ad ad

कारोबार


वाग्मती प्रदेशको नीति तथा कार्यक्रमः केन्द्र सरकारकै सिको !

वाग्मती प्रदेशको नीति तथा कार्यक्रमः केन्द्र सरकारकै सिको !

वसन्त अर्याल
जेठ २७, २०७८ बिहिबार १२:५५,

केन्द्र सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख विष्णु प्रदेश प्रसाईंले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुरुङमार्गदेखि प्रदेशका कर्मचारीलाई प्रदेश भ्रमणलाई प्रोत्साहन गर्ने भएको छ।

केन्द्र सरकारले कर्मचारीलाई १० दिनको पर्यटन काजको विदा दिने बजेटमा उल्लेख गरेको छ।

वाग्मती प्रदेशले त्यसैको सिको गर्दै पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि कर्मचारीलाई प्रदेशभित्र भम्रणसम्बन्धी कार्यक्रम ल्याइने उल्लेख गरेको छ।

त्यसैगरी संघीय सरकारले नेपाल सुरुङमार्ग युगमा प्रवेश गरेको बताउँदै आगामी आर्थिक वर्ष २ वटा सुङमार्ग निर्माण सुरु हुने र घुम्ती बाटो तथा जोखिम क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने उल्लेख गरेको छ।

प्रदेश प्रमुख प्रसाईंले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको कार्यक्रममा पनि प्रदेशले छोटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ।

चालू आर्थिक वर्षमा नै निर्माण गर्ने भनिएको पोष्ट बोगटी सुरुङमार्गलाई आगामी वर्ष निर्माण सुरु गरिने बजेटमा उल्लेख छ।

आगामी वर्ष मुख्यमन्त्री सडक कार्यक्रमअन्तर्गत २० वटा सडकमा १४७ किलोमिटर सडक निर्माणको लागि बहुवर्षीय योजना अगाडि बढाइनेछ।

त्यसैगरी पुष्पलाल प्रदेश चक्रपथ निर्माणको बाँकी काम हुने बताइएको छ।

प्रदेश सरकारले निर्माण गर्नुपर्ने सडकको सम्भाव्य अध्ययन गरिने भएको छ।

सडक निर्माण सम्भव नभएका ठाउँमा केबल वे र झोलुङ्गे पुल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेशभित्र मेट्रो रेल तथा ट्रामको सम्भाव्यता अध्ययन पनि गरिने भएको छ।

प्रदेशका पहाडी जिल्लामा साना व्यवस्थित नयाँ सहर निर्माण गर्ने योजना छ।

सबै सरकारी कार्यालयमा विद्युतीय गाडी प्रयोग
वाग्मती प्रदेश सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्दै सबै सरकारी कार्यालयमा विद्युतीय सवारीसाधनको उच्चतम प्रयोग गरिने जनाएको छ।

विद्युतीय गाडीको लागि आवश्यक विद्युतीय बस स्टेसन तथा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ।

प्रदेश सरकारले निजी क्षेत्रलाई ठूला सार्वजनिक विद्युतीय सार्वनिक सवारीसाधन सञ्चालन गर्न प्रोत्साहन गर्ने जनाएको छ।

सवारी चालक अनुमतिपत्रको डिजिटाइजेसन र आर्काइभिङ गरी अगाडि बढाइनेछ। सवारी राजस्व अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था गरिने पनि उल्लेख गरिएको छ।

सार्वजनिक सवारीसाधनको भुक्तानी विद्युतीय माध्यमबाट तिर्ने व्यवस्था मिलाइनेछ।

हाल प्रदेशमा छरिएर रहेका वर्कशपलाई व्यवस्थित गर्न अटो भिलेज निर्माण गरिने नीति तथा कार्यक्रममार्फत बताइएको छ।

संघीय सरकारले यसअघि नै हरेक प्रदेशमा एक–एक अटो भिलेज स्थापना गर्ने भने पनि घोषणामै सीमित भएको छ।

प्रदेश आयोजना बैंक स्थापना, पर्वतीय अर्थतन्त्रको विकास
प्रदेशभित्र सञ्चालनमा रहेका आयोजना तथा नयाँ आयोजना सञ्चालनको लागि आगामी आर्थिक वर्ष आयोजना बैंक स्थापना गरिने भएको छ।

प्रदेशले आगामी आर्थिक वर्षको बजेट बहुवर्षीय आयोजनाहरुलाई बजेट विनियोजनपछि मात्रै अन्य आयोजनामा बजेट विनियोजन गर्ने जनाइएको छ।

‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै गुणस्तरीय पानी उपलब्ध गराउनको लागि निर्माणाधीन आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गरिने कार्यक्रममा उल्लेख छ।

त्यस्तै, ‘प्रदेशको पानी प्रदेश नागरिककै लगानी’ निजी क्षेत्रको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।

प्रदेश सरकारले निजी साझेदारीमार्फत विद्युत् उत्पादन गरिनेछ।

पुराना फर्पिङ, सुन्दरीजल जलविद्युत् आयोजनालाई अध्ययन केन्द्रको रुपमा विकास गरिने भएको छ।

प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गरिने भएको छ। खेलकुदमा योगदान पु¥याएकालाई सम्मान गरिने कार्यक्रममा उल्लेख छ। चितवनमा जीवराज आश्रित रंगशाला निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ।

हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दाको जीवन उकास्न पर्वतीय अर्थतन्त्र विकास गर्ने उल्लेख गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि हिल्स स्टेसन निर्माणलाई निरन्तरता दिँदै निजी क्षेत्रको समन्वयमा सञ्चालन गरिनेछ। ऐतिहासिक गढीको सर्किट निर्माण गरी पर्यटन प्रवर्द्धन गरिनेछ।

प्रदेश प्रहरी गठनदेखि परीक्षा बोर्ड गठनसम्म
प्रदेश स्थापना ३ वर्ष पूरा भई ४ वर्षमा पुगेको छ।

वाग्मती प्रदेशले शान्ति सुरक्षाको स्थापनाको लागि प्रदेश प्रहरी स्थापना गर्ने भएको छ।

वाग्मती सरकारले प्रदेशको कानुन सबैले जानून् कानुन सचेतना कार्यक्रम ल्याउने उल्लेख गरेको छ।

प्रदेश तहबाट कक्षा १० को परीक्षा सञ्चालन गर्ने कानुनी व्यवस्था गर्दै प्रदेश परीक्षा बोर्ड गठन गरिने भएको छ।

सामुदायिक माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै छुट्टै प्रदेश विश्वविद्यालय स्थापना योजना छ।

प्रदेश सरकारले प्रयोगशाला नभएका सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्ने जनाएको छ। गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई माध्यमिक शिक्षामा कुनै पनि प्रकारको शुल्कविना अध्यापन गराउनेछ।

स्थानीय तहसँग समन्वयमा बालविवाहमुक्त प्रदेश स्थापनाको गरिनेछ। त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बालगृह, वृद्धाश्रम सञ्चालन गरिनेछ। सडक मानवमुक्त वाग्मती प्रदेशको लागि निरन्तरता दिइएको छ।

प्रदेशका सबै नागरिकलाई कोभिड खोप पु¥याउन प्रदेश प्रमुख खोप कोष स्थापना गरिनेछ। नेपाल सरकारसँगको समन्वयमा सबै प्रदेशबासीलाई खोप लगाइने उल्लेख गरिएको छ।

प्रदेशभित्रका सबै एम्बुलेन्स एकीकृत गर्दै सबै स्वास्थ्य संस्थामा एम्बुलेन्स राख्ने व्यवस्था गरिनेछ।

प्रादेशिक वैद्यखानाको स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने भएको छ। चितवन, हेटौंडामा रहेको आयुर्वेदिक केन्द्रलाई प्रदेश आयुर्वेदिक अस्पतालको रुपमा विकास गरिनेछ।

प्रदेश अस्पतालमा कम्तीमा एक जना एमडीसहितका डाक्टर हुने व्यवस्था मिलाइनेछ।

प्रदेशलाई खाद्य तथा पशुपक्षी प्रमुख कृषि उपजमा आत्मनिर्भर बनाइनेछ।

चालू आर्थिक वर्षबाट सुरु गरिएको बाँझो जग्गामा खेती कार्यक्रमलाई निरन्तरता दिइएको छ।

हेटौंडामा निर्माणाधीन पाउडर दूध उद्योग सञ्चालनमा ल्याइने र चिवतनमा चकलेटसहितको दूध उद्योग सञ्चालन गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .