ad ad

कारोबार


पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको निर्देशन

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ७:६,

उपत्यकाको तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल निर्माता कम्पनीलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ।

समितिले यही जेठ २ गते पुलको स्थलगत अवलोकन तथा अनुगमन गरेको थियो। काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरी निर्माण अघि बढाएको निष्कर्ष निकाल्दै कारबाही गर्न भनेको हो।

समितिले प्रतिवेदनको निष्कर्षमा पप्पु कन्स्ट्रक्सनमाथि कारबाही गर्न निर्देशन दिएको हो। निष्कर्षको पाँचौँ बुँदामा कारबाहीको सिफारिस गरेको छ। त्यस्तै उक्त पुलको आयोजना निर्माण पूर्वतयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्नेमा त्यसो नगरिएको उल्लेख गरेको छ। समितिले प्रतिवेदनमा भनेको छ, ‘पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्मााण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावना देखिएकोले त्यस्ता संरचनाहरुको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन भयो।’

त्यस्तै अनुगमनका क्रममा पुल निर्माणका लागि नदीमा ठड्याइएका फलामका फर्माले बस्ती डुबानमा परेको भन्दै फर्मा हटाउन निर्देशन दिएको छ। आयोजना निर्माणपूर्व सडक विस्तार आयोजनाले पूर्वतयारी नगरेको, ढल, खानेपानीको पाइप, बिजुलीको पोल हटाउनै ६ महिना लागेको र सोही कारण काम समयमै सुरु हुन नसकेको उल्लेख गरेको छ। पुलको समस्या समाधानका लागि इन्जिनियरिंग अध्ययन संस्थानमा डिजाइन पठाएकोमा त्यहाँबाट परिमार्जन भई हालसम्म प्राप्त हुन नआएको उल्लेख गरेको छ।

त्यस्तै पप्पु कन्स्ट्रक्सनले निर्माधाधीनको पुलको तीनवटा पाइल्समा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विसतार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिए पनि व्यवसायीले निर्देशन लत्याई पुलको सबस्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको छ।

उक्त पुल अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदीको बायाँतर्फ निर्माण भइरहेको छ। पुलको लम्बाइ ८६ मिटर र चौडाइ १७.२० मिटर रहेको छ। पुलको २९.५ मिटर गहिरो (लम्बाइ)का १६ वटा १२ सय एमएमका पाइल्स निर्माण गर्र्ने डिजाइन स्वीकृत भए पनि पप्पुले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र दुईवटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको समितिले जनाएको छ।

समितिले निर्माता आयोजनालाई तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइनपछि सोहीअनुसार निर्माणको काम अघि बढाउन भनेको छ। त्यस्तै निर्माणको क्रममा उत्पन्न समस्या तत्कालै समाधान गर्न पनि भनेको छ। 
उक्त पुल निर्माणको सम्झौता पप्पु कन्स्ट्रक्सनसँग २०७१ पुस ४ मा भएको थियो। पुलको डिजाइन २०७३ मंसिर १९ मा स्वीकृत भएको थियो। पुल २०७५ असार ५ मै सम्पन्न गरिसक्नुपर्ने थियो। अहिलेसम्म पुल निर्माणमा ६ करोड ६२ लाख ३१ हजार ९ सय ४१ रुपैयाँ खर्च भइसकेको छ।

पुलको थर्ड पार्टी कन्सल्ट्यान्टमा डीपीएम कन्सल्ट्यान्ट बंगलादेश रहेको छ। पुलको अनुमानित लागत ३० करोड ८५ लाख भए पनि २१ करोडमा सम्झौता भएको हो। पुलको डिजाइन आरएनडी सेन्टर काठमाडौंले गरेको हो। समितिको ०७६ वैशाख १९ गते अनुगमन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .