ad ad

कारोबार


क्वारेन्टिनका लागि आठ होटल सूचीकृत, एक दिनको ३ हजार शुल्क

क्वारेन्टिनका लागि आठ होटल सूचीकृत, एक दिनको ३ हजार शुल्क

वसन्त अर्याल
बैशाख २२, २०७८ बुधबार ७:१८,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल क्वारेन्टिनको लागि ८ वटा होटललाई सूचीकृत गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एयर बबल सुविधाअन्तर्गत भारतबाट हवाइ उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिन बस्न होटल सूचीकृत गरेको हो।

मन्त्रालयले काठमाडौं उपत्यकाका गोदावरीमा ९१ कोठा भएको भ्यु भृकुटी होटल, गुहेश्वरीमा ६० कोठा भएको माधव होटल, एयरपोर्टमा ८० कोठा भएको एयरपोर्ट होटल तोकेको छ।

गौशालाका ३ वटा होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ।

यसमा ६३ वटा कोठा भएको अमादब्लाम होटल, ७० वटा कोठा भएको आनन्द आश्रम र ३० वटा कोठा भएको रिडर्स इनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ।

त्यसैगरी जगातीका २४ कोठाको फार्म हाउस रिसोर्ट र १० कोठा भएको ए वान रिसोर्टलाई क्वारेन्टिनको लागि सूचीकृत गरेको छ।

मन्त्रालयले होटलहरुको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समय–समयमा अद्यावधिक गरी सरोकारवालाहरुलाई सूचित गर्ने जनाएको छ।

नेपाल पर्यटन बोर्डले होटल व्यवसायीसँग क्वारेन्टिनका रुपमा प्रयोग गर्न चाहने सूची माग गरेको थियो। बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार बोर्डले मन्त्रालयमा ५० बढी होटलहरुको सूची बुझाएका थिए। जसमा मन्त्रालयले बुधबार ८ वटा होटलको सूची सार्वजनिक गरेको हो।

quarentine hotel selected2021

प्रतिदिन एक व्यक्तिको ३ हजार शुल्क
मन्त्रालयले एक व्यक्तिको बढीमा ३ हजार रुपैयाँसम्म लिनसक्ने जनाएको छ। जसमा होटलहरुले विमानस्थलबाट होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था गर्नुपर्नेछ।

नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुहरुको विवरण लिई प्रत्येक उडानका यात्रुहरुका निम्ति होटल क्वारेन्टिनका लागि सहजीकरण गर्नेछन्।

त्यसैगरी यात्रु र होटलहरुले स्वास्थ्य मापदण्डको पालना गरे÷नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी सोको दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मनत्तालय र गृह मन्त्रालयमा पेश गर्नेछन्।

भारतबाट आएको यात्रुले १० दिनको होटल क्वारेन्टिनको मापदण्ड पालना नगरेको पाइएका होटहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कानुनी कारबाहीको प्रक्रिा अघि बढ्ने मन्त्रालयले जानकारी दिएको छ।

होटल क्वारेन्टिनमा बस्नुपर्ने यात्रु १० दिन क्वारेन्टिनमा नबसेको पाइएमा सम्बन्धित होटलले तुरुन्त स्थानीय प्रशासनलाई सूचित गर्नुपर्नेछ।

व्यवसायी भन्छन्ः क्वारेन्टिनको लागि तयार छौँ, आइसोलेसनमा राख्न अप्ठ्यारो
होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव सजन शाक्यले क्वारेन्टिनको लागि आफूहरु तयार भए पनि आइसोलेसनको लागि अप्ठ्यारो रहेको बताए ।

‘आइसोलेसनमा राख्दा हस्पिटलसरहको व्यवस्था हुनुपर्यो। हस्पिटलसँग टाई अप गरेरमात्रै राख्न सकिन्छ’, उनले भने, ‘होटलले मात्रै आइसोलेसनको रुपमा राख्न सक्दैनौँ, सरकारले सहयोग गर्यो भने विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ।’

उनले यो वर्ष कोभिड बिरामीमा अक्सिजनको अभाव धेरै देखिएको भन्दै होटललाई आइसोलेसन बनाउँदा अक्सिजन नभए के गर्ने भन्ने समस्या हुने बताए।

‘क्रिटिकल अवस्थामा हस्पिटल लानुपर्ने भयो। हस्पिटलमा लैजान बेड भएन भने कसरी व्यवस्थित गर्ने भन्ने धेरै कुरा बाँकी छन्’, उनले भने, ‘अक्सिजनसहित मेडिकल टिम भयो भने मात्रै होटललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न सकिन्छ।’

शाक्यले सोल्टी, ताज होटललगायत ४/५ होटेलले आइसोलेसनमा कोभिड बिरामी राखे पनि यो वर्ष बढी जोखिम देखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .