ad ad

कारोबार


सरकारले भन्यो– विदेशबाट श्रमिक ल्याउन तत्काल उद्धार उडान आवश्यक छैन

सरकारले भन्यो– विदेशबाट श्रमिक ल्याउन तत्काल उद्धार उडान आवश्यक छैन

वसन्त अर्याल
बैशाख ३१, २०७८ शुक्रबार ११:०,

सरकारले नेपाली श्रमिकलाई ल्याउने उद्धार उडान तत्काल आवश्यक नभएको बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा कोरोना महामारीको प्रभाव कम भएकाले तत्काल उद्धार गर्नुपर्ने आवश्यकता नभएको बताएको हो।

सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

उड्डयन मन्त्रालयले जेठ १७ पछि केही प्रतिशत नियमित उडान नै गर्ने तर त्यसअघि उद्धार उडान नगर्ने बताएको छ।

अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा कार्गो उडान गर्ने अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले सिधै दिने गरेको छ। उद्धार उडानका लागि भने मन्त्रालयले सहमति दिनुपर्छ।

बाहिर भएका नेपाली ल्याउन तत्काल अन्तर्राष्ट्रिय उडान नभए पनि नेपालमा भएका विदेशी पर्यटकको लागि भने नेपालस्थित दूतावासको आग्रहमा चार्टर्ड उडान गर्न सकिने मन्त्रालयले जनाएको छ।

सोहीअनुसार यसअघि नै नेपालस्थित बंगलादेशी राजदूतावासको अनुरोधमा हिमालय एयरलाइन्सले ढाकामा यात्रुवाहक चार्टर्ड उडान गरिसकेको छ।

शुक्रबार पनि श्री एयरलाइन्सको जहाजले थाइल्यान्डको बैंकक उडान गरेको छ।

‘नेपालमा भएका विदेशी फर्काउन सम्बन्धित देशका राजदूतावासको अनुरोधमा अनुमति दिने गरेका छौँ’, उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने, ‘विदेशमा भएका नेपाली तत्काल उद्धार गर्ने सोच छैन।’

विदेशस्थित नेपाली दूतावासले भने विदेशमा नेपालीलाई अप्ठ्यारोमा नपार्न नियमित उडान खुल्ला गर्न आग्रह गरेका छन्। दूतावासहरुले चार्टर्ड उद्धार उडान महंगो हुने भएकाले नियमित उडान नै खोल्न सरकारलाई सुझाव दिएका छन्।

‘जेठ १७ गतेसम्म उद्धार उडान नगर्ने त्यसपछि नेपाली फर्कनको लागि नियमित उडान गर्ने सोचमा छौँ’, लामिछानेले नेपालखबरसँग भने, ‘विदेशमा नेपालीलाई एकदमै अप्ठ्यारो परे त्योअघि पनि गर्न सकिन्छ।’

उनले अहिलेको परिस्थिति अनिश्चित भएको भन्दै अवस्थाको मूल्यांकन गर्दै निर्णय गर्नुपर्ने बाध्यता रहेको बताए।

साउदी उडानका लागि अनुमति : नेपाली जान नपाउने
त्यस्तै, भारतीय नागरिक बोक्नको लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी अरेबियामा चार्टर्ड उडानको अनुमति पाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको अनुरोधमा काठमाडौं–रियाद÷जेद्दा उडानका लागि अनुमति पाएका हुन्।

उनीहरुले भारतबाट नेपाल आएका वा नेपालमै भएका भारतीयहरुलाई मात्र बोक्ने प्राधिकरणले जनाएको छ।

नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द भए पनि नेपाल–भारत हप्तामा दुई उडान भने एयर बबल सुविधाअन्तर्गत भइरहेको छ।

नेपाल वायुसेवा निगमले नेपालबाट भारतीयलाई मात्रै साउदी अरेबिया लैजाने जानकारी दिएको छ।

‘भारतीय दूतावासको आग्रहमा साउदी अरेबिया जाने कुरा भएको छ’, निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘नेपालबाट भारतीयलाई मात्रै लैजाने कुरा भएको छ।’

उनले साउदीबाट फर्किँदा के गर्ने भन्ने विषयमा टुंगो नलागेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .