ad ad

कारोबार


कोभिडमा सर्वसाधारणलाई सहयोग गर्न निजी क्षेत्रले थाले अभियान

कोभिडमा सर्वसाधारणलाई सहयोग गर्न निजी क्षेत्रले थाले अभियान

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ८:४५,

निजी क्षेत्रका संगठनले कोभिड महामारीको अवस्थामा सर्वसाधारणलाई सहयोग पुग्ने गरी अभियान सुरु गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले कोरोनाबाट आक्रान्त सर्वसाधरणलाई सहयोग पुग्ने गरी स्वास्थ्य सहायता अभियान सुरु गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ भने नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा हेल्लो डाक्टरको शुभारम्भ गरेको छ।

हेल्लो डाक्टरमार्फत सेवा लिनको लागि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्याइएको छ।

महासंघका अनुसार नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ।

तत्पश्चात् डाक्टरहरूले भिडियो कलमार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन्। म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनुपर्नेछ। यो सेवा निःशुल्क हुनेछ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्नेछन्।

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा रहेको महासंघले जनाएको छ।

त्यसैगरी चेम्बरले आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुनेछ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको जनाएको छ।

हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्नेछन्।

एम्बुलेन्स सेवा प्रयोगका लागि चेम्बरको ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ।

विपत्तिमा सहयोगार्थ निजी क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्याउँदै आएका छन्।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन्। हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .