग्गा कारोबार जेठमा करिब शून्यमा झरेको छ।

कोभिड महामारीको दोस्रो लहर रोकथामको लागि निषेधाज्ञा लगाउँदा ‘रियल स्टेट बिजनेस’ शून्यप्रायः भएको हो।

कोभिडको पहिलो लहरले ठप्प भएको घरजग्गा कारोबारमा चालू आर्थिक वर्षको साउनबाट चहलपहल सुरु भएको थियो। साउनदेखि चलायमान भएको कारोबार अन्य वर्षको तुलनामा फागुन÷चैतमा उच्च विन्दुमा पुगेको थियो।

तर वैशाखको मध्यबाट देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपछि भने क्रमशः घट्न थाल्यो।

जेठ महिनामा त थोरै मात्र कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षको चैतमा २ लाख ५६ हजार पुगेको घरजग्गा कारोबार जेठमा आइपुग्दा कुल १ हजार ४ सय ९५ वटामै खुम्चिएको विभागले जनाएको छ।

झापा जिल्लामा मात्रै १० हजार बढी कारोबार भएको देखिन्छ। घरजग्गाको बढी कारोबार हुने जिल्लामा ५ हजार आसपास भएका छन्।

जेठ महिनामा बढी कारोबार हुने मालपोत कार्यालय बाराको कलैयामा ३ सय ८७ वटा कारोबार भएका थिए।

त्यस्तै मालपोत कार्यालय सिरहामा २ सय २३ वटा, धनुषाको जनकपुरधाम कार्यालयबाट १ सय ६७ वटा, सिन्धुली १०५, नुवाकोट १४३ र बारा जिल्लाकै सिमरा कार्यालयबाट १ सय ४७ वटा घरजग्गा कारोबार भएका थिए।

जेठ महिनामा अपार्टमेन्टसम्बन्धी कारोबार र जग्गा दर्ता कारोबार शून्य रहेको विभागको तथ्यांकले देखाएको छ।

जेठमा सबैभन्दा बढी जग्गा रोक्काका ८ सय ८८ वटा कारोबार भएका छन् भने फुकुवाका १ सय २१ वटा कारोबार भएका छन्। त्यसैगरी लिखित पारितसम्बन्धी २ सय ८९ वटा कारोबार भएका छन्।

घरजग्गा कारोबार व्यवसायीले गत वर्षको कोभिडको समय ठप्प भए पनि लकडाउन खुलेसँगै कारोबार ह्वात्तै बढेको बताउँदै आएका थिए।

व्यवसायीका अनुसार हरेक वर्ष चैत÷वैशाखमा सबैभन्दा बढी घरजग्गा कारोबार हुने गरेको छ।

चालू आर्थिक वर्षको माघ, फागुन र चैतमा राम्रो कारोबार भए पनि वैशाखमा निषेधाज्ञाको कारण घटेको हो।

विभागको तथ्यांकले चालू आर्थिक वर्षको साउनमा ९६ हजारवटा घरजग्गा कारोबार भएकोमा माघमा २ लाख ११ हजार, फागुनमा २ लाख १४ हजार कारोबार भई चैत महिनामा पिकमा पुगेको थियो।

निषेधाज्ञापछि वैशाख महिनामा १ लाख १५ हजार बढी घरजग्गा कारोबार भएको देखाएको छ।

राजस्व संकलन ह्वात्तै घट्यो
चालू आर्थिक वर्षको चैतमा ८ अर्ब ५९ करोड राजस्व उठेको थियो। तर जेठ महिनामा घरजग्गा कारोबारबाट जम्मा २ करोड ७२ लाख रुपैयाँ मात्र राजस्व उठेको छ।

चैत महिनामा उठेको राजस्व चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी हो।

उक्त राजस्व सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क लगायतबापत उठेको विभागले जनाएको छ।

जेठ महिनामा बढी राजस्व उठाउनेमा भूमिसुधार तथा मालपोत कार्यालय सिरहाबाट ३९ लाख, मालपोत कार्यालय धनुषाबाट ५२ लाख, सिन्धुलीबाट १२ लाख ५० हजार, नुवाकोट १५ लाख, बारा कलैयाबाट ३९ लाख, दैलेखबाट पुँजीगत लाभकरबापट १७ लाख रुपैयाँ संकलन भएको छ।

बढी राजस्व संकलन हुने झापा, सुनसरी, मोरङ, रुपन्देही, काठमाडौं, भक्तपुर ललितपुरका मालपोत कार्यालय बन्द हुँदा घरजग्गा कारोबारसँगै राजस्व समेत घटेको हो।

चालू आर्थिक वर्षको सुरुको महिना अर्थात् साउनमा २ अर्ब ७४ करोड राजस्व उठेकोमा माघ महिनामा ६ अर्ब ७३ करोड उठेको थियो। त्यसैगरी फागुनमा ७ अर्ब ५ करोड उठेकामा वैशाख महिनामा ४ अर्ब २९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

विभागले घरजग्गा कारोबारसम्बन्धी अधिकांश मालपोत कार्यालयमा सेवा बन्द रहेको बताएको छ।

महामारीको समयमा बढी भीड हुने मालपोत कार्यालयबाट सेवा उपलब्ध गराउँदा बढी जोखिम रहेकाले सेवा बन्द गरिएको जनाएको छ।

हाल विभाग तथा कार्यालयहरुले कर्मचारी आलोपालो गरी आन्तरिक काम मात्रै गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .