ad ad

कारोबार


अन्तर्राष्ट्रिय उडान बन्द, अब विदेशी पर्यटकलाई कसरी फर्काउने?

अन्तर्राष्ट्रिय उडान बन्द, अब विदेशी पर्यटकलाई कसरी फर्काउने?

वसन्त अर्याल
बैशाख २३, २०७८ बिहिबार ११:६,

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द भएकाे छ।

योसँगै विदेशी पर्यटकलाई कसरी स्वदेश फिर्ता पठाउने भन्ने चुनौती थपिएको छ।

सरकारले कोभिडको दोस्रो लहर बढेसँगै अन्तर्राष्ट्रिय उडान बन्द गर्दा वसन्त ऋतुमा नेपाल घुम्न आएका पर्यटकलाई के गर्ने भन्ने अन्योल देखिएको हो।

सरकारले अन्तर्राष्ट्रिय उडान वैशाख ३१ गतेसम्म स्थगन गरे पनि महामारी बढ्दै गए समय थप हुँदै जाने देखिन्छ।

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विमानस्थलमा उडान अवधि बाँकी छँदै भित्रिने र बाहिरिनेकाे भीड लागेको थियाे।

पर्यटन बोर्डका अनुसार नेपालमा कोभिडको महामारी बढ्दै जाँदा पछिल्लो साता स्वदेश फर्किने धेरै छन्। तर हिमाल आरोहण ट्रेकिङमा गएका धेरै पर्यटक नेपालभित्र नै रहेको बोर्डले जनाएको छ।

पर्यटन बोर्डका निर्देशक मनिराज लामिछानेले अहिले देशभर कति पर्यटक रहेका छन्, तिनको तथ्यांक संकलन गरिरहेको बताए।

एयर बबल सुविधाको आधारमा भारतीयहरुको लागि हप्तामा दुई उडान हुने भए पनि अन्य विदेशीको लागि चार्टर्ड उडान आवश्यक हुनसक्ने उनको भनाइ छ।

अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने विदेशीमा आधाभन्दा बढी भारतीय छन्।

यो पनि–
अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि विदेशिने यात्रुको चाप (फोटो फिचर)

मार्च महिनामा १४ हजार नौ सय ७७ जना विदेशी त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएका थिए। यसमध्ये ९ हजार ५८७ जना स्वदेश फर्किएका छन्। कुल नेपाल आएकामध्ये आधा बढी अर्थात् ७ हजार ६५८ जना भारतीय नागरिक थिए। तिनमा ५ हजार १९२ त्रिभुवन विमानस्थलबाटै फर्किसकेका छन्।

त्यसैगरी अप्रिल महिनामा २२ हजार ४५० विदेशी नेपाल भित्रिएकामा १७ हजार ५७७ बाहिरिएका थिए। यसमा १३ हजार २०२ भारतीय नागरिक भित्रिँदा ११ हजार ३२१ जना बाहिरिसकेका छन्।

पर्यटन बोर्डले भारतीय नागरिकको लागि स्वदेश फिर्ता जान चिन्ताको विषय नभए पनि तेस्रो मुलुकका नागरिकको लागि भने चार्टर्ड उडान आवश्यक पर्नसक्ने बताएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारले आफूहरुलाई अन्तर्राष्ट्रिय कार्गो उडानको लागि अनुमति दिए पनि यात्रुवाहक चार्टर्ड उडानको लागि मन्त्रालयले नै दिने व्यवस्था गरेको जनाएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले वैशाख ३१ सम्ममात्रै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर्ड उडान आवश्यक नभए पनि समय थप हुँदै जाँदा विदेशी फिर्ताको लागि चार्टर्ड उडानको विकल्प नभएको बताए।

‘हामीलाई अन्तर्राष्ट्रिय कार्गो उडानको लागि अनुमतिको अधिकार दिइएको छ’, क्षेत्रीले भने, ‘प्यासेन्जर चार्टर्ड उडानको लागि उड्डयन मन्त्रालयबाटै अनुमति लनुपर्छ।’

‘तथ्यांक संकलन गर्छौँ, त्यसपछि कसरी पठाउने थाहा हुन्छ’
पर्यटन बोर्डले वसन्त ऋतुमा नेपाल घुम्न आएका विदेशी पर्यटकको तथ्यांक संकलनपछि मात्रै कसरी पठाउने भन्ने विषयमा थाहा हुने जनाएको छ।

बोर्डले नेपालमा रहेका पर्यटकलाई उद्धारको लागि ‘कोभिड क्राइसिस म्यानेजमेन्ट सेल’ स्थापना गरेको छ।

बोर्डले गत वर्ष करिब ३३ सय पर्यटक देशका विभिन्न ठाउँमा अड्किएकाको सफल उद्धार गरी स्वदेश फिर्ता पठाएको बताउँदै यो वर्ष पनि यस्तै तयारी गरेको जनाएको छ।

‘पर्यटन बोर्डले कुन पर्यटक कहाँ छ भन्ने विषयमा ट्राभलर लोकेट गर्ने काम गरिरहेका छौँ। कुन–कुन रुटमा कति पर्यटक छन् भन्ने जानकारी त्यसमा आइरहेको छ’, बोर्ड निर्देशक लामिछानेले भने, ‘चार्टर्ड उडान गर्नुपरे सरकारसहित नेपालस्थित राजदूतावासको समन्वयमा पर्यटकलाई फिर्ता पठाउँछौँ।’

बोर्डले बुधबार मात्रै लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकी गरी ११ विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याएको छ।

लामिछानेले गत वर्ष करिब ३३ सयलाई उद्धार गरे पनि अहिले कम पर्यटक हुनसक्ने बताए।

एयर बबलबाट नेपाल आउने पर्यटकलाई १० दिन क्वारेन्टिन बस्न अनिवार्य गरे पनि नेपालभित्र भएका पर्यटकको उद्धारपछि सिधै होटलमा बस्ने गरी क्वारेन्टिनको व्यवस्था नभएको उनको भनाइ छ।

उद्धार गरिएका विदेशीलाई स्वदेश फिर्ता जानको लागि विमानस्थल तथा वायुसेवा कम्पनीहरुले पीसीआर नेगेटिभ अनिवार्य गरेका छन्।

यो पनि–
कोभिड जोखिमकै बीच सगरमाथामा आरोहीको भीड, १६ हिमाल चढ्न ७४२ जनाले पाए अनुमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .