ad ad

कारोबार


चीनमा हुनसकेन नियमित उडान, यात्रु नपाउँदा एयरलाइन्स नै अनिच्छुक

चीनमा हुनसकेन नियमित उडान, यात्रु नपाउँदा एयरलाइन्स नै अनिच्छुक

वसन्त अर्याल
जेठ २६, २०७८ बुधबार ११:३४,

सरकारले चीनमा नियमित उडान खुल्ला गर्ने निर्णय गरे पनि कार्यान्वयन हुनसकेको छैन।

महामारीको समयमा यात्रु उडानका लागि एयरलाइन्स ‘अनिच्छुक’ हुँदा नियमित उडान हुन नसकेको हो।

नेपालमा पछिल्लो समय संक्रमितको संख्या घटे पनि संक्रमित तथा मृत्युदर अझै उच्च छ। चीनले नेपाललाई ‘रेड जोन’को रुपमै राखेको छ।

सरकारले जेठ १३ गते चीन, कतार र टर्कीमा उडान खुल्ला गर्ने निर्णय गरेको थियो।

कतार र टर्कीमा नियमित उडान सुरु हुन थाले पनि चीनमा कुनै एयरलाइन्सले उडान गर्न नचाहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

‘हामीले त उडान गर्न खुल्ला गरेको हो। कुनै एयरलाइन्सले पनि उडान गर्न दाबी गरेका छैनन्’, मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने।

सरकारले चीनमा हिमालय एयरलाइन्ससहित चीनको कुनै एक एयरलाइन्सले उडान गर्न पाउने बताएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं–इस्तानबुल उडानको लागि टर्किस एयरलाइन्सले अनुमति पाएको छ। टर्किस एयरलाइन्सले हरेक हप्ताको बिहीबार उडान सुरु गरिसकेको छ।

नेपाल एयरलाइन्सलाई काठमाडौं–दोहा उडान अनुमति दिइएको छ। नेपाल एयरलाइन्सले सोमबार राति दोहा पुगेर मंगलबार नेपाल फर्किने कार्यतालिका छ।

सोमबार नै कतार एयरवेजले बिहान ९ः१० मा नेपाल आउने र ११ः०५ मा प्रस्थानको लागि अनुमति पाएको छ।

नेपाल–भारत एयर बबल सम्झौताअन्तर्गत नेपाल एयरलाइन्स र एयर इन्डियाले उडान गर्दै आएका छन्।

नेपाल एयरलाइन्सले हरेक बुधबार काठमाडौं–दिल्ली उडान गर्दै आएको छ भने एयर इन्डियाले शुक्रबार दिल्ली–काठमाडौं उडान गर्न अनुमति पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नेपालले उडान खोल्ने निर्णय गरेपछि चीनले आफ्नो एउटा एयरलाइन्सको नाम पठाउने बताए पनि अहिलेसम्म पठाएको छैन।

‘उडान खोल्ने निर्णयपछि चीनबाट एयरलाइन्स तोक्छौँ भन्ने मेल आएको थियो’, प्राधिकरणका प्रवक्ता समेत रहेका क्षेत्रीले भने, ‘उडान गर्ने कम्पनीको नाम अहिलेसम्म पठाएको छैन।’

क्षेत्रीले हिमालय एयरलाइन्सले समेत नियमित उडान गर्नको लागि मन्त्रालयमा दाबी प्रस्तुत गरेको छैन।

उनले एयरलाइन्स कम्पनीले आफूहरुले नियमित उडान गर्ने दाबी नगर्दासम्म चीनमा उडान हुने सम्भावना नरहेको बताए।

प्राधिकरणका अर्का एक अधिकारीका अनुसार चीनमा ३ हप्ताभन्दा बढी क्वारेन्टिन बस्नुपर्ने हुन्छ। चीन सरकारको एराइभल प्रोटोकल एकदमै झन्झटिलो रहेको छ।

त्यसैले अहिले बाहिरबाट अत्यावश्यकबाहेक यात्रु चीन जान चाहँदैनन्।

नेपाल तर्फबाट उडान खोल्ने निर्णय भए पनि तत्काल चीनले उडान गर्ने यात्रुवाहक उडान गर्ने सम्भावना कम छ।

‘चाइनाले नेपाललाई रेड जोन राखेको छ। त्यसैले उडान गर्न चासो नदेखाएको हुनसक्छ’, ती अधिकारीले भने।

उडान अनुमति पाए पनि यात्रु पाइँदैन : हिमालय एयरलाइन्स
निषेधाज्ञाको बीचमा दैनिक चीन–नेपाल कार्गो उडान गरिरहेको हिमालय एयरलाइन्स नियमित उडान गर्ने अनुमति पाए पनि यात्रु नहुने बताएको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनमा ३ हप्ता बढी क्वारेन्टिन बस्नुपर्ने भएकाले यात्रु नहुने बताए।

श्रेष्ठले नियमित उडानको लागि प्राधिकरणमा किन निवेदन नदिएको भन्ने प्रश्नमा उनले भने, ‘सरकारले चीनमा हिमालय एयरलाइन्सलाई उडान अनुमति दिने हामीलाई औपचारिक जानकारी आएको छैन। हामीले समाचारमै सुनेका हौँ।’

औपचारिक निर्णय आए पनि दुवैतर्फ यात्रु पाउन मुस्किल रहेको कम्पनीहरुले बताएका छन्।

‘चीनमा क्वारेन्टिनको नियम कडा छ। यताबाट यात्रु लगेर मात्रै भएन उताबाट यात्रु ल्याउनु पनि प¥यो’, श्रेष्ठले भने, ‘व्यावसायिक हिसाबले कोही पनि चीन जाँदैन। नेपालमा भएका चिनियाँ जो आफ्नो घर फर्किन चाहन्छन्, उनीहरु मात्रै यात्रु रहने अवस्था छ।’

श्रेष्ठले उडान अनुमतिको लागि नेपाल सरकारले दिएर मात्रै नहुने बताउँदै चीन सरकारले पनि उडान अनुमति दिनुपर्ने बताए।

दुवै देशबाट अनुमति पाएपछि मात्रै उडान गर्नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .