ad ad

कारोबार


चीनकै धनी महिला बन्ने दौडमा छन् यी पाँच अर्बपति

चीनकै धनी महिला बन्ने दौडमा छन् यी पाँच अर्बपति

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १६:१८,

संसार फेरि कोरोना महामारीको दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा विश्वका धनीहरुको सूचीमा पनि निकै फेरबदल आएको छ। यसको एउटा उदाहरण चीन हो जहाँ अमेरिकामा भन्दा धेरै अर्बपतिहरु रहेका छन्।

त्यतिमात्र होइन आफ्नै बलबुतामा अर्बपति भएका महिलाहरुको संख्या पनि चीनमा धेरै छ। हुरुन रिसर्च इन्स्टिच्युटले गरेको एक अध्ययनअनुसार चीनमा ८५ जना महिला अर्बपति रहेका छन्।

तीमध्ये आफ्नै हिसाबले अर्बपति बनेका पाँच महिला भने अहिले चीनकै ठूलो धनी महिला बन्ने दौडमा छन्।

को–को ?

Yang Huiyan

ती पाँचमध्ये यांग हुइयान एक हुन्। उनीसँग ३४ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ। उनी चिनियाँ रियलस्टेट कम्पनी कन्ट्री गार्डेनकी उपप्रमुख हुन्। अहिले उनी नै चीनकी सर्वाधिक धनी महिला अर्बपति हुन्।

यसअघि पनि उनले यो स्थान लिइसकेकी छिन्। सन्. २००७ मा उनी चीनकै धनी महिला अर्बपति बनेकी थिइन्। कम्पनीको ७० प्रतिशत सेयर उनका बुबाले उनको नाममा गरेपछि उनले यो स्थान लिएकी थिइन्।

Zhong Huijuan

त्यस्तै अर्की महिला हुन् झोंग हुइजुआन। उनी हान्सो फर्मास्युटिकल ग्रुपकी प्रमुख हुन्। ६० वर्षीया झोंगसँग १८ अर्ब डलरबराबर सम्पत्ति रहेको अनुमान गरिन्छ। उनी व्यवसायमा आउनुअघि रसायनशास्त्रकी शिक्षिका थिइन्।

३४ वर्षको उमेरमा उनले १० जना कर्मचारीसहित कम्पनी स्थापना गरेकी थिइन्। कम्पनी विस्तारै हुर्किँदै जाँदा सन् २०१९ मा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भयो। सूचीकृत हुँदा कम्पनीको मूल्यांकन १० अर्ब अमेरिकी डलर थियो।

Fan Hongwei

यी दुईबाहेक चिनियाँ धनी महिला बन्ने दौडमा रहेकी छिन् फान होंगवेई। ५४ वर्षीया फान हेंग्ली पेट्रोकेमिकलकी महाप्रबन्धक र प्रमुख हुन्। उनीसँग १५ अर्ब ३० करोड डलरबराबर सम्पत्ति रहेको छ। फान र उनको श्रीमानले असफल भइसकेको टेक्सटाइल कारखानालाई पुनर्जीवन दिएका थिए। त्यो कम्पनी उनीहरुले पाँच लाख डलरमा खरिद गरेका थिए। त्यो पनि ऋणमा।

पछि यो कम्पनी चीनमा ठूलो फाइबर उत्पादक बन्न सफल भयो। अहिले हेंग्ली पेट्रोकेमिकलका रुपमा यो कम्पनी चिनिन्छ। गत वर्ष चर्चित म्यागजिन फोब्र्सले चीनका उच्च ५० प्रमुख कार्यकारीको सूचमा फानलाई पनि समावेश गरेको थियो।

Wu Yajun

यसबाहेक अर्की महिला अर्बपति हुन् वु याजुन। उनी हङकङमा सूचीकृत लंगफर प्रोपर्टिजकी सहसंस्थापक तथा प्रमुख हुन्। ५७ वर्षीया उनीसँग १८ अर्ब २० करोड डलर सम्पत्ति रहेको छ।

उनले इन्जिनियरिङमा स्नातक मात्रै गरेकी छिन्। उनले चाइना शिरोङ न्युज एजेन्सीमा पत्रकारिता गर्नुका साथै एक कारखानामा प्राविधिकको काम समेत गरेकी थिइन्।

Zhou Qunfei

त्यस्तै, चीनकै धनी महिला बन्ने दौडमा पाँचौँ स्थानमा छिन् झोउ क्विनफेई। उनी लेन्स टेक्नोलोजीकी प्रमुख हुन्। ५१ वर्षीया उनीसँग १२ अर्ब ५० करोड अमेरिकी डलरबराबर सम्पत्ति रहेको छ। एप्पल, सामसङ र हुवावे जस्ता चर्चित कम्पनीहरु उनका ग्राहक हुन्।

झोउले २२ वर्षकै उमेरमा कम्पनी सुरु गरेकी थिइन्। सन् २००१ मा टीसीएल कर्पोरसनसँगको सम्झौतासँगै कम्पनी निकै नाफामा गएको थियो। त्यसयता कम्पनीलाई सफल बनाउन उनले दिलोज्यान दिएकी छिन्। साउथ चाइना मर्निङ पोस्टबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .