ad ad

कारोबार


कोरोना संकट गहिरिँदा प्रधानमन्त्रीको ध्यान उद्घाटनमै, सर्वत्र आलोचनापछि मन्त्रालयले सच्यायो कार्यक्रम

कोरोना संकट गहिरिँदा प्रधानमन्त्रीको ध्यान उद्घाटनमै, सर्वत्र आलोचनापछि मन्त्रालयले सच्यायो कार्यक्रम

वसन्त अर्याल
बैशाख ३०, २०७८ बिहिबार ९:२,

कोरोना महामारीले देशमा हाहाकार मच्चिएको समयमा प्रधानमन्त्री केपी शर्मा ओली भने सम्मेलन केन्द्रको उद्घाटनको तयारी गर्दै छन्।

देशभर प्राणवायु अक्सिजन ग्यासको अभाव चर्किएको छ। हस्पिटलमा बेड नपाउँदा उपचार अभावमा सर्वसाधारण छटपटाइरहेका बेला प्रधानमन्त्री ओलीले कोभिड संकटतर्फ ध्यान छाडी उद्घाटनमा चासो राखेका हुन्।

कोभिड महामारीका बीच प्रधानमन्त्रीको दबाबमा सहरी विकास मन्त्रालयले ललितपुरको गोदावरी ३ मा बन्ने सम्मेलन केन्द्रको उद्घाटनको तयारी पूरा गरेको छ।

प्रधानमन्त्री ओलीले महामारी सुरु भएसँगै भीड जम्मा गरेर काठमाडौंमा धरहरा उद्घाटन गरेका थिए। त्यसलगत्तै रामनवमीको दिन चितवनमा प्रधानमन्त्रीकै चाहनाबमोजिम धार्मिक र्‍यालीसहित राम र सीताको मूर्ति स्थापना गरिएको थियो।

प्रधानमन्त्री ओली कोभिडप्रति संवेदनशील नभएको आरोप लागिरहँदा त्यसको बेवास्ता गर्दै उनले उद्घाटन र शिलान्यासका कार्यक्रममै बढी ध्यान केन्द्रित गरेका छन्।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि २०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयका आधारमा ५ महिनाभित्र हल निर्माणका लागि सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो।

त्यसलगत्तै सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो।

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा निर्माण सुरु भएको सम्मेलन केन्द्र फागुन महिनामै सक्न भनेका थिए। तर विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले भर्खर निर्माणको काम सम्पन्न गरेको हो।

४३ रोपनीमा ३ हजार जना अट्ने सम्मेलन केन्द्र
सहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले ४३ रोपनी ६ आना जग्गामा गोदावरी सम्मेलन केन्द्र निर्माण भएको बताएका छन्।

यो नेपालकै सबैभन्दा ठूलो सम्मेलन केन्द्रको रुपमा निर्माण भएको सचिव सिंहले दाबी गरे। यसको क्षमता ३ हजार जना मानिस अट्ने रहेको छ।

‘सम्मेलन केन्द्रको आकृति उदाउँदो सूर्यको आकारमा निर्माण भएको छ’, उनले भने, ‘सम्मेलन केन्द्रको नामकरण गोदावरी सनराइज गरिएको छ।’

उनका अनुसार सम्मेलन केन्द्रमा भीभीआईपी, भीआईपी र सर्वसाधारणको लागि भित्र पस्ने र बाहिर निस्किनको लागि छुट्टै द्वार रहेको छ।

सम्मेलन केन्द्र भूकम्प प्रतिरोधात्मक क्षमाताको रहेको छ। सम्मेलन केन्द्रमा पार्किङको व्यवस्था छ। सभाहलको वरिपरि फलफूलका बिरुवा रोप्ने काम भएको छ।

११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैँचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहनेछ ।

सम्मेलन केन्द्रको ठेक्का केसी सामान्तर जेभीले ५८ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको थियो।

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै उद्घाटन गर्नेः सहरी विकास मन्त्रालय
प्रधानमन्त्री ओलीले गोदावरी पुगेरै सम्मेलन केन्द्र उद्घाटन गर्ने निमन्त्रणापत्र बुधबार सामाजिक सञ्जालमा प्रकाशित भएपछि सर्वत्र आलोचना भएको थियो।

त्यसलगत्तै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गोदावरीको सम्मेलन केन्द्र उद्घाटन प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गर्ने जनाएको छ।

गोदावरी नगरपालिका वडा नं ३ ललितपुरमा निर्माण भएको ३ हजार सिट क्षमताको गोदावरी सनराइजको उद्घाटन कार्यक्रमको सम्बन्धमा सामाजिक सञ्जाललगायतका विभिन्न माध्यममा प्रकाशित धारणा र समाचारमा सत्यता नभएको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयलका प्रवक्ता विष्णु प्रसाद शर्मालले प्रधानमन्त्रीले वैशाख ३१ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटाबाट भर्चुअल माध्यमबाट सम्मेलन केन्द्रको उद्घाटन हुने व्यवस्था मिलाएको बताएका छन्।

उनले उद्घाटनस्थल प्रधानमन्त्री निवास बालुवाटर र उद्घाटन हुने गोदावरी सनराइज सम्मेलन केन्द्रमा सीमित व्यक्तिहरुको उपस्थितिमा जनस्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गरी कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन्।

कोभिड १९ को विषय परिस्थितिका बारेमा मन्त्रालय सजग र सचेत रहेको दाबी गर्दै कसैबाट पनि सामाजिक सञ्जाललगायतका माध्यमबाट भ्रम सिर्जना नगर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .