ad ad

कारोबार


निषेधाज्ञासँगै ह्वात्तै घट्यो तरकारीको मूल्य, फलफूलको उस्तै

निषेधाज्ञासँगै ह्वात्तै घट्यो तरकारीको मूल्य, फलफूलको उस्तै

वसन्त अर्याल
बैशाख २४, २०७८ शुक्रबार १०:२८,

निषेधाज्ञा जारी भएसँगै तरकारीको मूल्य ह्वात्तै घटेको छ।

सरकारले काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो लहरको जोखिम बढेको भन्दै निषेधाज्ञा गरेसँगै आकाशिएको तरकारीको मूल्य घट्नथालेको हो।

निषेधाज्ञाको कारण काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्ने तथा होटल रेष्टुरेन्ट बन्द हुँदा तरकारीको मूल्यमा गिरावाट आएको तरकारी व्यवसायीहरुले बताएका छन्।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेबाट उपत्यकामा एक हप्ताको निषेधाज्ञा गर्ने जानकारी गराएपछि त्यसअघि नै धेरैले काठमाडौं उपत्यका छाडेका छन्।

वैशाख १६ गतेदेखि तरकारी खपत गर्ने होटल तथा रेष्टुरेन्ट समेत बन्द भएका छन्।

काठमाडौं उपत्यकामा बस्नेहरुले वैशाख १५ गतेसम्म बढी खरिद गर्दा खुद्रा पसलमा तरकारीको मूल्य घट्न पाएको थिएन। निषेधाज्ञासँगै तरकारीको माग कम हुँदै जाँदा विस्तारै मूल्य घट्न सुरु भएको खुद्रा व्यापारी बताउँछन्।

‘१५ गतेसम्म पनि तरकारीको माग उच्च थियो’, कलंकीका एक तरकारी खुद्रा व्यापारीले भने, ‘१६ गते निषेधाज्ञा भएसँगै विस्तारै तरकारीको मूल्य घट्दै गएको छ।’

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले माग घटेसँगै तरकारीको मूल्य घट्नथालेको जनाएको छ।

समितिको तथ्यांकअनुसार निषेधाज्ञाको अघिल्लो दिन अर्थात् वैशाख १५ गते लोकल घिउसिमीको होलसेल मूल्य १०० रुपैयाँ थियो। वैशाख २४ गतेसम्म आइपुग्दा यसको मूल्य घटेर ३० रुपैयाँमा झरेको छ।

गत वर्ष यही समयमा लकडाउनका कारण किसानको बारीमा तरकारी कुहिएको थियो। यो वर्ष पनि देशका ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा भइसकेकाले किसानको तरकारी बारीमै कुहिने देखिएको छ।

सहरका अधिकांश मानिस गाउँ जाँदा तरकारीको मागमा गिरावट आएको व्यापारी बताउँछन्।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले अहिले पनि आलु, प्याज ,टमाटर लगाएत तरकारी भारतबाटै आइरहेको जनाएको छ।

त्यसबाहेक कालीमाटी तरकारी बजारमा काभ्रे, धादिङ, मकवानपुर, चितवनलगायत जिल्लाबाट तरकारी आइरहेको छ।

बजार विकास समितिका अनुसार सामान्य अवस्थामा दैनिक साढे नौदेखि हजार टनसम्म आउने गरेको तरकारी अहिले ५ सय टनमै सीमित भएको जनाएको छ। समितिले कालीमाटीमा तरकारी आउनै करिब आधा कम भए पनि मूल्य घटिरहेको बताएको छ।

तरकारीको मूल्य घट्यो
समितिको तथ्यांकअनुसार निषेधाज्ञाको अघि वैशाख १५ गते रातो आलुको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको थियो। वैशाख २४ गते यसको मूल्य घटेर ३८ रुपैयाँमा झरेको छ।

त्यसैगरी वैशाख १५ मा टनेलको सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकिलो रहेको थियो। अहिले उक्त गोलभेँडा २५ रुपैयाँ प्रतिकिलोमा झरेको छ भने ठूलो भारतीय गोलभेँडा ६० रुपैयाँ रहेकोमा अहिले ५० रुपैयाँमा झरेको समितिले उल्लेख गरेको छ। लौकाको मूल्य पनि अहिले घटेर १५ रुपैयाँ प्रतिकिलो भएको छ।

लोकल गाँजरको मूल्य ७० रुपैयाँबाट अहिले ६० रुपैयाँमा झरेको छ। प्याज हरियो प्रतिकिलो १२० बाट १०० रुपैयाँमा ओर्लिएको छ। त्यसबाहेक लोकल बन्दा ४० रुपैयाँबाट घटेर ३० रुपैयाँ प्रतिकिलोमा, लोकल सेतो मूला ४० रुपैयाँबाट २० रुपैयाँ, रायो साग ५० रुपैयाँबाट प्रतिकिलो ३० रुपैयाँमा झरेको छ।

१० दिनमा तने बढीको मूल्य किलोमै ५० रुपैयाँ घटेको छ। १५ गते तने बढी ९० रुपैयाँ रहेकोमा स्वाट्टै घटेर ४० रुपैयाँमा झरेको छ। निषेधाज्ञाको अघिल्लो दिन ब्रोकाउलीको मूल्य ९० रुपैयाँ थियो। ब्रोकाउली ६० रुपैयाँमा झर्दा १०० रुपैयाँमा झर्दा परवल अहिले प्रतिकिलो ६० रुपैयाँमा घटेको छ।

भारतीय प्याजको मूल्यमा भने खासै गिरावट आएको छैन। भारतीय सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४२ रुपैयाँ थियो। अहिले ३८ रुपैयाँमा झरेको छ।

बजारमा अण्डाको भाउ बढे पनि बोइलर कुखुराको मूल्य किलोकै १०० रुपैयाँले घटेको छ। खुद्रा पसलमा १५ गतेसम्म ४८० रुपैयाँमा बिक्री भएको बोइलर घटेर प्रतिकिलो ३८० रुपैयाँमा झरेको छ।

फलफूलको घटेन
तरकारीको मूल्य घटेपनि फलफूलको मूल्य खासै घटेको छैन। निषेधाज्ञाको अघिल्लो दिन हरियो अंगुरको थोक अधिकतम मूल्य २२० रुपैयाँ प्रतिकिलो रहेको थियो। यसको अहिले पनि २२० रुपैयाँ नै मूल्य रहेको समितिले उल्लेख गरेको छ।

समितिका अनुसार ३२० रुपैयाँ रहेको अनार घटेर प्रतिकिलो ३ सयमा झरेको छ। १२० रुपैयाँको केरा १०० रुपैयाँमा झरेको छ।

त्यसबाहेक मालदह आँप ८० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँबाट एक रुपैयाँ पनि सस्तिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .